मन्त्री हेडक्वार्टर छेवैमा रहेको हरिहर भवन घाँसभित्र हराउँदै


प्रकाशित मिति : बैशाख २०, २०८० बुधबार

मन्त्री हेडक्वार्टर छेवैमा छ राणाकालीन दरबार संरचना हरिहर भवन । विसं २०७२ वैशाख १२ गतेकोे भूकम्पले भत्काएपछि अहिलेसम्म हरिहर भवन हरियो घाँसभित्र हराइरहेको छ । चन्द्र शमशेर जबराले विसं १९८२ मा आफ्ना माहिला छोरा शङ््कर शमशेर जबराका लागि हरिहर भवन बनाएको इतिहास छ ।

शङ्कर शमशेर हरिहर भवनमा २००६ सम्म बसेर बेलायत गएपछि २०१० सालमा राजदूतबाट फिर्ता बोलाउँदा नेपाल नफर्किएकाले नेपाल सरकारले उनको हरिहर भवनसहित सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गरेको थियो ।

विसं २०२३ मा सरकारी स्वामित्वमा आएको यस दरबार संरचना हरिहर भवनमा निजामती किताबखाना, राष्ट्रिय पुस्तकालय र राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय रहेको थियो । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको यस भवनमा रातो स्टिकर टाँसिएपछि त्यहाँ रहेका कार्यालय खाली गरिएका थिए ।

भूकम्पका कारण क्षतिग्रस्त हरिहर भवनमा हाल बरपिपल, सिस्नु, सहरालगायत अन्य धेरै बिरुवा र घाँसपातले भरिएको छ । राष्ट्रिय निजामती किताबखाना र राष्ट्रिय मानवअधिकार आयोगको केही कामकाज हाल हरिहरभवनकै परिसरमा टिनको प्रिफ्याब टहरामा हुन्छ । त्यहाँ पुगेका सेवाग्राहीले बिजोग अवस्थामा रहेको हरिहर भवनलाई नियालिरहेका भेटिन्छन् ।

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेल भन्नुहुन्छ, “२०७२ सालको भूकम्पले भवन क्षतिग्रस्त भएपछि हामीले कार्यालयको सामान निकालेर टिनको टहरामा राख्यौँ । त्यसको केही वर्षपछि राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणले हरिहर भवनको परिसरमा रहेको टिनको टहराबाट पनि हामीलाई हट्न पटक–पटक पत्रचार ग¥यो । तर भवन निमार्णका लागि अहिलेसम्म पहल भएको छैन ।”

हाल राष्ट्रिय मानवअधिकार आयोग हरिहर भवन नजिकै वार्षिक रु एक करोड ९३ लाख ५५ हजार सात सय ६० भाडा तिरेर बसेको छ । अयोगका प्रवक्ता पोखरेलले थप्नुहुन्छ, “हामीले यति ठूलो रकम भाडामा खर्च गरेका छौँ । भाडा तिर्ने रकमले नागरिकको अधिकारका लागि काम गर्न पाएको भए देशको समृद्धि र शासनमा टेवा पुग्थ्यो । हामीले भवन निमार्णका लागि भूकम्पपछिका सबै सरकारसमक्ष ज्ञापनपत्र बुझायौँ तर आश्वासनमा मात्र समय बित्यो ।”

राष्ट्रिय निजामती किताबखानाका केही काम पनि टिनको प्रिफ्याब टहरामा हुन्छन् । किताब खाना पनि हरिहर भवन निमार्णको प्रतीक्षामा छ । राष्ट्रिय पुस्ताकलाय भने त्यहाँबाट अन्यत्र सरिसकेको छ । किताबखानाका सूचना अधिकारी प्रकाशजङग कार्की भन्नुहुन्छ, “राष्ट्रिय निजामती किताबखानाको सामान अझै पनि हरिहर भवनभित्र छ । एकवर्ष अगाडिसम्म हामी सामान निकाल्न गएका थियौँ । तर अहिले त भवन निकै जीर्ण अवस्थामा छ, जान सकिँदैन ।” भूकम्प गएको एक दशक बित्न लागि सक्यो । राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय निजामती किताबखाना हरिहर भवन निमार्णको प्रतीक्षामा छन् । फाईल फोटो/ रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com