सुडानमा रहेका नेपाली नागरिकको उद्धार जारी


प्रकाशित मिति : बैशाख २०, २०८० बुधबार

नेपाल सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ ।

यसै सिलसिलामा कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट यही वैशाख १७ मा जेद्दा सहर पु-याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जेद्दा पुगेका १९ जनामध्ये छ जना नेपाली नागरिक हिजो मङ्गलबार रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईस्थित सोही कम्पनीको शाखामा रहने भएका छन् । नेपाल फर्कन प्रतिक्षारत १३ जना नेपाली नागरिकमध्ये आठ जना आज एअर अरबियाको उडानबाट काठमाडौँ आइपुग्ने र बाँकी पाँच जना भोलि बिहीबार जजिरा एअरवेजको उडानबाट नेपाल फिर्ता आउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी नेपाली राजदूतावास, कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये छ जनालाई पनि पोर्ट सुडानबाट जेद्दा हुँदै उद्धार गर्ने प्रयास जारी रहेको छ । बाँकी तीन जना रोजगारदाता कम्पनीको प्रबन्धमा सुरक्षितरुपमा पोर्ट सुडानको होटलमा रहेका र अरु दुई जनालाई रोजगारदाता कम्पनीले इजिप्टको सिमानास्थित सुरक्षित स्थानमा राखेको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com