‘अमेरिकामा अँग्रेजी नबोलेर पनि जिवन चल्छ भने त्योभन्दा बढी नेपाल के हुन्छ’: राजबल्लभ कोइराला


प्रकाशित मिति : फाल्गुन २०, २०७९ शनिबार

अमेरिका निवासी नेपाली कलाकार राजबल्लभ कोइरालाले नेपालीहरु अमेरिकामा आउनु पलायन नभई फैलिएको भएको बताएका छन् । नेपालीहरु विदेशमा फैलिनुले त्यहाँका मुलधारमा पुग्न सहज हुने उनले बताए । बिमलेश अधिकारीसँगको युट्युब शो द बोल्ड टक वीथ बिमको छैठौं श्रृंखलामा बोल्दै कलाकार कोइरालाले विदेशमा जाने नेपालीहरुलाई पलायन भएको नभन्न आग्रह गरे ।

पोखराबाट रेडियोमा आरजे हुँदै म्युजिक भिडियो र २ दर्जनभन्दा बढी चलचित्रहरुमा अभिनय गरेका कलाकार राजबल्लभ कोइराला हाल परिवारसहित अमेरिकामा छन् । उनले अपवाद, पल लगायतका कैयन सफल चलचित्रमा अभिनय गरेका छन् ।

चिनिया, भारतीय लगायतका अन्य मुलका व्यक्ति बर्षौंपहिले अमेरिका आएर अमेरिकाको मुलधार राजनीति, व्यवसाय लगायतका क्षेत्रमा फैलिएको उल्लेख गर्दै नेपालीहरु पनि फैलिएर अमेरिका आएको र अमेरिकाको मुलधारको राजनीति, व्यवसाय लगायतका क्षेत्रमा जाने क्रम सुरु भएको बताएका छन् ।

अमेरिकामा हजारौं नेपालीहरु आइसकेको सन्दर्भ उल्लेख गर्दै उनले भौगोलिक रुपमा नेपालबाहिर रहेपनि सामाजिक, सांस्कृतिक र भावनात्मक रुपमा अमेरिकामा हुने नेपालीहरु नेपालभन्दा बाहिर नरहेको उनले बताए । अमेरिकामा रहेका नेपालीहरुमाझ नेपाली परिवेश नै रहेको उल्लेख गर्दै आफूहरु अमेरिकामा रहेको मिनी नेपालमा रहेको कोइरालाले बताए ।

नेपालबाहिरका कैयन देशमा जस्तै अमेरिकामा पनि मिनी नेपालहरु रहेको उनले बताए । उनले भने -‘अमेरिकामा अँग्रेजी नबोलेर पनि जिवन चल्छ । त्योभन्दा बढी नेपाल के हुन्छ ? यहाँ नेपालबाहिरको नेपाल छ ।’

विगत १० बर्षदेखि अमेरिकामा बस्दै आएका कोइरालाले अब नयाँ चलचित्रमा अभिनय गर्न लागेको समेत बताएका छन् । नयाँ चलचित्रमा साइन भइसकेको र उक्त चलचित्र विना भिसा हिडेर अमेरिका आउनेहरुको कथामा रहेको उनले बताए । दुईमहिनाको अवधिमा अचानक ५ वटा फिल्मको अफर आएको र हिडेर आउने आप्रवासीको कथामा बन्ने चलचित्रमा अभिनय गर्न आफू तयार भएको उनले बताए ।

बिमलेश अधिकारीको युट्युब शो द बोल्ड टक वीथ बिमको छैठौं भाग शुक्रबार रिलिज गरिएको छ । कार्यक्रम संचालक बिमलेश अधिकारी पनि नेपालका चर्चित कलाकार हुन् । उनले झण्डै साढे २ सय म्युजिक भिडियो र केही चलचित्रमा अभिनय गरिसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com