संसद आक्रमणका लागि इतिहासले ट्रम्पलाई जवाफदेही बनाउनेछ : पेन्स


प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार

अमेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सले सन् २०२१ मा अमेरिकी संसद भवन (क्यापिटोल)मा भएको आक्रमणमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकाका लागि इतिहासले उहाँलाइृ जवाफदेही बनाउने बताउनुभएको छ ।

पेन्सले सन् २०२० को चुनावको परिणाम उल्टाउने र सत्तामा टिकिरहने ट्रम्पको प्रयासलाई साथ दिन इन्कार गरेपछि विवादमा तानिएका यी पूर्व उम्मेदवारबीचको दरार लाई यो टिप्पणीले अझ फराकिलो बनाउने सम्भावना छ ।

“राष्ट्रपति ट्रम्प गलत हुनुहुन्थ्यो,” पेन्सले वासिङ्टनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो ।

उहाँले भन्नुभयो, “मलाई चुनाव उल्ट्याउने अधिकार थिएन । अनि तिनका लापरवाह शब्दहरूले मेरो परिवार र त्यस दिन क्यापिटलमा भएका सबैलाई खतरामा पा-यो । मलाई थाहा छ इतिहासले डोनाल्ड ट्रम्पलाई जवाफदेही बनाउनेछ,” पेन्सलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारमा भनिएको छ ।

सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद भवनमा आक्रमण गर्ने हजारौंमध्ये केहीले पेन्सलाई फाँसीको माग गर्दै उहाँलाई सुरक्षित स्थान खोज्न बाध्य पारेका थिए ।

ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय चुनावमा नयाँ कार्यकालका लागि उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ र पेन्सले उहाँलाई रिपब्लिकन उम्मेदवारका लागि चुनौती दिन सक्ने सङ्केत गर्नुभएको छ ।

संगीत मनोरञ्जनको साथ गरिएको उक्त कार्यक्रममा पेन्सले सुरुमा मजाक गर्दै भन्नुभयो, “मैले त सन् २०२४ को राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बन्ने ट्रम्पलाई हृदयदेखि नै समर्थन गर्नेछु ।”

तर आफ्नो भाषणको अन्त्यतिर पेन्सले भन्नुभयो, “एउटा यस्तो विषय छ, जसबारे आफूले ठट्टा गर्नु हुँदैन ।” उहाँले सन्दर्भ जोड्दै भन्नुभयो, “जनवरी ६ मा अमेरिकी संसद (क्यापिटोल) मा के भएको थियो भन्ने जान्न अमेरिकी जनताको अधिकार छ,” वासिङ्टन पोस्ट अखबारले उहाँको भनाइ उद्धृत गर्दै लेखेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“तर यसमा कुनै गल्ती नगर्नुहोस्, त्यस दिन जे भयो त्यो अपमानजनक थियो, र यसलाई अन्य कुनै तरिकाले चित्रण गर्नु शालीनताको खिल्ली उडाउनु हो ।” पेन्सले ट्रम्पलाई लक्षित गरी गरेको तीक्ष्ण टिप्पणी समारोहमा अनपेक्षित थियो ।

अमेरिकी विदेश विभागकी पूर्व अधिकारी मरियम मुजिकाले ट्वीट गर्दै भन्नुभयो, “डिनरमा थिएँ र माइकको भनाइले निश्चित रूपमा कोठामा रहेका सबैको ध्यान केन्द्रित गरेको कुरा म पुष्टि गर्न सक्छु ।”-एएफपी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com