अमेरिकामा प्रतिनिधिसभा सदस्यका लागि ह्यारी भण्डारीको चुनावी यात्राको टुंगो आज
प्रकाशित मिति : जेष्ठ १, २०८१ मंगलबार

अमेरिकाको प्रतिनिधिसभा सदस्यका लागि डेमोक्रेटिक प्राइमरीका उम्मेदवार ह्यारी भण्डारीको चुनावी यात्राको टुंगो आज लाग्नेछ । मेरिल्याण्डको डिस्ट्रिक्ट २ बाट डेमोक्रेटिक प्राइमरीका उम्मेदबार भण्डारीले आफ्नो चुनावी यात्रालाई अगाडि बढाउन आजको प्राइमरी चुनावमा जित्नुपर्नेछ । आज मेरिल्याण्डमा प्राइमरी चुनावको मुख्य दिन हो ।
भण्डारीको चुनावी अभियानमा अमेरिकाभरका नेपाली समुदायको मुख्य सहयोग रहेको छ भने अमेरिकाभरका नेपाली समुदायबाट उल्लेख्य आर्थिक सहयोग पनि प्राप्त भएको छ । भण्डारीले झण्डै २ लाख डलर फण्डरेज गर्न सफल भए भने अर्का प्रतिस्पर्धी उम्मेदबार जोनी ओल्सेव्स्कीले झण्डै १ मिलियन डलर फण्डरेज गरेका छन् । आजको चुनावमा भण्डारी र ओल्सेव्स्कीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
भण्डारीले यस अगाडि अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्ने पहिलो नेपालीका रुपमा इतिहास रचिसकेका छन् । सन् २०१९ देखि मेरिल्याण्डको राज्य संसदमा सांसदका रुपमा प्रतिनिधित्व गर्दै आएका भण्डारीको यो दोश्रो कार्यकाल हो ।
मेरिल्याण्डको सेकेण्ड डिस्ट्रिक्टबाट अमेरिकाको तल्लो सदन प्रतिनिधिसभामा ११ औं कार्यकालका लागि प्रतिनिधित्व गर्दै आएका ७८ बर्षका सांसद डच रुपर्सबर्गरले आगामी कार्यकालका लागि चुनावमा नउठ्ने घोषणा गरेपछि भण्डारीले उनको स्थानमा आफ्नो उम्मेदवारी दिएका थिए । रुपर्सबर्गरले सन् २००३ देखि उक्त क्षेत्रमा चुनाव उठ्दै र जित्दै आएकोमा उनी नउठेपछि यसक्षेत्रलाई नयाँ उम्मेदवारका लागि अवशरको रुपमा हेरिएको हो ।
आजको प्राइमरीमा जितेको खण्डमा डेमोक्रेटिकहरुको बाहुल्य रहेको उक्त क्षेत्रबाट क्यापिटल हिलका लागि भण्डारीको यात्रा लगभग सुनिश्चित हुनेछ । यद्यपी औपचारिक जीतका लागि भने आगामी नोभेम्बरमा हुने चुनावको प्रतिक्षा गर्नुपर्छ । प्राइमरीबाटै बाहिरिएको खण्डमा भण्डारीले नोभेम्बरमा हुने अन्तिम चुनावमा भने लड्न पाउनेछैनन् । तर राज्यको संसदमा उनको कार्यकाल भने कायमै रहनेछ ।