अमेरिकामा राखिएको नयाँ रेकर्ड गिनिज बुकमा दर्तासँगै अब दिनेश सुनारका विश्व रेकर्ड १४


प्रकाशित मिति : फाल्गुन १६, २०७९ मंगलबार

अमेरिकामा राखिएको नयाँ रेकर्ड गिनिज बुकमा दर्ता भएसँगै अब पार्कर खेलाडी दिनेश सुनारका हातमा १४ विश्व रेकर्ड परेका छन् । उनको पछिल्लो रेकर्ड पुरुषतर्फ एक मिनेटमा धेरै पार्श्व जम्प बर्पीहरू गरेकोमा कायम भएको हो । उनले २७ पटक यस्तो जम्प गरेका हुन् भने यो रेकर्ड फ्लोरिडामा राखिएको हो । उनले २१ नोभेम्बरमा गरेको रेकर्डप्रयास गिनिज बुकले आज दर्ता गरेको हो ।

यस अगाडि अमेरिकाको फ्लोरिडामा ३० सेकेन्डमा सबैभन्दा धेरै वेबस्टर फ्रन्ट फ्लिप गरेर उनले  विश्व रेकर्ड राखेका थिए । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सवको अवसरमा उनले कैयन रेकर्ड वासिंटन डिसीमा रहेको नेपाली दूतावाससँगको सहयोगमा राखेका थिए ।

यस अगाडि  गिनिज वर्ल्ड रेकर्ड्स डेमा  सुनारको नयाँ रेकर्ड कायम भएको थियो । उनको यो नयाँ रेकर्डलाई गिनिज बुकले विश्वका टप ६ रोचक रेकर्डमा सुचिकृत गरेको थियो । टप ६ रोचक रेकर्डमा अमेरिका, यूके, यूएई, चीन, मेक्सिको र जापानका रेकर्डहरु समावेश गरिएकोमा अमेरिकाबाट दिनेश सुनारको मात्र रोचक रेकर्ड रहेको थियो ।

अमेरिकाको फ्लोरिडास्थित ओर्ल्यान्डोमा नेपालका दिनेश सुनारले आँखामा पट्टी बाँधेर एक मिनेटमा सबैभन्दा धेरै २१ पटक पछाडि फर्कने समारसल्टको कीर्तिमान बनाएका थिए । जिमनास्ट, स्टन्टम्यान र पार्कर प्रशिक्षक रहेका उनले पार्करमा कैयन विश्व रेकर्ड कायम गरिसकेका छन् ।

दिनेशको रेकर्ड तोड्ने यात्रा सहज नभएको तथा कुनै यातायात, पूर्वाधार वा उपयोगिता सुविधाहरू नभएको दुर्गम समुदायमा हुर्केका दिनेशले स्थानीय नदीको बालुवाको किनार प्रयोग गरी अध्यास गरेको गिनिज बुकले जनाएको छ ।

आफू ७ वर्षको हुँदा धनी र कथित उच्च जातका बासिन्दाको घरमा रहेको टेलिभिजन घरबाहिरबाटै हेर्ने गरेको तथा ब्रुस ली, ज्याकी चेन, टोनी जा र नेपाली अभिनेता निखिल उप्रेती जस्ता कलाकारहरूबाट स्टन्ट अभ्यास गर्न प्रेरित भएको अनुभव बताएका छन् ।

यस अगाडि दिनेशले कैयन रोचक रेकर्डहरु कायम गरिसकेका छन् । क्यानडाका अलेक्जेण्डरको रेकर्ड तोड्दै दिनेश सुनारले अमेरिकामा राखेको नयाँ रेकर्ड गिनिज बुकमा दर्ता भएको थियो । एक मिनटमा सबैभन्दा धेरै फुलट्वीस्ट ब्याकवार्ड समरशल्ट बर्पिजमा दिनेशको नयाँ रेकर्ड गिनिज बुकमा दर्ता भएको थियो ।

उनले यसमा १२ पटकको रेकर्ड राखे  । यसअगाडि यो रेकर्ड ९ पटकसम्मको रहेको थियो ।

दिनेशको सबैभन्दा ठूलो सपना उनको जीवनमा नेटफ्लिक्सले फिल्म बनाओस् भन्ने रहेको छ । उनले आफ्नो गिनिज वल्र्ड रेकर्डको उपाधिले भावी पुस्तालाई प्रेरणा दिने आशा राखेका छन् ।

 

जुलाइमा पनि सुनारले राखेको सातौं विश्व रेकर्ड गिनिज बुकले दर्ता गरेको थियो ।उनले जापानिजले राखेको रेकर्ड १० बर्षपछि तोडेका थिए ।   उनले गत मे ४ मा गरेको विश्व रेकर्ड प्रयासलाई गिनिज बुकले औपचारिक रुपमा गत महिना दर्ता गरेको हो । ३० सेकेण्डभित्र स्कीपिंग गर्दै उनले १४ पटक ब्याकवार्ड समरसल्ट हानेर रेकर्ड कायम गरेका थिए । यस अगाडि यो रेकर्ड १० बर्ष अगाडि जापानका डाइसुके मिमोराले कायम गरेका थिए ।

सुनारको छैठौं विश्व रेकर्ड गिनिज बुकले गत जुनमा दर्ता गरेको थियो ।  ३० सेकेण्डमा १३ पटक फुल ट्वीस्ट ब्लाक फ्लीप्स गरेर सुनारले यो रेकर्ड कायम गरेका थिए । उनले जुन १० मा ओहायोको एक्रोनमा रेकर्ड प्रयास गरेकोमा उक्त प्रयास सफल भएको थियो ।

गत बर्ष ओहायोको एक्रोनमा सनसाईन तेक्वान्दो एकेडेमीको प्रायोजनमा सुनारले ‘द मोस्ट स्टाण्डिङ फूल ट्वीस्ट ब्याक समरसल्ट इन थर्टी सेकेण्ड’ शीर्षकमा विश्व रेकर्ड राखेका थिए ।

उनी ३० सेकेन्डको समयमा १२ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्न सफल भएका थिए । यस बिधामा विश्व रेकर्डका लागी ३० सेकेन्ड मा ८ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्नुपर्ने भएपनि उनले १२ पटकसम्म हानेका थिए । उनले आफ्नो पुरानो रेकर्डलाई समेत तोडेर उक्त नयाँ रेकर्ड कायम गरेका थिए ।

दिनेशले  सन् २०१७ को जुन १ मा ३६० डिग्रीको रोटेशनमा एक मिनेटमा १८ पटक पर्खाल टेक्दै ब्य्याक फ्लिप्स गरेर पहिलो विश्व रेकर्ड कायम गरेका थिए । दोश्रो रेकर्ड १४ जनवरी २०१८ मा राखेका थिए । अर्को रेकर्ड सन् २०१९ को मार्च ११ मा कायम गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com