टेक्सासमा मृत भेटिएका कृष्णप्रसाद लामिछानेबारेको केस अझै खुला, प्रहरीको अनुसन्धान जारी


प्रकाशित मिति : बैशाख ५, २०८० मंगलबार

झण्डै एक महिना अगाडि टेक्सासमा आत्महत्या गरेका कृष्णप्रसाद लामिछानेको निधनको घटनाबारे प्रहरीले अनुसन्धान जारी नै रहेको जनाएको छ । अनुसन्धान पर्यवेक्षकलाई उद्दृत गर्दै अर्भिङ प्रहरी प्रवक्ता रोबर्ट रिभ्सले अनुसन्धान जारी नै रहेको खसोखासलाई जानकारी दिएका छन् ।

यो अझै पनि खुला अनुसन्धान भएकाले मुद्दा टुंगो नलागेसम्म विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीले बताएको छ । घटनाका सन्दर्भमा अनुसन्धानका लागि प्रहरी अनुसन्धानकर्तालाई जिम्मा दिइएको यस अगाडि नै प्रहरीले बताएको थियो । यो मुद्दा अझै बन्द नगरिएको वा अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

लामिछानेको मृत्यु घरेलु हिंशासँग सम्बन्धित भएको र त्यसपछि आत्महत्या गरेको आशंका भइरहँदा प्रहरीले थप अनुसन्धान जारी राखेको हो । मार्चको तेश्रो साता नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष समेत रहेका लामिछाने आफ्नै घरमा मृत अवस्थमा भेटिएका थिए । उनको मृत्युको समाचार लगत्तै स्थानिय नेपाली समुदाय उनको घरमा पुगेका थिए ।

लगत्तै उनको दाहसंस्कार समेत भइसकेको छ । दाहसंस्कार अगाडि प्रहरीले अनुसन्धान प्रारम्भिक चरणमा रहेको र अपराध भएको कुनै संकेत नदेखिएको बताएको थियो । तर दाहसंस्कार लगत्तै भने प्रहरीले अनुसन्धानका लागि अन्वेषक खटाइएको जानकारी दिएको हो ।

लामिछानेको मृत्युपछि केही अडियो, भिडियो र तस्वीरहरु सार्वजनिक भएका थिए । केही तस्वीरहरुमा लामिछानेको अनुहार र शरीरका विभिन्न अंगमा चोट लागेको देखिएको थियो । ती अडियो, भिडियो र तस्वीरहरु प्रहरीले प्राप्त गरिसकेको छ ।

लामिछाने पछिल्लो एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा पराजित भएका थिए । उनी जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि सकृय थिए । टेक्ससमा व्यवसाय गर्दै आएका उनी सक्रिय सामाजिक अभियन्ता थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com