नेपाली बालबालिकाको चित्रकला कार्यशाला र मिथिला चित्रकलासँगै मिथिला महोत्सव न्युयोर्कमा सम्पन्न


प्रकाशित मिति : बैशाख ५, २०८० मंगलबार

नेपाल, भारत र अमेरिकाका ९ मिथिला कलाकारका चित्रकला प्रदर्शन र अमेरिकामा बस्दै आएका ४० (अधिकांश नेपाली मूलका) बालबालिकाको चित्रकला कार्यशालासँगै तीनदिने मिथिला महोत्सव न्युयोर्कमा सम्पन्न भएको छ । मिथिला सेन्टर र अपन फाउन्डेसन युएसएको आयोजनामा  ‘दिगो विकास लक्ष्यको लागी कला: मिथिला सम्पदा’ मुल नारा सहित गरिएको तीनदिने मिथिला महोत्सवको पहिलो र दोश्रो दिन भर्चुअल कार्यक्रम गरिएको थियो भने अन्तिम दिन न्युयोर्कको ज्याक्सनहाइटमा रहेको डाइभर्सिटी प्लाजामा आइतबार विशेष महोत्सव आयोजना गरिएको थियो ।

यो वर्षको महोत्सव संयुक्त राष्ट्र संघको १७ दिगो विकास लक्ष्यमध्येको पाँचौं लैङ्गिक समानताको मर्ममा आयोजना गरिएको थियो ।समापन समारोहमा आयोजित चित्रकला कार्यशालामा बालबालिकाहरुको उत्साहजनक सहभागिता रहेको थियो । बालबालिकाहरु अधिकांश नेपाली मूलका थिए । बालबालिकाहरुलाई चित्रकला कार्यशालामा अमेरिकी, भारत र नेपाली मूलका प्रशिक्षकहरु औरा कोपलैण्ड, निरुप नितिन र मनीषा शाहले पशिक्षण समेत दिएका थिए । चित्रकला कार्यशालामा प्रशिक्षकहरुले ५ देखि ८ बर्ष र ९ देखि १४ बर्षको उमेर समुहका बालबालिकाबाट उत्कृष्ट कलाकृति चयन गरेका थिए । जसमा प्राची बिसुन्के लिम्बु र प्रिन्शा बरालको कलाकृति विजयी भएको थियो । त्यस्तै १४ वर्षीय प्रज्वल खड्काले उत्कृष्ट चित्रकलाका लागि विशेष सम्मान र अवार्ड पाए ।

साथै समापन समारोहमा नेपाली कला संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतीहरु समेत विशेष आकर्षणको केन्द्रमा थिए । वरिष्ठ संगीतकार राजेन्द्रलाल कर्णको नेतृत्वमा प्रज्वल बज्राचार्य र राहुल राई लगायतको लाइभ सांगीतिक प्रस्तुतिले दर्शकहरुलाई मनोरञ्जन दिलाएको थियो । वरिष्ठ गायिका सपना श्रीले लाइभ ब्यान्डसँग मैथिली भाषाको गीत गाइन् भने चर्चित नृत्य कोरियोग्राफर गोविन्द राईको कोरियोग्राफीमा नुयोङ राई, ओजा गुरुङ, श्रेया गौतम, स्वेरा कार्की, देचेन शेर्पा, एन्जेला साह, पेमा शेर्पा, आयरिश गुरुङ, तेन्जिन लक्कीले विभिन्न नेपाली तथा मैथिली नृत्य प्रस्तुत गरे । कार्यक्रममा कलाकार बसन्ती राईले मैथिला गीतमा नृत्य प्रस्तुत गरिन् । ६ वर्षीया एन्जेला साहको नृत्य रोचक थियो भने अस्टिन शाह र बरादा चापागाईंले गाएको नेपाल र अमेरिकाको राष्ट्रिय गानबाट साँस्कृतिक कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रममा अमेरिकाको प्रतिनिधिसभा सांसद ग्रेस मेङले भिडियो सन्देशमार्फत महोत्सवका लागि शुभकामना दिदै मिथिला सेन्टरले गरेको कामको प्रशंसा गरेकी थिइन् । न्युयोर्क राज्यकी सांसद क्याटलिना क्रुजले मिथिला सेन्टरले आफ्नो कार्यालय र विभिन्न सामाजिक सांस्कृतिक पहलको संयुक्त आयोजनामा छिमेकको सडक सफाइ अभियान चलाएकोमा समेत प्रशंसा गरिन् । उनले चित्रकलामा सहभागी बालबालिकाहरुलाई प्रमाणपत्र र स्कुल ब्याग हस्तान्तरण गरिन् ।

त्यस्तै न्युयोर्क राज्यका अर्का सांसद स्टेभन रागाले सांस्कृतिक कार्यक्रममा सहभागी कलाकारहरु, चित्रकला प्रदर्शनीमा सहभागी कलाकारहरु र कार्यक्रमका सहयोगीहरुलाई प्रशंसापत्र प्रदान गर्दै अनुपम मिथिला पर्व मनाउनमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे । उनले सबैबीचको समझदारी, करुणा र एकतालाई बढावा दिन सांस्कृतिक सम्पदाको महत्त्व रहेको उल्लेख गरे ।

न्युजर्सी राज्यका गभर्नरको एसियन अमेरिकन एण्ड प्यासेफिक आइल्याण्डर कमिश्नर डाक्टर विष्णुमाया परियारले बालबालिका, समुदायका सदस्यहरू र निर्वाचित पदाधिकारीहरूको संलग्नतामा मिथिला सम्पदा लोककला मार्फत संयुक्त राष्ट्रहरूको दिगो लक्ष्यहरू प्रवर्द्धन गर्न मिथिला केन्द्रको पहलको प्रशंसा गरिन् । न्युयोर्क सिटीका मेयरका अन्तर्राष्ट्रिय मामिला डेपुटी कमिश्नर दिलीप चौहानले मिथिला सेन्टरे सांस्कृतिक सम्पदाको प्रवद्र्धनमा गरेको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा न्युयोर्क राज्यका गभर्नरको एसियन मामिला निर्देशक जिओजियांग ऐलेनले गभर्नर क्याथी होकुलको शुभकामना सन्देश प्रस्तुत गरेका थिए भने मिथिला सम्पदा र कलाको प्रवर्द्धन गर्ने पहललाई विश्वको सबैभन्दा विविध राज्य न्युयोर्कमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । मिथिला महोत्सव २०२३, बालबालिकाको चित्रकला कार्यशाला, प्रदर्शनी र पुरस्कारका लागि न्युयोर्क स्टेट काउन्सिल अन द आर्ट्सले सहयोग गरेको थियो ।

कार्यक्रममा न्युयोर्क सिटीका मेयरको सामुदायिक मामिला क्वीन्स बरोका निर्देशक केभिन मोरिस र न्युयोर्क प्रहरीको इक्विटी र समावेशी आयुक्त कमाण्डिङ अफिसर डेपुटी इन्स्पेक्टर जमील अल्ताहारीले सांस्कृतिक सम्पदा र कलाको संरक्षण तथा प्रवर्द्धन गर्न निरन्तर प्रयास गरेकोमा मिथिला सेन्टर युएसएलाई धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन मिथिला सेन्टरका संस्थापक अध्यक्ष अमित शाहले गरेका थिए ।

न्युयोर्क सिटीका मेयरबाट अप्रिल १५ लाई मिथिला संस्कृति तथा पर्व दिवस घोषणा

अप्रिल १४ देखि १६ सम्म आयोजित मिथिला महोत्सवको उद्घाटनमा न्युयोर्क सिटीका मेयर एरिक आडम्सले अप्रिल १५ लाई मिथिला संस्कृति तथा पर्व दिवस घोषणा गरे ।

मेयरको घोषणामा विश्वभरका आप्रवासीहरूको पुस्ताले न्यूयोर्कमा अमूल्य योगदान पुर्‍याएको जनाउदै दक्षिण एसियाली अमेरिकीहरूको उल्लेख्य जनसंख्या भएको सहरको नेतृत्व गर्न पाउँदा धेरै गर्व गर्ने मेयर आडम्सले घोषणामा उल्लेख गरेका छन् । मिथिला सेन्टर अमेरिकाले ज्याक्सन हाइट्सको डाइभर्सिटी प्लाजामा आफ्नो वार्षिक उत्सव आयोजना गर्दा नेपाली र भारतीय न्यूयोर्कवासीहरूसँग सामेल हुन पाउँदा खुसी लागेको मेयर आडम्सले बताएका छन् ।

क्वीन्समा नेपाली समुदायका लागि अमित प्रताप शाहले २०२१ मा स्थापना गरेको मिथिला सेन्टर उत्तरी भारत र दक्षिणी नेपालका मिथिला क्षेत्रका मानिसहरूको समृद्ध संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न समर्पित भएको घोषणामा उल्लेख छ । हिमालयको यस क्षेत्रले प्राचीन नेपाली र भारतीय परम्परालाई महाकाव्य रामायण र अन्य हिन्दू साहित्यको ज्ञान र कथाहरूसँग जोडेको तथा विशेष गरी कला र चित्रकलाको शताब्दी पुरानो परम्पराको लागि परिचित रहेको घोषणामा जनाइएको छ ।

यो वर्षको महोत्सवले संयुक्त राष्ट्र संघको १७ दिगो विकास लक्ष्यमध्येको पाँचौं लैङ्गिक समानताको मर्ममा रहेको र यसमा मिथिलाका महिलाहरुका कलाकृतिहरु प्रस्तुत हुने मेयरको घोषणामा उल्लेख छ । यसले विक्रम संवतको हिन्दू नयाँ वर्ष र प्राचीन हिमालयन राजाको सम्झनामा सलहेश जयन्ती पनि मनाउने तथा यस भब्य कार्यक्रमको लागि आफूले मिथिला सेन्टर र यसका सहयोगीहरुको सकारात्मक परिवर्तनको प्रतिवद्धताको प्रशंसा गर्ने मेयर आडम्सले घोषणामा उल्लेख गरेका छन् ।

उद्घाटन कार्यक्रममा अमेरिकी संसदको प्रतिनिधिसभा सदस्य ग्रेस मेङ, न्युयोर्क राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु जोन लिउ, जेनिफर राजकुमार, क्याटलिना क्रुज, न्युयोर्क सिटी काउन्सिल स्पीकर एडरिन आडम्स लगायतले मिथिला महोत्सवको सफलताका लागि शुभकामना दिएका थिए । त्यस्तै जनकपुरधामका मेयर मनोज कुमार साह, लहानका मेयर महेश प्रसाद चौधरी, न्युयोर्क राज्य गभर्नरका डेपुटी निर्देशक सिबु नायर, भारतीय महावाणिज्यदूत रणधीर जैसवाल, नेपाली कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम, न्युयोर्क सिटी डिस्ट्रिक्ट लिडर डाक्टर निता जैन, न्युजर्सीको गभर्नरकी एएपीआई कमिश्नर डाक्टर विष्णुमाया परियार, न्युयोर्क सिटी मेयरका एसियन अफेयर सल्लाहकार नवराज केसी, पूर्व कुटनीतिज्ञ डाक्टर रामबाबु ढकाल, पत्रकार किशोर पन्थी लगायतले महोत्सव सफलताको शुभकामना दिए । कार्यक्रमको संचालन मिथिला सेन्टरका संस्थापक सदस्य तथा सलाहकार नवल यादव र संस्थापक अध्यक्ष अमित शाहले संयुक्त रुपमा गरेका थिए ।

९ कलाकारहरुको कलाकृति प्रदर्शन

अप्रिल १५ शनिबार ९ कलाकारहरुको कलाकृति प्रदर्शन गरियो । ९  कलाकारमध्ये ८ जना महिला रहेका थिए । छनौट गरिएका कलाकारहरुमा भगवती सिंह, पूजा सिंह, शैलो यादव, शैली झा, शिभंगी सिंह, श्याम सुन्दर यादव, सुमिन्त्रा यादव, सुनैना कर्ण र उषा कर्ण रहेका थिए ।

प्रदर्शनीका लागि नेपाल, भारत र अमेरिकामा रहेका कलाकारको कलाकृति छनौट गरिएको थियो ।  अधिकांश महिला सहभागी कलाकारहरु दुर्गमग्रामिण क्षेत्रबाट रहेको र यसबर्ष महिला उद्यमशिलतालाई प्रवद्र्धन र आर्थिक सहयोग गर्नुसमेत आफूहरुको उद्देश्य रहेको मिथिला सेन्टर अमेरिकाका संस्थापक अध्यक्ष र मिथिला महोत्सव अमेरिकाका आयोजक अमित प्रताप शाहले जानकारी दिए ।

प्रथम मिथिला महोत्सव ४ बर्ष अगाडि सन् २०१९ को अप्रिलमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा चित्रकला प्रदर्शनीसँगै सम्पन्न भएको थियो । मिथिला महोत्सवसँगै मिथिला लोक राजा सलहेश जयन्ती समारोह र नव वर्ष तथा जुड़ शीतल चाड पनि मनाइएको छ ।

दक्षिण एशियामा मिथिला संस्कृतिले आफ्नो एक विशेष संस्कृतिको पहिचान बनाएको छ । रामायण र अन्य हिन्दू साहित्यमा वर्णन गरिएझैं प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो । देवी सीता र भगवान रामको जीवन गाथाले यससंस्कृतिमाविशेष महत्व ओगटेको छ । हजारौं वर्षअघि मिथिला राज्यको राजधानी रहेको जनकपुरधाम जन्मभूमि भएकी सीताको विवाह अयोध्याका राजकुमार भगवान रामकासाथ सम्पन्न भएको थियो ।

मिथिला संस्कृति एक जीवन्त संस्कृति पनि हो । किनकी नेपाल र भारत एवम् अन्य देशहरुमा बस्ने मिथिला समुदायका व्यक्तिहरुले आफ्नो सांस्कृतिक मूल्य र मान्यताहरुलाई दैनिक जीवन र व्यवहारमा अगाँलेका छन् । यसप्रकारले यस समुदायले आफ्नो धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई समृद्धशाली बनाउन योगदान गर्दै आएको र मानवता, मित्रता, शान्ति र समृद्धिको मूल्यमान्यताको प्रवर्द्धन गरेको छ। अमेरिकामाको न्युयोर्क र न्युजर्सीमा लगायत बिभिन राज्यहरूमा समेत हजारौको संख्यामा मिथिलासमुदायका व्यक्तिहरु दशकौंदेखि बसोबास बसोबास गर्दै आएका छन् ।

मिथिला कला संसारभर प्रख्यात छ । महिला कलाकारहरुको विशेष योगदानले नै मिथिला चित्रकला विभिन्नरुपमा शताब्दीऔंदेखि अस्तित्वमा छ । घरको भित्तामा बनाइने चित्रकलाकालागि महिला कालाकारहरु प्रख्यात छन् र सो सम्बन्धी ज्ञान उनीहरुबाट नै नयाँपिढीहरुमा हस्तान्तरण हुँदैआएको छ । मिथिला कलाले पौराणिक र धार्मिक विषयहरुका अतिरिक्त सामाजिक टिप्पणी एवम्सिंगा र सजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ । मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रुपमा हाल मान्यता दिईएको छ।

महिला वा पुरुष कलाकारका हातहरूले बनाएका कागजका तैलीय चित्रहरु माटोका भित्तामा बनाइएका चित्रहरु जस्तै छन् । विश्वका विभिन्न आर्ट ग्यालरीहरुमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ र यसबाट ग्रामीण समुदायका विपन्न महिलाहरुकालागि आयआर्जनको श्रोत पनि बढाउने नयाँ किसिमको घरेलु उद्योग फस्टाउने संभावना बढेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com