‘नेपाल अन्तर्राष्ट्रिय आतंकवादी समूहको ट्रान्जिट/स्टेजिङ प्वाइन्ट’ : अमेरिका


प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ काउन्टर टेरोरिज्मले आज एक रिपोर्ट प्रकाशित गर्दै अन्तर्राष्ट्रिय आतंकवादी समूहबाट नेपाललाई ट्रान्जिटरस्टेजिङ प्वाइन्टका रुपमा प्रयोग गरिरहेको उल्लेख गरेको छ । अमेरिकाले आतंकवादसम्बन्धि हरेकबर्ष रिपोर्ट प्रकाशित गर्दै आएको छ । रिपोर्टमा भनिएको छ – ‘उल्लेखनीय खतरा नेपाललाई ट्रान्जिट/स्टेजिङ प्वाइन्ट वा सफ्ट टार्गेटको रूपमा प्रयोग गर्ने गैरनेपाली अन्तर्राष्ट्रिय आतंकवादी समूहबाट छ ।’

नेपालले हिंसात्मक अतिवादविरुद्ध रणनीतिक सञ्चार प्रयोग नगर्ने तथा हिंसात्मक चरमपन्थीमा भर्ती रोक्ने वा पूर्व हिंसात्मक चरमपन्थीहरूको पुनर्वासका लागि नेपालमा सरकार वा नागरिक समाजको कुनै कार्यक्रम नरहेको रिपोर्टमा उल्लेख छ । नेपालको सरकारले सामान्यतया हिंसात्मक अतिवादलाई ध्यान नदिएको तथा विशेष गरी मध्यपूर्वमा द्वन्द्व र अस्थिरताबाट हिंसात्मक चरमपन्थी विचारधाराको उत्पत्तिलाई ध्यान नदिएको तर यो नेपालमा एउटा महत्त्वपूर्ण खतराको रूपमा रहेको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै भारतसँगको खुला सिमाना र काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा प्रोटोकलका कारण नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादीहरूले ट्रान्जिट वा स्टेजिङ प्वाइन्टका रुपमा प्रयोग गरेको र गर्नसक्ने रिपोर्टमा उल्लेख गरिएको छ । नेपालमा विमानस्थल सुरक्षा नियन्त्रण कमजोर र अपर्याप्त भएकोमा रिपोर्टमा जोड दिइएको छ । रिपोर्टमा भनिएको छ -‘नेपाल सरकारले अन्तर्राष्ट्रिय आतंकवादको लागि राजनीतिक, कूटनीतिक वा आर्थिक सहयोग प्रदान गर्दैन, न त यो जानीजानी नेपाललाई आतंकवादी वा आतंकवादी समूहका लागि सुरक्षित आश्रयस्थलको रूपमा प्रयोग गर्न अनुमति दिन्छ । तर भारतसँगको खुला सिमाना र काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा प्रोटोकलका कारण नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादीहरूले ट्रान्जिट वा स्टेजिङ प्वाइन्टका रुपमा प्रयोग गरेको र गर्नसक्छन् ।’

रिपोर्टमा भनिएको छ -‘नेपालको विमानस्थलमा सुरक्षा नियन्त्रण कमजोर र अपर्याप्त छ। काठमाडौंको त्रिभुवन.अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूलाई प्रिस्क्रिन गर्दैन र अवतरण डाटा कुनै पनि डाटावेशमा प्रविष्ट गरिदैन । यात्रुहरूको शारीरिक सुरक्षा जाँच प्राथमिक हो। कुनै ट्राभल डकुमेन्ट सेक्युरिटी छैन भने कागजातहरू जाँच गर्न एयरपोर्टमा अल्ट्राभायोलेट लाइटहरुको अभाव छ।’

नेपालको विमानस्थल

‘नेपाल प्रहरीको विशेष ब्यूरोले विमानस्थलमा करिब १० जना र यसको इन्टरपोल कार्यालमा करिब १५ जना अधिकारी खटाएको छ, जुन नेपाल प्रहरी प्रधान कार्यालयमा अवस्थित छ। इन्टरपोल कार्यालयबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कुनै कर्मचारी राखिएको छैन । यद्यपी इन्टरपोल कार्याल र विमानस्थलमा भएका कर्मचारीबीच संचार भने हुन्छ । इन्टरपोलका सुचनाहरु डाटावेशमा त राखिएको छ तर यात्रुहरूको यस डाटाबेस मार्फत नियमित रूपमा जाँच गरिँदैन। सुरक्षा र अध्यागमन अधिकारीहरूले सामान्यतया अमेरिकाले जानकारीको लागि गरेको अनुरोधहरूको जवाफ त दिन्छन् । उनीहरुसँग प्रदान गर्न थोरै जानकारी मात्र हुन्छ ।’ – रिपोर्टमा उल्लेख गरिएको छ ।

नेपाल र भारतबीचको खुला सिमानालाई पनि रिपोर्टमा प्राथमिकताका साथ उठाइएको छ । रिपोर्टमा भनिएको छ -‘नेपालको भारतसँग खुला सिमाना छ । सिमाको १ हजार माइलमा केही चेकपोस्टहरू छन् तर यिनीहरूमा पर्याप्त सुरक्षा नियन्त्रणहरू छैनन् । कहिलेकाहीँ एक जना मात्रै अध्यागमन अधिकारी हुन्छन् । सीमा पार गर्ने अधिकांश मानिसलाई न त रोकिन्छ न त जाँच गरिन्छ । क्रसिङ बिन्दुहरू जाँचबाट बच्नको लागि सजिलैसँग छल्न सकिन्छ। प्रभावकारी सीमा नियन्त्रण क्षमता हुन नसक्नुको मुख्य कारण स्रोतको अभाव हो । सिमा थप बलियो बनाउन राजनीतिक इच्छाशक्तिको कमी छ । प्रभावकारी सीमा नियन्त्रण प्रदान गर्न सुरक्षा सेवाहरूमा कर्मचारी, प्रविधि, डाटाबेस, आधारभूत उपकरण र विद्युतको समेत अभाव छ । प्रशिक्षणको अभाव र व्यापक भ्रष्टाचारका कारण सिमा सुरक्षामा थप वाधा रहेको छ ।’

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेन ।

सन् २०२१ मा मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीविरुद्ध धेरै विरोध प्रदर्शन र धम्कीहरु देखिएको तथा एमसीसीको समर्थन गर्नेहरुलाई हिंशाको धम्की दिइएका कैयन युट्युब भिडियोहरु आएको रिपोर्टमा उल्लेख छ । नेपालको सुरक्षा सेवा र एमसीसीका राजनीतिक समर्थकहरूले मुद्दाहरूलाई घटना बिना सम्बोधन गरेको रिपोर्टमा उल्लेख छ । मार्च ५ मा नेपाल सरकार र नेकपा माओवादीबाट फुटेर गएको विप्लव समुहले ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरेको छ तथा भावी राजनीतिक वार्ताका माध्यमबाट आफ्ना मतभेदहरू शान्तिपूर्ण रूपमा समाधान गर्न दुवै पक्षले प्रतिबद्धता जनाएको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा भनिएको छ -‘सम्झौतापछि नेपाल सरकारले उक्त समूहमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो भने सदस्यहरुलाई पक्राउ गर्ने र छानविन गर्ने काम रोकेको थियो । विप्लव समुहले तत्कालिन प्रधानमन्त्री देउवाको नेतृत्वमा भएको सम्झौताको सम्मान गर्दै आएको छ ।’

अमेरिकाले सन् २०१५ देखि सन् २०१८ सम्मको रिपोर्टमा अमेरिकाले नेपालमा इन्डियन मुजाहिद्दिनले आफ्नो क्षेत्र नेपालसम्म विस्तार गरेको र नेपाल इन्डियन मुजाहिद्दिनको सबैभन्दा ठूलो हब भएको उल्लेख गर्दै आएको थियो । तर सन् २०१९ पछि भने अमेरिकाले नेपाललाई इन्डियन मुजाहिद्दिनको हबबाट हटाएको छ । प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नेतृत्वमा आइसकेपछिको सुधारपछि अमेरिकाले नेपाललाई आतंककारीको क्रिडास्थल र इन्डियन मुजाहिद्दिनको हबबाट हटाएको थियो । खनालको नेतृत्वमा नेपाल प्रहरीले सन् २०१९ भरमा सुरक्षाका क्षेत्रमा उल्लेख्य कामहरु गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१९ को रिपोर्टदेखि नेपाललाई भारतीय आतंकवादी समूहले आफ्नो अखडा बनाएको कुरा हटाएपनि सन् २०१५ देखि नै अमेरिकाले यसबारे नेपाललाई सचेत गराउँदै आएको थियो । सन् २०१५ मा प्रकाशित आतंकवादसम्बन्धी रिपोर्टमा भारतीय आतंकवादी संगठन इन्डियन मुजाहिद्दिनले आफ्नो क्रीडास्थलका रूपमा नेपालसम्म क्षेत्र विस्तार गरेको अमेरिकाले उल्लेख गरेको थियो ।

यद्यपि, अमेरिकाले यस्तो ठहर गर्नुपर्ने अवस्था रातारात आएको होइन । त्योभन्दा अगाडि सन् २०१३ को अमेरिकी रिपोर्टमा अमेरिकाले सुरुवाती वाक्यमै भारतसँगको खुला सिमाना र काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कमजोर सुरक्षा व्यवस्थाका कारण अन्तर्राष्ट्रिय आतंकवादी संगठनले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा दुरुपयोग गर्न सक्ने आशंका उल्लेख गरेको थियो । सन् २०१३ को अगस्ट २८ मा इन्डियन मुजाहिद्दिनका सहसंस्थापक यासिन भटकल नेपाल–भारतको सीमाक्षेत्रमा पक्राउ परेका थिए । सन् २०१० मा भारतको पुणेमा १७ जनाको ज्यान जाने गरी रेस्टुरेन्टमा भएको हमलामा भटकलविरुद्ध अभियोग लगाइएको थियो ।

नेपाल -भारत सिमाना

त्यस्तै, सन् २०१३ को अगस्टमा भारतका ‘मोस्ट वान्टेड’ अब्दुल करिम टुन्डा पनि नेपाल–भारत सीमाक्षेत्रमै पक्राउ परेका थिए । सीमाक्षेत्रमा इन्डियन मुजाहिद्दिनका उच्च तहका नेता पक्राउ परेपछि नेपाल–भारत सीमाक्षेत्रलाई उनीहरूले उपयोग गरिरहेको सतहमा आएको थियो । यसअघि नेपालमा अन्तर्राष्ट्रिय आतंकवादी संगठनको खतराबारे अमेरिकाले खासै बोलेको थिएन । बरु सन् २०१२ को सेप्टेम्बरसम्म तत्कालीन नेकपा माओवादीलाई अमेरिकाले आतंकवादी गतिविधि संलग्न समूहको सूचीमा राखेको थियो । तर, अमेरिकी नागरिक वा अमेरिकाको विदेशनीतिमा डर हुने गरी माओवादी आतंकवादी गतिविधिमा संलग्न नभएको भन्दै सन् २०१२को सेप्टेम्बर ६ मा माओवादीलाई सूचीबाट हटाइएको थियो ।

सन् २०१५ देखि अमेरिकाले लगातार इन्डियन मुजाहिद्दिनले आफ्नो क्षेत्र नेपालसम्म विस्तार गरेको उल्लेख गर्दै आएको थियो । यसबारे अमेरिकाले २०१९ सम्म आइपुग्दा आफ्नो धारणामा एक शब्द पनि परिवर्तन गरेको थिएन । तर सन् २०१९ मा सुरक्षा संयन्त्रमा आएको सुधारपछि अमेरिकाले ५ बर्षपछि २०१९ को रिपोर्टमा पहिलोपटक नेपाल मुजाहिद्दिनको क्रीडास्थलबाट हटाएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com