अन्तर्राष्ट्रिय अदालतले पुटिनविरुद्ध जारी गरेको पक्राउ पुर्जी अर्थहीन भन्दै रुसद्वारा निन्दा


प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार

यहाँस्थित अन्तरराष्ट्रिय फौजदारी अदालत(आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उहाँले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।

आइसिसीले बालबालिकाको अधिकारसम्बन्धी रुसी राष्ट्रपतिका आयुक्त मारिया लभोभा बेलोभाविरुद्ध पनि सोही आरोपमा पक्राउ पुर्जी जारी गरेको बताएको छ । आइसिसी सदस्य देशका सरकारको सहयोग बिना संदिग्धहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुष्टिन र मारिया पक्राउ पर्ने सम्भावना अति कम छ ।

मस्कोले आइसिसीका आदेशलाई अर्थहीन भन्दै खारेज गरेको छ । साथै मस्कोले आरोप अस्वीकार गर्दै पक्राउ पुर्जी जारी हुनुलाई अपमानजनक भनेर त्यसको निन्दा गरेको छ । रुसी नेता पुटिन आइसिसीले पक्राउ पुर्जी जारी गरेका तेस्रो बहालवाला राष्ट्रपति हुनुभएको छ ।

रुस आइसिसीको पक्ष राष्ट्र नभएकाले राष्ट्रपति पुटिन पक्राउ पर्ने सम्भावना छैन । अर्थात् द हेगमा रहेको उक्त अदालतको आदेश त्यहाँ कार्यान्वयन हुने कुनै आधार पनि छैन । यद्यपि त्यसले राष्ट्रपति पुटिनको अन्तरराष्ट्रिय यात्रामा असर पर्नसक्छ ।

अन्तरराष्ट्रिय फौजदारी अदालतको सदस्यता लिएर विश्वका एक सय २३ सदस्य राष्ट्रहमध्ये कुनैमा उहाँले पाइला राखेमा उहालाई पक्राउ गर्न सकिनेछ । आइसिसीका अध्यक्ष पिओटर होफमान्स्कीले पक्राउ आदेश कार्यान्वयन अन्तरराष्ट्रिय सहयोगमा निर्भर हुने बताउनुभएको छ ।

युद्धग्रस्त युक्रेनले राष्ट्रपति पुटिनविरुद्ध आइसिसीले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गरेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अदालतको कदमलार्य ऐतिहासिक निर्णय भन्दै स्वागत गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको आगामी साता हुने मस्को भ्रमण तथा रुसलाई चीनले सैन्य सहायता गर्ने समाचार सार्वजनिक भइरहेका बेला जारी भएको आइसिसीको आदेशले अन्तरराष्ट्रिय जगत्मा तरङ्ग पैदा गरेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि आफ्ना रुसी समकक्षी पुटिनविरुद्ध अन्तरराष्ट्रिय फौजदारी अदालतले पक्राउ पुर्जी जारी गरेकामा त्यसको स्वागत गरेका गर्नुभएको छ । राष्ट्रपति पुटिनले युक्रेनमा युद्ध अपराध गरेको ठहर गर्दै पक्राउ पुर्जी जारी गर्नुलाई अमेरिकी राष्ट्रपति ‘न्यायसङ्गत’ भन्नुभएको छ । अमेरिका पनि आइसिसीको पक्ष राष्ट्र होइन । राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट आफ्नो डेलावरस्थित निजी निवासतर्फ प्रस्थान गर्नुअघि उहाँले रुसी राष्ट्रपति पुटिनले ‘स्पष्ट रूपमा युद्ध अपराध गरेको’ पत्रकारहरूलाई बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत महिना जर्मनीको म्युनिखमा आयोजित सुरक्षा सम्मेलनमा उपराष्ट्रपति कमला ह्यारिसले युक्रेनमा रुसले मानवताविरुद्धको अपराध गरेको आरोप लगाउँदै उसलाई दण्ड दिनुपर्ने बताउनुभएको थियो । रुसी सेनाले गैरसैनिक क्षेत्रमा गरेको आक्रमण आलोचना गर्दै उहाँले हत्या, यातना, बलात्कार र निर्वासन जस्ता घृणित कार्य भएकामा रुसको निन्दा गर्नुभएको थियो ।

त्यसअघि पनि बाइडेन प्रशासनले युक्रेनमा मस्कोले युद्ध अपराध गरेका प्रमाण आफूसँग रहेको जनाउँदै मस्कोविरुद्ध अन्तरराष्ट्रिय समुदायले आवाज उठाउनुपर्नेमा जोड दिँदै आएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com