८१ बर्षका दुई हजुरआमाहरुले गरे ८० दिनमा विश्वका विभिन्न देशको भ्रमण
प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार
Photo by NastyaSensei on Pexels.com
अमेरिकाको टेक्सास निवासी ८१ बर्षका दुई हजुरआमाहरुले ८० दिनमा विश्वका विभिन्न देशको भ्रमण गरेर साहसिक कार्यका लागि उमेरको सीमा नहुने प्रमाणित गरेका छन् । एक वृत्तचित्र फोटोग्राफर एली ह्याम्बी र एक चिकित्सक तथा लेक्चरर स्यान्डी हेजलिपले बालीको समुद्र तटदेखि इजिप्टको मरुभूमिसम्म साहसिक यात्रा गर्दै ८० दिनमा संसारको भ्रमण गरे।
यी हजुरआमाहरूले जनवरी ११ मा आफ्नो महत्वाकांक्षी साहसिक कार्य सुरु गरेका थिए । तिनीहरूको पहिलो स्टप अन्टार्कटिका थियो, जहाँ धेरै अनुभवी यात्रुहरू समेत पुगेका छैनन् ।
सबैभन्दा दक्षिणी महाद्वीपमा पुग्नको लागि पहिले ड्रेक प्यासेज पार गर्न आवश्यक थियो । जुन दक्षिण अमेरिकाको दक्षिणी छेउ र अन्टार्कटिकाको दक्षिण शेटल्याण्ड टापुहरू बीचको कुख्यात पानी मानिन्छ ।
लगभग दुई दिनसम्म आफूहरु ड्रेक प्यासेजमा घुमिरहेको र चिप्लेटी खेलेको उनीहरुले बताए । जब उनीहरुले अन्टार्कटिकको जमिनमा पाइला टेके, तब उनीहरुले सबै कष्टहरु विर्सेको बताए । अन्टार्कटिकको सौन्दर्य पेन्गुइनहरू, आइसबर्गहरू र ग्लेशियरहरूमा हेर्दा अविश्वसनीय र अचम्मको रहेको उनीहरुले बताए ।
यी हजुरआमाहरुले प्रायः मिल्दो शर्टहरू लगाएर सबै सात महाद्वीपहरूमा १० देशहरूको भ्रमण गरिसकेका छन् । उनीहरुले टिकटक, इन्स्टाग्राम र फेसबुकमा यात्रा गर्ने हजुरआमाहरुलाई ट्र्याक गर्ने फ्लोअरहरु पनि प्राप्त गरेका छन् ।
ह्याजलिपले सन् १९९९ मा आफ्नो श्रीमानको मृत्युपछि ह्याम्बीलाई भेटेकी थिइन्। श्रीमानले मृत्यु हुनुअघि समरमा नातिनातिनाहरूलाई मिसन यात्रामा लैजान थाल्नुपर्ने विचारको बिउ आफ्नो हृदयमा रोपेको उनले बताइन् । यसले उनलाई जाम्बिया मेडिकल मिसनमा पुर्यायो, जुन दक्षिणी अफ्रिकामा ह्याम्बी र उनको पतिद्वारा सञ्चालित परियोजना थियो ।
दुबैजना यात्रामा साझा चासो र विदेशमा आराम र सुविधाहरू भन्दा अद्वितीय अनुभवहरूलाई प्राथमिकता दिने प्रतिबद्धतामा बाँधिएका थिए। सन् २००५ मा ह्याम्बीको श्रीमानको मृत्यु भएपछि दुवै जना विधवा भएर नजिक भए ।
उनीहरूको यात्राको लागि विचार तिनीहरू ८० वर्षमा पुग्नु केही वर्ष अघि उत्पन्न भएको थियो। उनीहरूले आफ्नो स्वर्गीय पति केली र डनप्रति यात्रा समर्पित गरे।
तिनीहरूले अन्य वृद्ध यात्रुहरूलाई पनि उमेरले उनीहरूलाई रोक्न नदिने प्रोत्साहन दिएका छन् । उमेरले उनीहरूको विदेश यात्रालाई असर नगर्ने उनीहरुको भनाई छ । हेजेलिपले ८१ वर्षलाई आफ्नो यात्रामा लाग्नको लागि उत्तम उमेर भनेर वर्णन गरेकी छिन् ।





