काबुलबाट उद्धार गरिएका नेपालीलाई बेलायतले तत्काल डिपोर्ट नगर्ने


प्रकाशित मिति : चैत्र २३, २०७९ बिहीबार

तालिबानले अफगानिस्तान कब्जा गरेपछि उद्धार गर्नुअघि काबुलस्थित बेलायती दूतावासमा काम गर्ने नेपाली सैनिकको एक समूहलाई देश निकाला गर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको बेलायतले बिहीबार जनाएको छ । भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको १३ जनाको समूहले काबुलस्थित बेलायती र क्यानडाका दूतावास रहेको उच्च सुरक्षायुक्त कम्पाउन्डमा गार्डका रूपमा काम गरेका थिए र सन् २०२१ को शासन परिवर्तनपछि बेलायतमा बस्दै आएका थिए ।

गत हप्ता पश्चिम लण्डनको एक होटलमा छापा मारी उनीहरूमध्ये १० जनालाई हिरासतमा लिइएको थियो । अध्यागमन अधिकारीहरूले उनीहरूलाई नेपाल र भारत लैजान आदेश दिने कागजपत्र उपलब्ध गराएका थिए तर सरकारले बिहीबार भने उक्त अभियान रोकिएको बताएको छ । गृह मन्त्रालयले एएफपीलाई जारी गरेको विज्ञप्तिमा भनिएको छ, “थप समीक्षा नभएसम्मका लागि यो समूहलाई हटाउने कार्य रोकिएको छ ।”

सन् १८१५ मा ब्रिटिश शासित भारतमा पहिलो पटक भारतीय सेनाको एक भागको रूपमा सेवा गरेदेखि नै गोर्खाहरूले भीषण लडाई, वफादारी र बहादुरीको लागि ख्याति कमाएका छन्। दुवै विश्वयुद्धका साथै फकल्याण्ड, इराक र अफगानिस्तानको द्वन्द्वमा करिब दुई लाख नेपालीले ब्रिटिश सेनालाई साथ दिएका छन् । हाल बेलायतको सशस्त्र बलमा करिब दुई हजार ७०० जना भर्ना भएका छन् । समूहका केही सदस्यका वकिल जेमी बेलले एएफपीसँग भन्नुभयो, “यो निर्णयले आफू निकै खुसी छु, तर उनीहरूलाई रिहाइ गर्ने कुनै आश्वासन दिइएको छैन ।”

“ती सबै १० जना अझै हिरासतमा छन् । गृह मन्त्रालयले ती व्यक्तिहरूलाई कस्तो व्यवहार गरेको छ भन्ने जवाफ दिनुपर्छ,” उहाँले भन्नुभयो । तालिवानको कब्जापछि बेलायतले अफगानिस्तानबाट दुई पुनः स्थापना योजनाअन्तर्गत २५ हजार व्यक्तिलाई भित्र्याएको छ । एउटा महिला, बालबालिका र धार्मिक अल्पसङ्ख्यक समुदायमा केन्द्रित छ । यो योजनाअन्तर्गत नेपालको शरणको दाबीमाथि छलफल भइरहेको थियो । त्यस्तै अर्को बेलायती सेना र सरकारका लागि काम गर्ने अफगानीहरूमाथि केन्द्रित थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com