५० बर्ष अगाडि नेपालबाट चोरिएका हजार बर्ष पूराना नृत्यदेवी र बुद्धमूर्ति अमेरिकाबाट फिर्ता


प्रकाशित मिति : बैशाख १७, २०८० आईतबार

अमेरिकामा रहेको नेपाली राजदूतावासले चोरी भएका दुई वटा मूर्ति नेपाल सरकारको पुरातत्व विभागलाई सफलतापूर्वक फिर्ता गरेको छ। दूतावासले १० औं शताब्दीको काठको नृत्यदेवीको मूर्ति र आठौं शताब्दीको भगवान बुद्धको खडा ढुङ्गाको मूर्ति नेपाल फिर्ता पठाएको छ ।

नृत्यदेवीको मूर्ति एक निजी कलेक्टरले दूतावासलाई फिर्ता गरेका थिएभने भगवान बुद्धको मुर्ति हलिउडका निर्माता माइकल फिलिप्सले फिर्ता गरेका थिए । उनले सान डिएगोस्थित नेपालका अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकाललाई लस एन्जलसमा हस्तान्तरण गरेका थिए । ढकालले नेपालका लागि दुवै मूर्तिको ढुवानीलाई प्रायोजन गरेका थिए।

यी मूर्तिहरू सन् १९७० को दशकमा नेपालबाट चोरी भएका थिए र विभिन्न हातबाट गुज्रिएर निजी सङ्कलनकर्तामा पुगेका थिए। नृत्यदेवीको मुर्ति सुरुमा ललितपुरको इतुम बहालमा रहेको थियो भने भगवान बुद्धको मुर्ति मच्छिन्द्र बहाल ललितपुरको थियो।

नेपाल सरकारलाई भगवान बुद्धको उभिएको ढुङ्गाको मुर्ति फिर्ता गरेकोमा माइकल फिलिप्स र अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नखार ढकाललाई ढुवानीमा सहयोग गरेकोमा नेपाली दूतावासले आभार व्यक्त गरेको छ । दूतावासले नेपाल सरकार, संयुक्त राज्य अमेरिकाका सम्बन्धित निकायहरू, कला अनुसन्धानकर्ताहरू, सम्पदा पुन प्राप्ति अभियन्ताहरू, सञ्चारमाध्यमहरू र निजी व्यक्तिहरूसँग नेपालको हराएको र लुटिएका सम्पदाहरू पुनःप्राप्त गर्न र फिर्ता ल्याउन सक्रिय रूपमा संलग्न रहेको छ।

दुई वटा मूर्तिको यो सफल फिर्ता दूतावासले नेपालको हराएको र लुटिएको सांस्कृतिक सम्पदा पुन प्राप्ति गर्ने प्रयासको एक हिस्सा हो। पछिल्लो एक वर्षमा दूतावासले सातवटा कलाकृति नेपाल पठाउन सफल भएको छ । यो विकासले नेपालको सांस्कृतिक सम्पदालाई जोगाउन र भावी पुस्ताका लागि संरक्षण गर्न ठूलो भूमिका खेल्नेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com