मे २९ पछि न्युयोर्क ज्याक्सनहाइटको ब्रोडवे-उडसाइडसम्म ७५ स्ट्रीट ‘तेन्जिङ नोर्गे शेर्पा वे’


प्रकाशित मिति : बैशाख ३, २०८० आईतबार

मे २९ मा न्युयोर्कको ज्याक्सनहाइटको ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटको नाम ‘तेन्जिङ नोर्गे शेर्पा वे’ राखिने भएको छ । नेपाली आप्रवासीहरुको बाक्लो बसोबास रहेको यस क्षेत्रको स्ट्रीटको नाम प्रख्यात नेपाली पर्वतारोही तेन्जिङ नोर्गेको नाममा राखिने भएको हो ।

नोर्गे न्यूजील्याण्डका एडमन्ड हिलारीसँगै सगरमाथाको शिखरमा सन् १९५३ मा पहिलोपटक पुगेको ७० औं बर्षगाँठका अवशरमा विशेष समारोहका बीच स्ट्रीटको नामाकरण गरिने भएको छ । नोर्गेको सन् १९८६ मा ७१ वर्षको उमेरमा र हिलारीको सन् २००८ मा ८८ वर्षको उमेरमा निधन भएको थियो ।

७० औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको दिनमा उक्त स्ट्रीटको नाम तेन्जिङ नोर्गे शेर्पा राख्न पाउनु गर्वको विषय रहेको सात पटकसम्म सगरमाथा आरोहण गरेका युएस नेपाल क्लाइम्बर्स एसोसियसनका द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक पासाङ शेर्पाले बताए । नेपालको पर्यटन प्रवद्धनका लागि समेत योगदान दिने उद्देश्यले उक्त दिन स्ट्रीट फेस्टिभल समेत गर्न लागिएको उनले बताए । कार्यक्रमका मुख्य आयोजकमा युएस नेपाल क्लाइम्बर्स एसोसियसन र शेर्पा किदुग अमेरिका रहेका छन् भने अन्य नेपाली संघ संस्थाहरु सह आयोजकका रुपमा रहनेछन् ।

कार्यक्रमबारे जानकारी दिदै सात पटकसम्म सगरमाथा आरोहण गरेका युएस नेपाल क्लाइम्बर्स एसोसियसनका द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक पासाङ शेर्पा ।

कार्यक्रममा ‘सी टु समिट’ शीर्षकमा हिमाल, पहाड र तराईका सांस्कृतिक प्रस्तुतीहरु देखाइने भएको छ । थारु, नेवारी, मगर, तामा, गुरुङ , राई, लिम्बु, शेर्पा लगायतका संस्कृति झल्किने सांस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले जानकारी दिएका छन् । तेन्जिङ नोर्गे शेर्पाको नाम सुन्दा सवै नेपालीले ह्दय गर्वले फुल्ने उल्लेख गर्दै शेर्पा किदुगकी पूर्व अध्यक्ष छिरिङ शेर्पाले भनिन् – ‘तेन्जिङ नोर्गे सबै नेपालीका हुन् । सगरमाथा सबै नेपालीहरुको हो । त्यसैले यो नेपालको पहिचान संसारमाझ फैलाउने अर्को मौका हो ।’

६ बर्षदेखिको प्रयासमा सफलता

ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटलाई तेन्जिङ नोर्गे शेर्पा नामाकरणका लागि लामोसमयदेखि प्रयास हुदै आएको थियो । उर्गेन शेर्पाको नेतृत्वमा शेर्पा किदुग रहेको बेलामा सन् २०१७ को मे महिनामा ७५ स्ट्रीटको नाम नेपाल झल्किनेगरी राख्ने प्रस्ताव २५ औं डिस्ट्रिक्टबाट तत्कालिन सिटी काउन्सिल सदस्य डानियल ड्रम समक्ष लगिएको थियो । त्यतीबेला उक्त स्ट्रीटको नाम नेपाल स्ट्रीट, सगरमाथा स्ट्रीट, गौतमबुद्ध स्ट्रीट, लुम्बिनी स्ट्रीट जस्ता नाममध्ये कुनै एक राख्नका लागि प्रस्ताव गरिएको थियो ।

३० एभिन्युबाट उडसाइडसम्मको पूरै स्ट्रीटलाई नेपालीपन झल्किनेगरी नामाकरण गर्ने प्रस्ताव गरिएको थियो । तर त्यसका लागि २२ औं डिस्ट्रिक्टका तत्कालिन सिटी काउन्सिल सदस्य कोस्टा कॉन्स्टेंटिनाइड्सले समेत पहल गर्नुपर्ने र यो क्षेत्र २ वटा डिस्ट्रिक्टभित्र पर्ने भएपछि प्रकृया लम्बिन पुगेको थियो । जसका कारण सन् २०१९ को मार्चमा कोस्टा कॉन्स्टेंटिनाइड्सको पहलमा ३१ एभिन्यु र ७५ स्ट्रीटको कर्नरलाईमात्र माउन्ट एभरेष्ट वे नामाकरण गरियो । धेरैवटा ब्लकलाई नामाकरण गर्ने प्रकृयाका तुलनामा एउटा कर्नरलाईमात्र माउन्ट एभरेष्ट वे नामाकरण गर्ने प्रकृया केही सहज भएकाले त्यतीबेला ‘माउन्ट एभरेष्ट वे’ घोषणा गरिएको थियो ।

शेर्पा किदुगका तत्कालिन अध्यक्ष उर्गेन शेर्पा, जसले तेन्जिङ नोर्गे शेर्पा वे नामाकरणका लागि विशेष पहल गरेका थिए ।

त्यसपछि शेर्पा किदुगका तर्फबाट २५ डिस्ट्रिक्टका सिटी काउन्सिल सदस्य ड्रम समक्ष लगिएको प्रस्ताव यत्तिकै सेलाएको थियो । पछि पुन सिटी काउन्सिल सदस्य ड्रम समक्ष ज्याक्सनहाइटको रुजभेल्ट एभिन्युदेखि उडसाइड एभिन्युसम्मको ७५ स्ट्रीटलाई तेन्जिंग नोर्गे शेर्पाको छोटकरी टीएन शेर्पाको नामबाट नामाकरण गर्ने गर्ने प्रस्ताव लगिएको शेर्पा किदुगका तत्कालिन अध्यक्ष उर्गेन शेर्पाले जानकारी दिए । उनले भने -‘उक्त प्रस्ताव लैजादा पनि तेन्जिंग नोर्गे शेर्पा अमेरिकी नागरिक हुनुपर्ने वा अमेरिकामा योगदान गरेको हुनुपर्ने प्रमाणित गर्न भनियो । उनी अमेरिकी नागरिक थिएनन् । उनको योगदान अमेरिकामा के छ भन्ने पनि तत्काल पुष्टी गर्न सकिएन । त्यसपछि दोश्रो प्रस्ताव पनि पारित भएन ।’


सगरमाथाको पहिलो आरोहण सफलतापूर्वक पूरा गरेपछि तेन्जिङ नोर्गे (दायाँ) र एडमन्ड हिलारी

त्यसपछि उर्गेन शेर्पा कम्युनिटी बोर्डमा नियुक्त भएको बेला उनले स्ट्रीटको नामाकरणबारे थप प्रकृयाहरु बुझे । उनी भन्छन् -‘स्ट्रीटको नामाकरण गर्नका लागि विभिन्न सातवटा चरणहरु पूरा गर्नुपर्ने रहेछ । त्यो फर्मुलाका साथ हामी तेश्रोपटक सन् २०२१ मा स्ट्रीटको नाम तेन्जिंग नोर्गे शेर्पा वे नामाकरण गर्ने प्रस्ताव लिएर गयौं । नोर्गेको परिवार र छोराछोरीलाई सम्पर्क गर्दा नोर्गेलाई अमेरिकी सरकारले सम्मान गरेको, नोर्गेले अमेरिकामा गरेको योगदानबारे पनि थप जानकारी प्राप्त भयो ।’

२५ औं डिस्ट्रिक्टबाट तत्कालिन सिटी काउन्सिल सदस्य डानियल ड्रम, जसले जसले तेन्जिङ नोर्गे शेर्पा वे नामाकरणका सिटी काउन्सिलमा प्रस्ताव लगेर पारित गराएका थिए ।

सन् २०२१ मा सिटी काउन्सिलमा गएको केही समयपछि उक्त प्रस्ताव पारित भयो । रुजभेल्ट एभिन्युदेखि उडसाइडसम्मको स्ट्रीटलाई नामाकरण गर्ने प्रस्ताव गरिएको भएतापनि ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटको २ ब्लकलाईमात्र तेन्जिंग नोर्गे शेर्पा वे नामाकरण गर्ने प्रस्ताव पारित भयो त्यसपछि ब्रोडवे, ४१ एभिन्यु र उडसाइड एभिन्युमा तेन्जिंग नोर्गे शेर्पा वेका तीनवटा साइन राख्नका लागि अनुरोध गरिएपनि एउटा साइनभन्दा बढी नहुने भन्ने कानुनमा उल्लेख भएका कारण ४१ एभिन्युमामात्र एउटा साइन राखिने भयो । यसरी झण्डै ६ बर्षको प्रयासपछि न्युयोर्कको नेपाली समुदायको विशेष सम्मानमा ७५ स्ट्रीटको नाम तेन्जिंग नोर्गे शेर्पा वे बन्ने भएको छ ।

को हुन् तेन्जिङ नोर्गे शेर्पा ?

सन् १९१४ मे २९ मा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेका हुन्। यद्यपि उनको जन्म मिति अज्ञात रहेको मानिन्छ। सन् १९५३ मे २९ मा सगरमाथाको सफल आरोहण पछि उनले त्यस दिन आफ्नो जन्मदिन मनाउने निर्णय गरेका थिए। उनले १९ वर्षकै उमेरदेखि आरोहण शुरु गरेका थिए। उनको ७१ वर्षको उमेरमा सन् १९८६ मे ९ मा भारतको दार्जिलिङमा मृत्यु भएको थियो।

तेन्जिङ नोर्गेको शालिक

तेन्जिङको प्रारम्भिक जीवनका परस्पर दावी गरिएका विवरणहरू छन्। उनले आफ्नो आत्मकथामा आफू उत्तरपूर्वी नेपालको खुम्बुको तेङ्बोचेमा जन्मेर हुर्केको शेर्पा भएको उल्लेख गरेका छन्। सन् १९८५ मा अखिल भारतीय रेडियोलाई दिएको एक अन्तरवार्तामा उनले आफ्ना आमाबाबु तिब्बतबाट आएको तर आफू नेपालमा जन्मेको बताएका थिए। उनका छोरा जाम्लिङ तेनजिन नोर्गेद्वारा सहलिखित एक पुस्तक सहित धेरै पछिका विवरणहरूमा भने उनको जन्म तिब्बतमा भएको उल्लेख छ । उनी खुम्बुको एक शेर्पा परिवारका लागि काम गर्न बाल्यकालमा नेपाल गएको पनि उल्लेख छ ।

जे होस्, नेपालको हिमाली छायाका चरनहरूमा याक डुलाउँदै उनको बाल्यकाल बितेको थियो। अठार वर्षको उमेरमा तेन्जिङ दार्जिलिङ हिँडेका थिए। दार्जिलिङमा मजदुर भएर उनले बीस वसन्त काटेका थिए। टाइम पत्रिकाले नोर्गेलाई २० औँ शताब्दीका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरू सूचीमा राखेको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com