अस्ट्रेलियामा नेपालीका समस्याबारे सिड्नीमा विशेष अन्तरकृया कार्यक्रम गरिने


प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार

अस्ट्रेलियामा नेपालीको संख्या वृद्धि भएसँगै बढिरहेका विभिन्न किसिमका समस्याहरुबारे छलफल गर्न सिड्नीमा विशेष कार्यक्रम गरिने भएको छ । एभरेष्ट टिभीको आयोजनामा गरिने ‘कनेक्टिङ कम्युनिटी थ्रु इन्टरएक्सन’ नामको उक्त कार्यक्रममा नेपाली समुदायका बिशेष गरेर बिद्यार्थी र अस्थायी भिसामा रहेका नेपाली नागरिकहरूको बास्तबिक समस्या चिन्न र बुझ्न प्रयास गरिने तीर्थ खतिवडाले जानकारी दिएका छन् ।

कार्यक्रममा समस्याहरू राख्न र समाधान को लागि सुझाब दिने अवसर प्रदान गरिनुका साथै प्रवासमा रहेका नेपालीहरूबीचमा आपसी सौहाद्रताको विकास गर्न मद्दत गर्ने आयोजकको भनाई छ । कार्यक्रममा सहभागी हुन अप्रिल ३० तारिखभित्र अनिवार्य दर्ता गर्नुपर्ने जनाइएको छ ।

कार्यक्रममा सहभागी हुनका लागि दर्ता गर्न यहाँ क्लीक गर्नुहोला ।

लजिष्टिक व्यवस्थापनका लागि दर्ता अनिवार्य गरिएको तथा अप्रिल ३० पछि दर्ता रोकिने आयोजकको भनाई छ ।  १५० जनाकोक्षमता रहेको हलमा अहिलेसम्म १२० जना व्यक्तिले कार्यक्रममा सहभागी हुनको लागि दर्ता गरिसकेका आयोजकले जानकारी दिएका छन् ।

अन्तरक्रिया कार्यक्रम मे १३ तारिख शनिबार दिउँसो १ बजे सुरु हुनेछ र बेलुका ६ः३० मा सकिने छ । त्यसपछि डिनरसहित अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी कलाकारहरूले आफ्नो प्रस्तुति गर्ने कार्यक्रम छ । कार्यक्रममा उपस्थित हुन नसक्ने व्यक्तिले अडियो या भिडियो [email protected]   मा इमेल पठाएर आफ्नो समस्या राख्न सक्नेछन् । ५ मे शुक्रबार २०२३ को दिउसोसम्ममा आयोजकले प्रश्न प्राप्त गरिसक्नु पर्नेछ । ३० अप्रिल २०२३ सम्म मा ३०० वटा प्रश्नहरू संकलन गर्ने लक्ष्य राखिएको छ भने उक्त प्रश्नहरूमध्ये उचित प्रश्नहरू कार्यक्रमका लागि छानिनेछ ।

कार्यक्रमबाट नेपालीका समस्याहरू समाधानका लागि नेपाली दूतावास, कन्सुलेट जेनेरलको अफिस, गैरआवासीय नेपाली संघ, एजुकेसन एजेन्ट, कलेज, विभिन्न अरू नेपाली संघसंस्थाहरू, नेपाली कम्युनिटी मिडियाले के कस्तो भूमिका निर्वाह गर्न सक्दछन् र अस्ट्रेलियामा रहेको नेपाली समुदायको अपेक्षा के छ भनेर बुझ्न सजिलो हुने आयोजकको अपेक्षा छ । विशेषगरी विद्यार्थीका समस्या बढी हुने गरेको कारण एजुकेसन एजेन्ट, एजुकेसन काउन्सिलर, माइग्रेसन एजेन्ट, कलेज सञ्चालकहरूका लागि भने प्रत्यक्ष रुपमा बिद्यार्थीका समस्या सुन्न पाउने र आफूले गल्ती गरेको भए त्यसले अर्को व्यक्तिको जिन्दगीमा कसरी असर गर्दो रहेछ भनेर नजिकबाट हेर्न पाउने र आफूलाई सुधार्ने अवसर पनि मिल्ने आयोजकले अपेक्षा गरेका छन् ।

कार्यक्रममा सहभागी व्यक्तिहरूले गर्ने प्रश्न, अनलाइन (इमेल) बाट प्राप्त प्रश्न, र सिड्नीमा रहेका ५० भन्दा बढी एजुकेसन कन्सलटेन्ट, माइग्रेसन एजेन्ट, कलेज सञ्चालक, कम्युनिटी लिडर, विद्यार्थी र अरू धेरै व्यक्तिहरूले गरेका प्रश्नहरू र स्पिकर प्यानलबाट आउने उत्तरका आधारमा एनालिस्ट प्यानलले कार्यक्रमको गुणस्तरीयता र सफलताको मूल्यांकन गर्ने जनाइएको छ । कार्यक्रममा सबैभन्दा राम्रो प्रश्न गर्नेलाई ३०० डलर, दोस्रोलाई २०० डलर र तेस्रोलाई १०० डलर पुरस्कारको समेत व्यवस्था गरिएको छ । कार्यक्रममा उपस्थित व्यक्तिले गरेको भोटका आधारमा प्रथम, दोस्रो र तेस्रो छुट्याइने जनाइएको छ ।

कार्यक्रम सकिएको केही दिनपछि एक सर्वेक्षण पनि गरिने आयोजकले जानकारी दिएका छन् । सर्वेक्षण, प्यानल अन्तरक्रिया कार्यक्रम र स्पिकरको उत्तरलाई डकुमेन्ट गरेर एनालिस्ट प्यानलले एक सिफारिस रिपोर्ट तयार गर्ने तथा उक्त रिपोर्ट अस्ट्रेलिया सरकार र नेपाल सरकारका सम्बन्धित निकाय, नेपाल शैक्षिक परामर्श संघ, अष्ट्रेलियन एजुकेशन कन्सल्ट्याण्ड एसोसिएसन लगायत सम्बन्धित संघसंस्था, कलेज तथा विश्वविद्यालयमा पनि पठाइने जनाइएको छ ।

कार्यक्रमबारे विस्तृत जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com