देशनिकाला गरिएकी नेपाली किशोरी विद्यार्थी भिसामा फिर्ता


प्रकाशित मिति : श्रावण २३, २०७४ सोमबार

जर्मनीबाट देशनिकालामा परेकी एक नेपाली किशोरी जर्मनीमा नै फिर्ता भएपछि उनका साथीहरुमा खुशीयाली छाएको छ । जर्मनीमा नै जन्मिएकी १५ बर्षीया किशोरी बिभ्सी रानालाई दुईमहिना अगाडि उनका बाबुआमासहित जर्मन सरकारले देशनिकाला गरेको थियो ।

देशनिकाला गरिएकी बिभ्सीलाई जर्मन सरकारले जर्मनीमा आउन अनुमति दिएपछि उनलाई स्वागत गर्न उनका साथीहरु जर्मनीको विमानस्थलमा पुगेका थिए । विमानस्थल पुगेका झण्डै एकदर्जन साथीहरुले उनलाई खुशी र आँशुका माझ स्वागत गरेका थिए ।

बिभ्सी रानाका सहपाठीहरुले पुन स्वागत लेखेको ब्यानर सहित उनलाई जर्मनीमा स्वागत गरेका थिए । बिभ्सीलाई गत मे महिनामा जर्मनीबाट नेपाल देशनिकाला गरिएको थियो, त्यसपछि उनी पहिलोपटक नेपाल गएकी थिइन् ।

जर्मनी पुगेपछि बिभ्सीलाई आफूलाई ठूलै अपराधी जस्तै अनुभव हुनेगरी देशनिकाला गरिएको र साथीहरुमाझ विदाईसमेत हुन नपाएको स्मरण गरिन् ।

बिभ्सीका बुबाआमा २० बर्ष अगाडि नेपालबाट जर्मनी गएका थिए, जतिबेला बिभ्सी जन्मिएकी थिइनन् । पछि उनीहरुले जर्मनीमा एसाइलम गरेपनि एसाइलम स्वीकृत भएन । सुरुमा उनीहरुले नक्कली नाम प्रयोग गरेका कारण एसाइलम स्वीकृत नभएको जनाइएको छ । तर बिभ्सीका बाबुले जर्मनीमा पूर्णकालिन रुपमा काम गर्दै सरकारलाई कर समेत तिर्दै आएका थिए ।

बिभ्सीलाई जर्मनीबाट देशनिकाला गरिएपछि उनका साथीभाई र शुभचिन्तकले त्यसको बिरुद्ध जर्मनीमा हप्तौं प्रदर्शन गरेका थिए भने शुभचिन्तक, विद्यार्थीहरु र राजनीतिज्ञहरुको समेत सहभागितामा हस्ताक्षर अभियान चलाइएको थियो । उनीहरुले बिभ्सीलाई जर्मनी फर्काउन माग गरेका थिए ।

 

त्यसपछि बिभ्सीलाई जर्मनी सरकारले विद्यार्थी एक्सचेन्ज भिसा प्रदान गरेको छ भने उनका बाबुआमालाई पनि मानवीयताका आधारमा उनलाई साथ दिनका लागि जर्मनी आउन स्वीकृति दिएको छ । अब बिभ्सीले एसाइलम खोजिरहेको व्यक्तिका रुपमा नभई एक्सचेन्ज भिजिटरका रुपमा अध्ययन सुचारु गर्नेछिन् । बिभ्सीले हाइस्कुलको पढाई सकेपछि जर्मनीमा नै थप पढाई जारी राख्न चाहेमा अर्को भिसाका लागि आवेदन दिन सक्नेछिन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com