न्युयोर्कका अर्बपति फाइनान्सरको म्यानहट्टन अफिसमा आफैले चलाएको बन्दुकबाट मृत्यु


प्रकाशित मिति : फाल्गुन १२, २०७९ शुक्रबार

न्युयोर्कका अर्बपति फाइनान्सर थोमस एच लीको म्यानहट्टन अफिसमा आफैले चलाएको बन्दुकको गोलीबाट मृत्यु भएको छ । बिहीबार न्युयोर्क शहरमा रहेको उनको कार्यालयमा उनी मृत फेला परेका थिए ।

प्रहरी अधिकारीहरूले थोमस एच लीलाई म्यानहटनको ७६७ फिफ्थ एभिन्युको भवनको छैठौं तलामा बिहान ११ बजेर १० मिनेटमा मृत फेला पारेका थिए । त्यहाँ उनको थोमस एच ली क्यापीटल एलएलसी रहेको छ । ७८ वर्षीय लीलाई घटनास्थलमै मृत घोषित गरिएको थियो ।

उनको मृत्युबाट परिवार अत्यन्तै दुखी भएको र संसारले उहाँलाई निजी इक्विटी व्यवसायमा अग्रगामी र एक सफल व्यवसायीको रूपमा चिनेको ली परिवारका साथी र प्रवक्ता माइकल सिट्रिकले एक विज्ञप्तिमा बताएका छन् ।

उनी एक समर्पित पति, बुबा, हजुरबुबा, दाजुभाइ, साथी र परोपकारी रहेको तथा सधैं आफ्नो भन्दा पहिले अरूको आवश्यकतालाई ध्यान दिने गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनले सन् १९९२ मा स्न्यापल किनेका थिए र दुई वर्षपछि १।७ बिलियन डलरमा बेचेका थिए। लीको जन्म सन् १९४४ मा यहूदी परिवारमा भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com