न्युयोर्क सिटीको क्वीन्सका व्यक्तिले जिते ४७६ मिलियनको मेगा मिलियन ज्याकपट


प्रकाशित मिति : बैशाख २, २०८० शनिबार

100 US dollar banknote

न्युयोर्क सिटीको क्वीन्समा बिक्री भएको लोट्टो टिकटले शुक्रबारको मेगा मिलियन्स ज्याकपट जितेको छ । उक्त टिकटले सबै छ नम्बरहरू मिलाएर लटरीको ४७६ मिलियन को ज्याकपट जितेको हो ।

विजयी टिकट ओजोन पार्कको लिबर्टी एभिन्यूमा रहेको लिबर्टी बियर र कन्भिनियन्समा बेचिएको थियो । विजयी नम्बरहरू २३, २७, ४१, ४८, ५१ र मेगाबल २२ रहेको छ ।

मेगा मिलियन हरेक मंगलबार र शुक्रबार न्युयोर्क समय अनुशार राती ११ बजे खोलिन्छ । यो टिकटको मूल्य २ डलर रहेको छ । खेल्ने व्यक्तिले १ देखि ७० भित्रका ५ वटा नम्बर र १ देखि २५ भित्रको एउटा नम्बर छनौट गर्नुपर्छ ।

न्युयोर्क लोटरी उत्तर अमेरिकाको सबैभन्दा ठूलो र सबैभन्दा फाइदा गर्ने लोटरी बन्ने क्रम जारी रहेको छ । यो राज्यबाट संचालित सरकारी लोटरी हो । तपाईलाई लाग्न सक्छ यसरी लोटरीबाट कमाएको नाफा रकम कहाँ जान्छ ?

वास्तवमा लोटरीबाट गरेको नाफा रकम शिक्षामा जाने गरेको छ । आर्थिक बर्ष २०२१/२०२२ मा न्युयोर्क राज्यमा शिक्षामा सहायताका लागि न्युयोर्क लोटरीले ३ दशमलव ६ बिलियन डलर प्रदान गरेको थियो । न्युयोर्क लोटरीको आम्दानी स्थानीय विद्यालय डिस्ट्रिक्टहरुमा वितरण गरिन्छ ।

राज्यबाट प्रदान गरिने अन्य सहायताका लागि जुन शुत्र प्रयोग गरिन्छ, लोटरीको आम्दानी रकम पनि त्यही शुत्र प्रयोग गरेर शिक्षामा प्रदान गरिदै आएको छ । कुन स्कुल डिस्ट्रिक्टमा कति रकम जाने भन्ने कुरा डिस्ट्रिक्टको आकार र आयस्तर दुवैलाई ध्यान दिएर निर्धारण गरिन्छ । ठूला, कम आय भएका स्कुल डिस्ट्रिक्टहरुले धेरै सहायता रकम प्राप्त गर्छन्।

लोटरीबाट भएको शतप्रतिशत आम्दानीको रकम शिक्षामा खर्च गरिन्छ । सन् १९६६ मा न्युयोर्कमा ६६ प्रतिशत मतदाताहरुले न्युयोर्कको लोटरीको आम्दानीको रकम सबै शिक्षामा प्रदान गर्नुपर्ने नियम स्वीकृत गरेका थिए ।

आर्थिक बर्ष २०२०/२०२१ मा न्युयोर्कमा ८ दशमलव ५९ बिलियनको लोटरी बिक्री भएको थियो । त्यसमध्ये २ दशमलव ५ बिलियन डलर आम्दानी शिक्षामा खर्च गरिएको थियो भने ४ बिलियन डलरभन्दा धेरै रकम विजेताहरुले पाएका थिए । बाँकी रकम बिक्रेतालाई कमिशन, ठेकेदारलाई शुल्क र अन्य खर्चमा समेत जाने गर्छ ।

अहिलेसम्मको इतिहासमा सबैभन्दा धेरै न्युयोर्कमा १० दशमलव २९ बिलियनको लोटरी आर्थिक बर्ष २०१८/२०१९ मा बिक्रि भएको थियो । जसमध्ये ३ दशमलव ४ बिलियन विद्यालयहरुलाई सहायतामा खर्च गरिएको थियो भने बाँकी रकम विजेता, बिक्रेता, ठेकेदार र अन्य खर्चमा लागेको थियो ।

न्युयोर्कमा मेगा मिलियन, पावरबल, क्यास फर लाइफ र न्युयोर्क लोट्टोगरी ४ वटा ज्याकपट खेलाइन्छ । जसमा सबैभन्दा धेरै मेगा मिलियन बिक्रि हुने गरेको छ । त्यो बाहेक न्युयोर्कमा स्क्रयाच गर्ने र दैनिक खेलिने अन्य लोटरीहरु पनि छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com