इन्दोर मन्दिर दुर्घटनाः ३६ जना भक्तजनको मृत्यु, मन्दिर प्रशासनविरुद्ध मुद्दा दर्ता


प्रकाशित मिति : चैत्र १७, २०७९ शुक्रबार

रामनवमी पर्व मनाउन पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । इनारमा खसेर बेपत्ता भएकाहरूको खोजी जारी छ । भारतको  राज्य सरकारले मन्दिर प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।

सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति बिहीबार भक्तजन भेला भएका थिए । भीडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका थिए । इन्दोरका प्रहरी आयुक्त मकरन्द देवस्करले मन्दिर प्रशासनका अध्यक्ष र सचिवविरुद्ध अनजानमा हत्या गरिएको भन्दै मुद्दा दर्ता गरिएको बताएका छन् ।

घटनाबारे जानकारी पाउने वित्तिकै मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान तथा गृहमन्त्री नरेन्द्र मिश्र घटनास्थल पुग्नुभएको थियो । उहाँहरूले द्रुत गतिमा उद्धार गर्न निर्देशन दिँदै घाइतेहरूको निःशुल्क उपचार गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको थियो ।

राज्य सरकारले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै घटनाको छानबिन गर्न निर्देशन दिएको छ । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com