गिरफ्तारी वारेन्ट जारी भएपछि युक्रेनबाट आफ्नो कब्जा लिएको क्रिमिया पुगे पुटिन


प्रकाशित मिति : चैत्र ४, २०७९ शनिबार

अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया पुगेका छन् । क्रिमिया युक्रेनको हिस्सा हो, जसलाई सन् २०१४ मा रुसले कब्जा गरेको थियो।

युद्ध अपराधको आरोपमा पुटिन विरुद्ध पक्राउ पुर्जी जारी गरेको एक दिनपछि रूसी राष्ट्रपतिले शनिबार एउटा कला विद्यालय र बालबालिका केन्द्रको भ्रमण गरे। शुक्रबार अदालतले उनलाई युक्रेनमा रुसी आक्रमणको क्रममा युक्रेनका बालबालिकाको अपहरणमा व्यक्तिगत रूपमा जिम्मेवार रहेको आरोप लगाएको थियो ।

यो युद्ध लगभग १३ महिना पहिले सुरु भएको थियो। रुसले सन् २०१४ मा युक्रेनको क्रिमिया भागलाई कब्जा गरेको थियो । त्यसयता क्राइमिया रुसी कब्जामा छ ।
युद्धको क्रममा, युक्रेनले क्राइमियालाई रुसीको मुख्य भूमिसँग जोड्ने पुललाई विस्फोट गराएको थियो। जसका कारण युक्रेनदेखि रुससम्मको सडक सञ्जाल प्रभावित भएको छ । तर, रुसले यो पुल मर्मत गरी सञ्चालनमा ल्याएको छ । यो पुलसँगै रेलमार्ग पनि सञ्चालनमा छ । रुसी सेनाले क्रिमियाको भूभागबाट युक्रेनमाथि आक्रमण गरिरहेको छ ।

आईसीसीबाट पक्राउ पुर्जी जारी भएपछि पुटिनको क्रिमिया भ्रमणले अमेरिका र युक्रेनलाई प्रत्यक्ष सन्देश दिएको देखिन्छ । क्रिमिया युक्रेनको भाग हो भन्ने सारा विश्वलाई थाहा छ ।  यस्तो अवस्थामा पुटिनको यो ठाउँको भ्रमण आफैमा प्रत्यक्ष चुनौती हो । पुटिनले आफूले भन्नुभन्दा पनि काममा विश्वास गरेको देखाउँन खोज्दैछन् । यसले युक्रेन विरुद्धको आक्रामकताबाट पछि नहट्ने उनीहरूको दृढ संकल्प पनि देखाउँछ।-एजेन्सी

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com