अमेरिकी राष्ट्रपति बाइडेन जी सेभनको शिखर बैठकमा सहभागी हुने
प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2023/04/813727-01-02.jpg?fit=1800%2C1179&ssl=1)
अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी जेठ ५ देखि ७ गतेसम्म जापानको हिरोसिमामा आयोजना हुने जी सेभनका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुनुहुने भएको छ । उक्त घोषणा राष्ट्रपतिको कार्यालयले आज गरेको हो ।
शिखर बैठकको कार्यसूची युक्रेन युद्ध, विश्वव्यापी जलवायु तथा खाद्य सङ्कट तथा समावेशी आर्थिक वृद्धि हुने राष्ट्रपति कार्यालयका सञ्चार अधिकृत करिन जीन पियरले एक विज्ञप्ति निकालेर बताएका छन् ।
जी सेभनमा बेलायत,क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिका छन् । दोस्रो विश्वयुद्धमा अमेरिकाले आणविक बम खसालेको उक्त स्थानमा हुने शिखर बैठकमा जापानले आणविक निःशस्त्रीकरणलाई मुल मुद्दा बनाउने प्रधानमन्त्री फुमियो किसिदाले बताउनुभएको छ ।
जी सेभनको बैठकपछि अमेरिकी राष्ट्रपतिले अष्ट्रेलियको सिड्नीमा हुने अष्ट्रेलिया, भारत, जापान र अमेरिका सदस्य रहेको रणनीतिक सुरक्षा समूह क्वाड नेताहरूको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको ह्वाइट हाउसले जनाएको छ ।
एशिया–प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढ्न नदिन गठित क्वाडको बैठकमा उदीयमान प्रविधि, गुणस्तरीय पूर्वाधार, विश्व स्वास्थ्य, जलवायु परिवर्तन, समुद्री क्षेत्रमा जागरुकता अभिवेृद्धिलगायत विषयमा विचारविमर्श हुनेछ ।