बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक


प्रकाशित मिति : चैत्र ११, २०७९ शनिबार

भौतिक पूर्वाधारको अभावलगायत समस्या भोग्दै आएको हेटौँटास्थित बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालक रहेका छन् ।

सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत रहेको सो बाल सुधार गृहमा तोकिएको भन्दा दोब्बर बालक आश्रित रहेका छन् । करिब ३५ जनाको क्षमता रहेको सो बाल सुधार गृहमा अहिले ६८ बालक आश्रित छन् । सुधार गृहमा १८ वर्षमुनिका विभिन्न अभियोग लागेका र फैसला भएकालाई त्यहाँ राख्नुपर्ने प्रावधान भए पनि बढी उमेरकालाई समेत राख्नुपर्ने बाध्यता रहेको सुधारगृहका निमित्त प्रमुख प्रदीप गौतमले जानकारी दिनुभयो ।

हाल यहाँ १४ वर्ष उमेर पुगेका बालकदेखि २२ वर्षसम्मकालाई राखिएको छ । “सामान्य लेखपढ गर्नेदेखि ११ कक्षासम्म पढ्नेलाई राखेका छौँ । मधेस र कोशी प्रदेशका बालसुधार गृहमा चाप बढेपछि हेटाँैडा पठाउने गरिएको छ”, उहाँले भन्नुभयो । विकल्प नहुँदा क्षमताभन्दा बढी बालक राख्नु परेको गौतमको भनाइ छ ।

विसं २०७५ मा स्थापना भएको हेटौँडा बाल सुधार गृहमा बालकका लागि बस्ने, खाने, स्वास्थ्य उपचार, लत्ताकपडा, बाल सुधार गृहबाटै परीक्षा दिने तथा खेल्ने व्यवस्था छ । पुस्तकालयको समेत व्यवस्था छ । सुधार गृहमा करणी मुद्दाका ४२, डाँकाचोरी मुद्दाका आठ, सवारी ज्यान र कर्तव्य ज्यान मुद्दाका तीन÷तीन, लागूऔषधका पाँच, चोरी मुद्दाका चार, शरीर बन्धक तथा अपहरण मुद्दाका एक बालक आश्रित रहेको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com