बाइडेनबाट कोभिड १९ राष्ट्रिय संकटकाल अन्त्य गर्ने बिलमा सुटुक्क हस्ताक्षर
प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार
President Joe Biden talks on the phone with veterans, Monday, August 29, 2022, in the Oval Office. (Official White House Photo by Adam Schultz)
अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार कोभिड १९ राष्ट्रिय संकटकाल अन्त्य गर्ने बिलमा हस्ताक्षर गरेका छन् । ह्वाइट हाउसले यस उपायको कडा विरोध गरेको बताएपछि १९७ जना डेमोक्र्याटहरूले यो बिलको विरुद्धमा मतदान गरेका थिए । बिल २२९ मतका साथ पारित भयो । तर पनि दुबै सदनबाट पारित भएपछि बाइडेनले यसमा भिटो प्रयोग गरेनन् ।
कोभिड १९ संकटकाल सुरु भएको झण्डै ३ बर्षपछि यसलाई अन्त्य गर्ने बिलमा हस्ताक्षर गरिएको हो । बाइडेन पूर्ववर्ती डोनाल्ड ट्रम्पले मार्च २०२० मा भाइरससँग लड्न कोषहरू चलाउन कार्यकारी शाखाको शक्तिलाई अस्थायी रूपमा विस्तार गर्न संकटकाल घोषणा गरेका थिए ।
यो बिल सिनेटबाट ६८ मतले पारित भएको थियो भने विपक्षमा २३ मत खसेको थियो । ह्वाइट हाउसले पहिले नै मे ११ मा कोभिड १९ राष्ट्रिय संकटकाल र सार्वजनिक स्वास्थ्य संकटकाल हटाउने योजना बनाएको थियो ।
विज्ञहरूका अनुशार संकटकालको अन्त्यको सीमित प्रभाव हुनेछ । यद्यपी यस वर्षको सुरुमा व्हाइट हाउसले संकटकाल हटाउँदा स्वास्थ्य सेवा प्रणालीमा व्यापक अराजकता र अनिश्चितता सिर्जना गर्ने चेतावनी दिएको थियो ।

यो बिलले संघीय स्वास्थ्य कार्यक्रम मेडिकेयर, मेडिकेड र चिपको लागि दिइएका धेरै छूटहरू समाप्त गरेको छ । यद्यपि स्वास्थ्य हेरचाह नियमहरूमा धेरै परिवर्तनहरू धेरै हदसम्म अप्रासंगिक भएका छन् किनकि कोभिड १९ सम्बन्धी सावधानीहरू हटाइसकिएको छ ।
बाइडेनको हस्ताक्षरले अध्यागमन नीति र उनको विद्यार्थी ऋण माफी योजना जस्ता सम्बन्धित अमेरिकी नीतिहरूमा तत्काल कस्तो प्रभाव पार्छ भन्ने स्पष्ट छैन । बाइडेनले मंगलबार उत्तरी आयरल्याण्डको आफ्नो यात्राको पूर्वसन्ध्यामा बन्द ढोका पछाडि बिलमा हस्ताक्षर गरेका हुन् ।
कोभिड संकटकालले पूर्व राष्ट्रपति ट्रम्प र पछि बाइडेनलाई विद्यार्थी ऋण भुक्तानी रोक्नको लागि शक्ति पनि प्रदान गरेको थियो । बाइडेनको विद्यार्थी ऋण माफी योजनालाई अब सर्वोच्च अदालतमा चुनौती दिइँदैछ । विद्यार्थी ऋण चुक्ताहरू या त सर्वोच्च अदालतको निर्णयको ६० दिनपछि वा जुन ३० पछि ६० दिनमा सुरु हुने तय गरिएको छ।





