क्यालिफोर्नियामा २ बिलियन डलर जितेको पावरबल टिकट चोरी भएको दाबी गर्दै मुद्दा


प्रकाशित मिति : फाल्गुन १२, २०७९ शुक्रबार

क्यालिफोर्नियाका एक व्यक्तिले आफूबाट २ दशमलव ०४ बिलियन डलर जितेको पावरबल टिकट चोरी भएको दाबी गर्दै अदालतमा मुद्दा दायर गरेका छन् । मुद्दामा बादी जोस रिभेराले आफूले भाग्यशाली लोटरी टिकट अल्टाडेनाको जो सर्भिस सेन्टरबाट नोभेम्बर ७ मा किनेको दावी गरेका छन् ।

आफूलाई रेगी भनेर चिनाउने व्यक्तिले त्यस दिन उनीबाट पावरबलको टिकट चोरेको रिभेराको दावी छ । मुद्दामा कथित चोरीको परिस्थितिको व्याख्या भने गरिएको छैन ।

लोटरी खोलिएपछि आफू टिकट फिर्ता लिन खोज्दै रेगीसँग पुगेको तर ती व्यक्तिले टिकट सबै छवटा नम्बरहरूसँग मेल नखाएको बताएको रिभेराको दावी छ । उनी पुरस्कार आधाआधा बाड्नमात्र सहमत हुने उनले बताएको समेत जनाइएको छ ।

रिवेराले आफ्नो मुद्दामा आफू ब्ल्याकमेलमा पर्न इन्कार गरेको र पुरस्कार हस्तान्तरण गर्नु अघि अनुसन्धानको माग गर्दै चोरीबारे कानून प्रवर्तन अधिकारीहरू र क्यालिफोर्निया राज्य लोटरीलाई रिपोर्ट गरे उल्लेख गरेका छन् ।

लोटरी खोलिएको झण्डै तीनमहिनापछि क्यालिफोर्निया निवासी एडविन क्यास्ट्रोले २ बिलियनको पावरबल ज्याकपटकको रकम भ्यालेन्टाइन डेमा दावी गरिसकेका छन् । क्यास्ट्रोले पूर्ण वार्षिकी पुरस्कारको सट्टा नगद विकल्प रोजेका थिए, जुन ९९७ दशमलव ६ मिलियन डलर हो । यो ज्याकपोट अमेरिकी इतिहासको सबैभन्दा ठूलो लटरी ज्याकपट थियो।

100 US dollar banknote

क्यालिफोर्नियाको कानून अनुशार क्यास्ट्रोको नाम सार्वजनिक रूपमा खुलासा गर्नुपर्थ्यो। तर क्यास्ट्रो पत्रकार सम्मेलनमा भने उपस्थित भएनन् । उनले मिडिया अन्तर्वार्ताहरू नगर्ने छनौट गरेका छन् ।

रिवेराको मुद्दामा भने क्यास्ट्रो र रेगी दुबैलाई दुई अलग अलग प्रतिवादीको रूपमा सूचीबद्ध गरिएको छ । तर यसले शंकास्पद चोरीमा उनीहरूको कथित संलग्नतामा कुनै थप जानकारी प्रदान गर्दैन।

रिवेराले अदालतलाई क्षतिपूर्तिको लागि र उनलाई ज्याकपटको सही विजेता घोषणा गर्न आग्रह गरेका छन् । तर क्यालिफोर्नियाका लोटरी प्रवक्ता क्यारोलिन बेकरले भने पुरस्कारको सही विजेता एडविन क्यास्ट्रो भएकोमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।

क्यालिफोर्निया लोटरीलाई यसका खेलाडीहरू बीच आपराधिक गतिविधि अनुसन्धान गर्ने अधिकार नभएको र त्यस्ता आरोपहरू स्थानीय कानून प्रवर्तनद्वारा मात्र अनुसन्धानको अधीनमा रहेको प्रवक्ताको भनाई छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com