पत्रकार बनेर आएकाले गरे भारतका पूर्वसांसदको गोली हानी हत्या


प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार

अपहरणको अभियोगमा दोषी ठहरिएका एक जना पूर्वभारतीय राजनीतिज्ञ र उनका भाइको गोली हानेर हत्या भएको छ । पत्रकार बनेर आएका तीन जना किशोरले प्रहरी घेरामै उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद उनका भाइ असरफलाई गोली हानेर मारेका हुन् ।

यहाँस्थित अस्पतालमा स्वास्थ्य परीक्षणका लागि ल्याइएका अहमद दाजुभाइ अस्पताल बाहिर पत्रकारसँग कुराकानी गरिरहेका बेला पत्रकारकैबीचमा रहेका ती तीन जनाले उनीहरूलाई टाउकोमा गोली हानेका थिए । घटना गएराति भएको हो ।

पूर्वसांसद् राजु पालको हत्यामा दोषी ठहरिएका उनीहरू साबरमती जेलमा कैद भुक्तान गरिरहेका थिए । आक्रमणकारी तिनैजनालाई पक्राउ गरिएको छ ।

अतिक अहमदविरुद्ध विगत दुई दशकमा अपहरण, हत्या र जवरजस्ती करणीलगायत दर्जनौँ मुद्दा दर्ता भएका थिए । स्थानीय अदालतले उनलाई अपरहण मुद्दामा गत मार्चमा जन्मकैदको सजाय सुनाएको थियो । अतिकले आफूलाई प्ररहीबाट असुरक्षा रहेको बताउँदै आएका थिए ।

अतिक र असरफलाई गोली हानेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । दुई दिनअघि अतिक अहमदका छोरा असद तथा उनीसँगै रहेका उनका साथी गुलाम मोहम्मद झाँसीमा भएको प्रहरी कारबाहीमा मारिएका थिए । उनीहरूविरुद्ध उत्तर प्रदेश प्रहरीको विशेष कार्यदलले कारबाही गरेको थियो ।

मुख्यमन्त्री योगी आदित्य नाथले उक्त घटनाको उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिँदै तीन सदस्यीय न्यायिक आयोग गठनको घोषणा गर्नुभएको छ ।

उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले उक्त घटनालाई अपराधको पराकाष्ठा भन्दै राज्यमा शान्तिसुव्यवस्था कायम गर्न अक्षम भएकामा राज्य सरकारको आलोचना गर्नुभएको छ ।

काङ्ग्रेस नेत्री प्रियङ्का गान्धी, भारतीय कम्युनिष्ट पार्टीका नेता सीताराम यचुरीलगायत विभिन्न राजनीतिक पार्टीका नेताले हत्याकाण्डको निन्दा गर्नुभएको छ । उहाँहरूले राज्यमा जङ्गली राजलाई बढावा दिएको आरोप लगाउँदै मुख्यमन्त्री आदित्यनाथको आलोचना गर्नुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com