पोर्चुगलको लिस्बनमा एक महिने शिविरमा २ हजार ३०८ नेपालीले दिए राहदानीका लागि आवेदन


प्रकाशित मिति : बैशाख १८, २०८० सोमबार

पोर्चुगलको लिस्बनमा पासपोर्टको आवेदन संकलनका लागि राहदानी विभाग काठमाडौंबाट टोली आएकोमा २ हजार ३०८ जना आवेदकले राहदानीका लागि आवेदन दिएका छन् । मार्च २९ देखि अप्रिल २५ सम्म संचालित एकिकृत घुम्ति शिविरका लागि विद्युतीय राहदानीको आवेदन लिन टोली आएको थियो ।

कुल २ हजार ३०८ आवेदनमध्ये ७६४ हराएका, १ हजार ४४० नविकरण, १८ क्षतिग्रस्त, १३ नयाँ बालबालिका र ७३ बालबालिकाको राहदानी नविकरणका आवेदन रहेका छन् । २० जनाले सम्बन्धबिच्छेदको अधिकृत वारेसनामा समेत लिएका थिए ।

यसबीचमा अन्य जन्म, विवाहको दर्ता लगायत अन्य सेवा समेत दिइएको थियो । एकिकृत घुम्ति शिविरमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबै संघ संस्थाप्रति अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालय लिस्वनले आभार प्रकट गरेको छ ।

आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दै अभियानमा बिशेष साथ दिने परराष्ट्र मन्त्रालय, राहदानी विभाग र नेपाली राजदूतावास फ्रान्सप्रति अवैतनिक नेपाली महाबाणिज्यदूत मकर हमालले एक वक्तव्यमार्फत हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

शिविर संचालनका क्रममा कनाईस्थित इन्रोलमेन्ट सेन्टरमा केही नेपालीहरुले मदिरा सेवन गरेर हुलदंगा र हो–हल्ला गरी नियमित कामलाई नै प्रभावित गर्ने काम गरेका थिए । राहदानी इन्रोलमेन्ट सेन्टरमा मदिरा सेवन गरेर हुलदंगा र हो–हल्ला गर्ने दुई जना व्यक्तिको राहदानीको फारम रद्ध गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com