अमेरिकामा मिथिला महोत्सव: न्युयोर्क सिटीका मेयरबाट अप्रिल १५ लाई मिथिला संस्कृति तथा पर्व दिवस घोषणा


प्रकाशित मिति : बैशाख १, २०८० शुक्रबार

दिगो विकास लक्ष्यको लागी कला: मिथिला सम्पदा मुल नारा सहित आज तीनदिने मिथिला महोत्सवको उद्घाटन गरिएको छ । अप्रिल १४ देखि १६ सम्म न्युयोर्कमा हुने मिथिला महोत्सवको उद्घाटनमा न्युयोर्क सिटीका मेयर एरिक आडम्सले अप्रिल १५ लाई मिथिला संस्कृति तथा पर्व दिवस घोषणा गरेका छन् ।

मेयरको घोषणामा विश्वभरका आप्रवासीहरूको पुस्ताले न्यूयोर्कमा अमूल्य योगदान पुर्‍याएको जनाउदै दक्षिण एसियाली अमेरिकीहरूको उल्लेख्य जनसंख्या भएको सहरको नेतृत्व गर्न पाउँदा धेरै गर्व गर्ने मेयर आडम्सले घोषणामा उल्लेख गरेका छन् । मिथिला सेन्टर अमेरिकाले ज्याक्सन हाइट्सको डाइभर्सिटी प्लाजामा आफ्नो वार्षिक उत्सव आयोजना गर्दा नेपाली र भारतीय न्यूयोर्कवासीहरूसँग सामेल हुन पाउँदा खुसी लागेको मेयर आडम्सले बताएका छन् ।

क्वीन्समा नेपाली समुदायका लागि अमित प्रताप शाहले २०२१ मा स्थापना गरेको मिथिला सेन्टर उत्तरी भारत र दक्षिणी नेपालका मिथिला क्षेत्रका मानिसहरूको समृद्ध संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न समर्पित भएको घोषणामा उल्लेख छ । हिमालयको यस क्षेत्रले प्राचीन नेपाली र भारतीय परम्परालाई महाकाव्य रामायण र अन्य हिन्दू साहित्यको ज्ञान र कथाहरूसँग जोडेको तथा विशेष गरी कला र चित्रकलाको शताब्दी पुरानो परम्पराको लागि परिचित रहेको घोषणामा जनाइएको छ ।

यो वर्षको महोत्सवले संयुक्त राष्ट्र संघको १७ दिगो विकास लक्ष्यमध्येको पाँचौं लैङ्गिक समानताको मर्ममा रहेको र यसमा मिथिलाका महिलाहरुका कलाकृतिहरु प्रस्तुत हुने मेयरको घोषणामा उल्लेख छ । यसले विक्रम संवतको हिन्दू नयाँ वर्ष र प्राचीन हिमालयन राजाको सम्झनामा सलहेश जयन्ती पनि मनाउने तथा यस भब्य कार्यक्रमको लागि आफूले मिथिला सेन्टर र यसका सहयोगीहरुको सकारात्मक परिवर्तनको प्रतिवद्धताको प्रशंसा गर्ने मेयर आडम्सले घोषणामा उल्लेख गरेका छन् ।

उद्घाटन कार्यक्रममा अमेरिकी संसदको प्रतिनिधिसभा सदस्य ग्रेस मेङ, न्युयोर्क राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसदहरु जोन लिउ, जेनिफर राजकुमार, क्याटलिना क्रुज, न्युयोर्क सिटी काउन्सिल स्पीकर एडरिन आडम्स लगायतले मिथिला महोत्सवको सफलताका लागि शुभकामना दिएका थिए । त्यस्तै जनकपुरधामका मेयर मनोज कुमार साह, लहानका मेयर महेश प्रसाद चौधरी, न्युयोर्क राज्य गभर्नरका डेपुटी निर्देशक सिबु नायर, भारतीय महावाणिज्यदूत रणधीर जैसवाल, नेपाली कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम, न्युयोर्क सिटी डिस्ट्रिक्ट लिडर डाक्टर निता जैन, न्युजर्सीको गभर्नरकी एएपीआई कमिश्नर डाक्टर विष्णुमाया परियार, न्युयोर्क सिटी मेयरका एसियन अफेयर सल्लाहकार नवराज केसी, पूर्व कुटनीतिज्ञ डाक्टर रामबाबु ढकाल, पत्रकार किशोर पन्थी लगायतले महोत्सव सफलताको शुभकामना दिए । कार्यक्रमको संचालन मिथिला सेन्टरका संस्थापक सदस्य तथा सलाहकार नवल यादव र संस्थापक अध्यक्ष अमित शाहले संयुक्त रुपमा गरेका थिए ।

अब महोत्सवका क्रममा अप्रिल १५ शनिबार ९ कलाकारहरुको कलाकृति प्रदर्शन गरिने भएको छ । ९  कलाकारमध्ये ८ जना महिला रहेका छन् । छनौट गरिएका कलाकारहरुमा भगवती सिंह, पूजा सिंह, शैलो यादव, शैली झा, शिभंगी सिंह, श्याम सुन्दर यादव, सुमिन्त्रा यादव, सुनैना कर्ण र उषा कर्ण रहेका छन् ।

प्रदर्शनीका लागि नेपाल, भारत र अमेरिकामा रहेका कलाकारको कलाकृति छनौट गरिएको मिथिला सेन्टर अमेरिकाका संस्थापक अध्यक्ष र मिथिला महोत्सव अमेरिकाका आयोजक अमित प्रताप शाहले जानकारी दिए । अधिकांश महिला सहभागी कलाकारहरु दुर्गमग्रामिण क्षेत्रबाट रहेको र यसबर्ष महिला उद्यमशिलतालाई प्रवद्र्धन र आर्थिक सहयोग गर्नुसमेत आफूहरुको उद्देश्य रहेकोले कार्यक्रममा सहभागी भै सहभागी कलाकारहरुको कलाकृति किनेर सहयोग गरिदिनुहुन शाहले अनुरोध गरेका छन् ।

मिथिला सेन्टर र अपन फाउन्डेसन युएसएबाट आयोजित मिथिला महोत्सव अमेरिका २०२३ मा मिथिला कला र संस्कृतिको प्रवर्द्धन र प्रदर्शन गर्नुका साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यको प्रदर्शन गर्ने निरन्तर प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको आयोजकको भनाई छ ।

प्रथम मिथिला महोत्सव ४ बर्ष अगाडि सन् २०१९ को अप्रिलमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा चित्रकला प्रदर्शनीसँगै सम्पन्न भएको थियो । मिथिला महोत्सव र कला प्रदर्शनीको आयोजना गर्दा अमेरिका तथा अन्य राष्ट्रहरूमाझ सांस्कृतिक पर्वको रूपमा मनाउनेमात्र नभई संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य हासिल गर्ने सन्दर्भमा समेत मिथिला सम्पदाबाट हुनसक्ने योगदानबारे सामुदायिक चेतना बढाउन पनि सहयोग पुग्ने आयोजकको विश्वास छ ।

अप्रिलको १४ र अप्रिल १५ मा भर्चुअल कार्यक्रम भएपनि अप्रिल १६ को दिन भने न्युयोर्कको ज्याक्सन हाइटको डाइभर्सिटी प्लाजामा ४ बजे देखि ७ बजे सम्म सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ । उक्त दिन मिथिला लोक राजा सलहेश जयन्ती समारोह, नव वर्ष तथा जुड़ शीतल चाड र बाल चित्रकला कार्यशाला गोष्ठी, प्रदर्शनी र पुरस्कार बितरण कार्यक्रमहरू पनि गरिनेछ ।

दक्षिण एशियामा मिथिला संस्कृतिले आफ्नो एक विशेष संस्कृतिको पहिचान बनाएको छ । रामायण र अन्य हिन्दू साहित्यमा वर्णन गरिएझैं प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो । देवी सीता र भगवान रामको जीवन गाथाले यससंस्कृतिमाविशेष महत्व ओगटेको छ । हजारौं वर्षअघि मिथिला राज्यको राजधानी रहेको जनकपुरधाम जन्मभूमि भएकी सीताको विवाह अयोध्याका राजकुमार भगवान रामकासाथ सम्पन्न भएको थियो ।

मिथिला संस्कृति एक जीवन्त संस्कृति पनि हो । किनकी नेपाल र भारत एवम् अन्य देशहरुमा बस्ने मिथिला समुदायका व्यक्तिहरुले आफ्नो सांस्कृतिक मूल्य र मान्यताहरुलाई दैनिक जीवन र व्यवहारमा अगाँलेका छन् । यसप्रकारले यस समुदायले आफ्नो धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई समृद्धशाली बनाउन योगदान गर्दै आएको र मानवता, मित्रता, शान्ति र समृद्धिको मूल्यमान्यताको प्रवर्द्धन गरेको छ। अमेरिकामाको न्युयोर्क र न्युजर्सीमा लगायत बिभिन राज्यहरूमा समेत हजारौको संख्यामा मिथिलासमुदायका व्यक्तिहरु दशकौंदेखि बसोबास बसोबास गर्दै आएका छन् ।

मिथिला कला संसारभर प्रख्यात छ । महिला कलाकारहरुको विशेष योगदानले नै मिथिला चित्रकला विभिन्नरुपमा शताब्दीऔंदेखि अस्तित्वमा छ । घरको भित्तामा बनाइने चित्रकलाकालागि महिला कालाकारहरु प्रख्यात छन् र सो सम्बन्धी ज्ञान उनीहरुबाट नै नयाँपिढीहरुमा हस्तान्तरण हुँदैआएको छ । मिथिला कलाले पौराणिक र धार्मिक विषयहरुका अतिरिक्त सामाजिक टिप्पणी एवम्सिंगा र सजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ । मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रुपमा हाल मान्यता दिईएको छ।

महिला वा पुरुष कलाकारका हातहरूले बनाएका कागजका तैलीय चित्रहरु माटोका भित्तामा बनाइएका चित्रहरु जस्तै छन् । विश्वका विभिन्न आर्ट ग्यालरीहरुमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ र यसबाट ग्रामीण समुदायका विपन्न महिलाहरुकालागि आयआर्जनको श्रोत पनि बढाउने नयाँ किसिमको घरेलु उद्योग फस्टाउने संभावना बढेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com