आँखाबाट निलौंजस्तो


प्रकाशित मिति : श्रावण १६, २०७४ सोमबार

– नारायणी देवकोटा

भाद्र १८, २०७३- रारा भेट्दा पहिलोचोटी यस्तो मोह जाग्यो
मिल्ने भए आँखाबाट निलौंजस्तो लाग्यो 

कस्तो होला आँखाबाट नै निल्न मन लाग्ने ठाउँ? स्कुल पढ्दा कवि रमेश पौडेलले रारा तालबारे लेखेको गीत रेडियो नेपालमा वाचन (पछि गाइएको) गरेको सुनेर मलाई यस्तै लाग्थ्यो। एक दुईपटक रेडियो नेपालका साहित्यिक कार्यक्रममा सुनेपछि यो गीत मेरो दिमागमा बस्यो। विद्यालयको पाठ्यक्रममा पनि राराबारे पढेपछि रारा घुम्ने लोभ पलाउन थालेको थियो। काठमाडौं आएपछि पत्रिकाहरूका विचार पेजमा ध्यान जान थाल्यो। १२ वर्षअगाडि मोदनाथ प्रश्रितले रारा घुमेर फर्केपछि कान्तिपुरमा लेखेको लेखमा रारा वरपरको सल्लाको जंगलका कारण आगामी (२०६१ सालदेखिको) २५ वर्षमा ताल सुक्न सक्ने अनुमान गरेका थिए। उक्त लेख पढेपछि रारा सुक्छ भन्ने कुराले मेरो मन चिसो भएको थियो।
एउटा अनुसन्धानका क्रममा गत वैशाखमा कालिकोट जाने अवसर मिलेपछि मेरा गुरु कृष्ण भट्टचनले ‘एकपटक रारा पनि पुगेर आउनु है’ भनेर पटकपटक सल्लाह दिनुभयो। कालिकोटको मान्मबाट मुगुको रारा ताल कति टाढा पर्छ भन्ने केही थाहा नभएकी मेरो मनमा भने रारा जाने लोभले बास गरिसकेको थियो। कालिकोट पुग्दा रारा जाने उपयुक्त मौसम भनेर धेरैले भन्दै थिए। मान्मको ह्वाइट गेस्टहाउसमा हामी दसदिने पाहुना थियौं। जहाँ हरेक दिन रारा जाने र फर्कने आन्तरिक पर्यटकले मेरो मन भड्काइरहेका हुन्थे। त्यही बेला काठमाडौंबाट गएको लेखकहरूको टोलीले रारा गएर आएको सुनाएपछि त त्यो हुटहुटी झन् बढ्न थाल्यो। बजारमा गएर बुझ्दा मान्मबाट रारा गाडी लिएर जाँदा एकतर्फी बाटोको भाडा बीस हजार रुपैयाँ रहेछ। त्यत्रो पैसा त कसरी तिर्नु र? जान आउन चालीस हजार तिरेर रारा जाने कुरा मिलेन। मेरो तनाव बुझेपछि पत्रकार तुलाराम पाण्डेले सुझाए, ‘अरू तीनजना रारा जाने मान्छे पाए तपाईंले ताल्चासम्मको ५ हजार दिए पनि हुन्छ।’ यसमा गाडीवालाले सहमति जनाए। उक्त कुराकानीपछि हरेक दिन बिहान र बेलुका म गाडीवालाको स्टेसनरी पसलमा जान्थें र ‘रारा जाने अरू प्यासेन्जर पाए कि?’ भनेर सोध्थें। तर, उनीबाट सधैं एकै उत्तर पाउँथें,’ अहिलेसम्म त कोही आउनुभएको छैन। आउनुभयो भने तपाईंलाई खबर गर्छु।’ कालिकोटबाट फर्कने दिनको बिहानसम्म पनि मलाई रारा जाने अरू यात्री पाइनेछ भन्ने आस थियो। तर बिहानै गाडी लिएर आएका भाइले हिस्स पारेर भने, ‘रारा जाने त पाइएन सुर्खेत जाने प्यासेन्जर पाइयो।’ बिहान ८ बजे मान्मबाट गाडी सुर्खेततर्फ झर्दै थियो। मेरो मन रारा जाने रहरले पिलीतिर (पिलीभन्दा पर त म गएकै थिइनँ नि त) लाग्दै थियो।
म कालिकोट पुगेर पनि रारा नपुगी आएको कुराले बरु ४० हजार नै तिरेर गएको भए पनि हुने रहेछ जस्तो लागिरह्यो। काठमाडौं आएको भोलिपल्ट नयाँ नम्बरबाट फोन आयो, मैले कर्णाली फेलोसिप पाउने भएछु। सानोमा आमाले भन्नुहुन्थ्यो, ‘भगवान्ले तँ आँट, म पुर्‍याउँछु भन्छन् रे।’ आफूले भगवान्मा विश्वास नगर्ने भए पनि कर्णाली फेलोसिप पाएको कुराले मनले चाहिं आँट्नुपर्नेरहेछ जस्तो लाग्यो।
फेलोसिपअन्तर्गत हामीलाई कर्णालीको एक जिल्ला छान्न लगाइएको थियो। मेरो मन रारा हेर्न जाने रहरमा अड्किएको थियो। तर रारा मुगु जिल्लामा पर्छ भन्नेबाहेक धेरै जानकारी थिएन। फेलोसिप पाउने शोभा दाहाल र म मुगु जाने भयौं। म मुगु जाने भनेपछि फेरि धेरैले ‘एकपटक रारा पनि जानु है †’ भन्ने सल्लाह दिए। म रारा जाने भनेपछि घनश्याम भुसाल दाइले आफूले जहाजबाट देखेको राराको बयान गरे, ‘प्रकृतिको अनुपम छटा भन्छन् नि, राराचाहिं अनुपम छटा हो के बहिनी।’ मुगु घुम्न गएका राजा महेन्द्र रारा ताल देखेपछि यति मुग्ध भएछन् कि उनलाई कविता मात्र लेखेर पुगेनछ। रारा ताल वरपरको क्षेत्रलाई राष्ट्रिय निकुन्ज बनाउने र त्यहाँका बासिन्दालाई चिसापानी सार्नेसम्मको निर्णय गरेर फर्केका रहेछन् उनी।
काठमाडौंबाट गमगढीसम्म अझै सार्वजनिक बस जाँदैन। काठमाडौंबाट चढेको कर्णाली यातायातको बस जुम्लाको सदरमुकाम खलंगा जान्थ्यो। मुगु जाने हामीलाई त्यो बसले चढेको ४५ घन्टापछि बिहान ११ बजे नाग्माघाटमा झार्‍यो। कर्णाली यातायातको बसमा दुईजना भाइ थिए गोठिज्युलासम्म जाने। हामी गोठिज्युलासम्म उनीहरूकै साथमा जाने भयौं। बेलुका गमगढी जाने गाडी नपाइएला कि? गाडी नपाएर होटल पनि नपाइएला कि? भन्ने हाम्रो शंकामा गितार बोकेका भाइ भन्थे, ‘लौ होटल नपाए हाम्रो घर छैन र? हाम्रै घरमा बसौंला केको पीर?’ बाटोमा यस्तो भन्ने मान्छे मन त पर्छ तर, विश्वास नै गर्न भने सकिंदैन।
१२ बजेतिर खाना खाइसक्दा गोठिज्युला जाने बस छुट्न लागेछ। नयाँ ठाउँ जाँदा गाडीको अगाडि बसेपछि ठाउँ पनि देखिन्छ। फोटो खिच्न पनि हुन्छ। म बसको क्याबिनमा स्थानीय महिलाहरूसँग कोचिएर बसें। साथी शोभा पछाडि सिटमा बसिन्। साथी बनाउन सिपालु शोभाले गमगढीका स्थानीय बासिन्दा एकजना भाइलाई बसमा नै साथी बनाइछन्। जसको कारण ढिलो गरेर गमगढी जान लागेको जिप (गोठिज्युलाबाट गमगढी बस प्राय: नजाने हुँदा त्यहाँ पाइने जिपमा जानुपर्ने हुन्छ) मा हामीले सिट पायौं। जिपको अगाडिको भागमा सामान्यतया ड्राइभरबाहेक ४ जना राखिने भए पनि दुईजना बढी राखेर ६ जना पुर्‍याए। भाडा हजार–हजार रुपैयाँ † हामीसँग सिटमा जुम्लाबाट प्राविधिक परीक्षा दिन गमगढी आएका प्राविधिकहरू थिए। उनीहरूले रारामा अहिले अत्यधिक आन्तरिक पर्यटक बताए। भुलभुलेको लेकमा पुगेपछि अलि उमेर पुगेका दाइले भने, ‘पहिलापहिला त रारा जाने मान्छे यताबाट जान्थे। अब सबै गमगढी र ताल्चा बसेर जान्छन्।’ ती दाइको कुरा सुनेपछि ड्राइभरले भने, ‘हिँडिरहेको मान्छेले पो हावा पचाउँछ। अस्ति भर्खर सिरहातिरका एउटा मास्टर यही बाटो गएका, लेक लागेर मरेछन्। म त गाडीबाट झरेर यो बाटो जान्छु भन्नेलाई गोठिज्युलाबाट हिँडेर यहाँसम्म आऊ। अनि मात्र यो बाटो जाऊ भन्छु।’ भुलभुलेको लेक साँच्चिकै मोहक थियो। झरेर पैदल नै जामजस्तो †
त्यहाँस्थित लेकमा रहेको आर्मी चेकपोस्ट काटेपछि रारा राष्ट्रिय निकुन्जको बारेमा एकजनाले भने, ‘रारा आएर मान्छे स्वर्ग आइयो भन्छन्। रारालाई प्रकृतिको वरदान भन्छन्। तर, यहाँका बासिन्दालाई त यो एक श्रापजस्तै हो।’ निकुन्जमा रहेको सेनाको नियन्त्रणले स्थानीय मानिसलाई सहयोग नभएको कारण मुगुको विकास हुन नसकेको उनको दाबी थियो। रारा कर्णाली र विकासबारे स्थानीय सर्वसाधारणका अनेक टिप्पणी सुन्दै काठमाडौंबाट बस चढेको ५२ घन्टामा हामी गमगढी पुग्यौं। ३४ घन्टा लाग्ने बाटो मुक्लिङ–नारायणगढ सडकखण्डको जाम, कालिकोटको दही खोलामा आएको पहिरो र कालिकोटको हुल्माभन्दा माथि कर्णाली राजमार्गमा रातको समयमा बस चलाउन नपाइने नियमको कारण १८ घन्टा बढी लागेको थियो।
राराबारेमा कैयौं मिथ होलान्। एउटाचाहिं हामीले पनि सुन्ने मौका पायौं। काठमाडौंका भर्खर प्लस टु पढ्ने भाइ जो नाग्मा घाटदेखि हामीसँगै आएका थिए, उनैले आफ्नो घरमा खाना खान बोलाएर हामीलाई सुनाएका थिए। उनका अनुसार, अहिले रारा ताल रहेको ठाउँमा पहिला ठूलो बस्ती थियो रे। त्यो बस्तीका मानिसहरू बुहारीलाई दिन–रात काममा लगाउने गर्थे। एक दिन गाउँमा कुनै जोगी आएर बसे। आफू बसेको घरकी बुहारीलाई दिएको दु:ख देखेर ती जोगीले कमन्डलुबाट पानी निकालेर उक्त बस्ती डुबाएका रे † ती भाइ भन्थे, ‘अहिले पनि रारा तालभित्र ती घरका अवशेष छन्।’ उनको कुरा सुन्दै खाना पकाइरहेकी आमाले भनिन, ‘यो केटाकेटी पनि कस्तोकस्तो कुरा सुन्छ है? त्यस्तो त हैन बरु तालको अलि माथि गाउँ थियो। त्यहाँको मान्छेचाहिं राजा महेन्द्रले चिसापानीमा सारेको हो रे, जंगलमा अहिले पनि स्याउको बगैंचाहरू छ रे ती मान्छेहरूले रोपेको। कसैले देख्ने होइन, आर्मीले जंगल पस्न दिने होइन।’
आमा छोराका कुरा सुनेको भोलिपल्ट निकुन्जको जंगलमा ढटेलो (तेल बनाइने जंगली फल) टिपेर भारी बनाएका महिलालाई देखेपछि कुनै पनि कुराका मिथ बन्दै जाने प्रक्रिया यस्तो पनि हुँदो रहेछ भन्ने लाग्यो मलाई। निकुन्जको जंगलको बीचमा एक घन्टा हिँडेपछि हामी जंगल र राराको किनार हुँदै अगाडि जाने ठाउँमा पुग्यौं। रारा साँच्चिकै आँखैबाट निलूँजस्तो थियो। ताल त पोखरामा पनि छन्, जहाँ नजिकै म हुर्कें। तर रारा र फेवा वा बेगनास तालको तुलना हुन सक्दैन। राराको सुन्दरतामा साथ दिने धेरै कुरा थिए। सबैभन्दा बढी साथ दिएको थियो वरपरको जंगल अर्थात् निकुन्जले। पत्रपत्र पहाड आफैंमा सुन्दर थिए। राराको छेउमा पुग्दा वरपर बुट्यानमा सेता गुलाफ, पहेंला फूल र भुइँभरि पनि बैजनी, पहेंला, सेता फूल फुलेका थिए। पोखरा वरपर जेठमा गुएली खाने बेला हुन्छ। राराको छेउमा जेठमा गुएलीको फूल फुल्ने रहेछ। जताततै गुएलीको बोट र फूल देखेपछि केटाकेटी बेलाको याद आयो। ताल छेउछेउ हिँड्दा भुनभुन गर्ने मौरीको भुनभुनाहट एक प्रकारको संगीतजस्तो लाग्थ्यो। त्यसमाथि ठाउँठाउँका बनाइएका काठे पुलहरू। सायद यस्तै ठाउँलाई भन्छन् स्वर्ग। जहाजबाट देख्दैमा ‘प्रकृतिको अनुपम छटा’ भन्ने घनश्याम दाइ राराकै किनारमा पुगे के भन्थेहोलान्? अघिल्लोपटक कालिकोटबाट रारा नपुगी फर्केको सम्झेर आफैंसँग पनि झोंक चल्यो। ५ हजार रुपयाँ खल्तीमा बोकेर सार्वजनिक यातायातमा आएको भए रारा घुमेर कालिकोट फर्कन र खान बस्न पुग्ने रहेछ भन्ने कुरा थाहा पाएपछि झोंक चल्नु स्वाभाविक थियो।
तालमा पानीको सतह केही घटेको रहेछ। पानीको सतह घटेको देखेपछि मोदनाथ प्रश्रितको पुरानो लेखको याद आयो। हाम्रो साथमा खत्याड भेगको कुनै विद्यालयका शिक्षक थिए। उनले यो वर्ष खडेरीले गर्दा सतह घटेको तर गत वर्षसम्म पानीको सतह नघटेको बताए। गत वर्ष कर्णाली राजमार्ग भनिने जुम्ला–सुर्खेत सडकखण्ड पिच भएको कारण यो वर्ष रारा घुम्ने पर्यटक धेरै आएको हामीलाई मान्म, नाग्म, गोठिज्युला र गमगढीका होटलवालाहरूले बताएका थिए। मुगुको खत्याड भेगबाट सदरमुकाम गमगढी जाने–आउने स्थानीय बासिन्दाको बाटो पनि राराको किनारै किनार पर्ने रहेछ। वारपार गर्ने सबैको सामान्य विवरण  निकुन्जको सुरक्षामा रहेको सेनाले राखे पनि उद्देश्यगत विवरण नराख्ने भएकाले कति रारा घुम्न आए भन्ने थाहा हुँदैन। ‘रारा छेउको एक मात्र होटल डाँफेमा कति मान्छे बस्ने गरी आए त?’ भनेर सोध्दा मेनेजर जगत थापा फागुन पहिलो साताबाट जेठ १३ सम्म दुई दिनबाहेक सधैं होटल प्याक भएको बताए। उनलाई होटलमा सेवा गर्दागर्दै कुनै रेकर्ड राख्ने फुर्सद थिएन। दिनको २ बजे हामीसँगै खाना खाँदै उनले भने, ‘ल हेर्नु अहिलेसम्म मलाई खाना खान पनि फुर्सद हुँदैन। कता, को, कति मान्छे आए भनेर रेकर्ड राखूँ?’
दुई बजे राराको पानी बज्न थाल्यो छत्ल्याक छत्ल्याक गर्दै। होटलमा रहेका मानिसहरू राराको किनारतर्फ दौडिए। स्थानीयले बताएअनुसार दिउँसो १२ बजेपछि हावा चल्ने र तालमा छाल आउने रहेछ। रारामा अहिले एउटा बोट चल्छ। तर हावा चलेपछि बोट डुब्ने डरले नचालाउने हुनाले बिहानै जानुपर्ने रहेछ। रारालाई एक फन्को लगाउन सरासर हिँड्नेलाई लगभग चार घन्टा लाग्छ। गमगढीको होटलमा फर्केपछि अघिल्लो दिनदेखिका पाहुनाहरूले ‘रारा कस्तो मान्यौ?’ भनेर सोधे। मैले फेरि परिवार लिएर रारामा नै दुई रात बस्ने गरी आउँछु भनेर भनें। मेरो कुरा सुनेपछि होटलका साहुले ‘यत्रो फोटो खिचेछौ यही देखाए हुँदैन?’ भनेर जिस्काए। मैले पनि जिस्कने मेलोमा भनें, ‘राराको जंगलको ओस र कुहिएका रूखको गन्ध, थरीथरीका फूलले ढाकेका भुइँ र बुट्यान, मौरीको भुनभुनाहट, दिउसो चल्ने चिसो हावा र त्यो हावासँगै बज्ने तालको पानी र संगीत यहीं नआई कसरी महसुस हुन्छ र?’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com