बेलायतमा नेपालीको घरबाट २ सय तोला सुन चोरी, लुटेराको निशानामा नेपालीहरु


प्रकाशित मिति : फाल्गुन १२, २०७९ शुक्रबार

gold, ingots, treasure

बेलायत बसोवास गर्ने नेपालीका घरहरु दिनहुँजसो असुरक्षित बन्दै गएका छन् । विशेषगरि नेपाली तथा एसियालीमुलका मानिस बसोवास गर्ने ठाउंमा सुनका गरगहना लुटपाट हुने क्रम निरन्तर बढ्दै गएको छ ।

वर्षौंदेखि नेपालीका घरबाट सुनका गहनाहरु लुटिएका समाचार बाहिरिए पनि यसतर्फ सावधानी अपनाएको पाइँदैन । प्रायजसो विभिन्न अवसरमा गरिने नेपाली जमघटमा फेशन बनिसकेको गरगहनाको प्रतिस्पर्धाकै कारण नेपालीहरु लुटेराको मुख्य आकर्षणको केन्द्र बनेका हुन् ।

सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण पनि लुटेराहरुलाई थप सहज बनेको छ । घरबाट मात्र नभई बाहिर हिंडडुल गर्दासमेत लगाएका गहनाहरु लुटिने गरेको घट्नाहरु फाट्ट फुट्ट सुनिने गरिन्छ ।

भर्खरै मात्र लन्डन हिथ्रो नजिक अमृत गुरुङको घरबाट करिब दुईसय तोला सुनका गरगहना चोरी भएको छ । लुटेराको एक समूहले घरमा बसिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएर १० देखि १५ मिनेटभित्रै सम्पूर्ण गरगहना तथा नगद लुटेर भागेका थिए ।

बुढीआमा घरमै बस्ने भएकाले आफन्तहरुले पनि सुन राख्न ल्याएर राखेका थिए । तत्कालै प्रहरीलाई खबर गरिएको र प्रहरीले निरीक्षण गरेको भएपनि हालसम्म कुनै टुंगो नलागेको पीडित गुरुङले जनाए ।

दुईदिनअघिमात्र अर्को नेपालीको घरमा पनि चोरीको प्रयास गरिएको सीसीटीभी फुटेजसमेत उनले देखाएका थिए ।

नेपालीहरुको बाक्लो वस्ती भएका स्थानहरु अल्डरसट, फार्नबरो, रेडिंग, हन्स्लो, फेल्थमलगायत क्षेत्रमा नेपालीका घरमा चोरी हुने गरेको छ । नेपालीहरुसँग प्रशस्त सुन हुन्छ भन्ने बारेमा लुटेराहरु विश्वस्त छन् भने स्वयं नेपालीहरुको पनि उनीहरुसंग साँठगाँठ रहेको अनुमान गरिन्छ यद्यपि यसको कुनै प्रमाण भने फेला परेको छैन् ।

चोरी भएका गरगहनाहरु भेटिने सम्भावना कमै हुने भएकाले सोको क्षतिपूर्ति आफूले गरेको घरको ‘कन्टेन्ट इन्स्यूरेन्स’ मार्फत गर्न सकिन्छ । तर, ‘कन्टेन्ट इन्स्यूरेन्स’ कति रकमको गरेको छ त्यसमा निर्भर गर्दछ । त्यसैले घरको इन्स्योरेन्स गर्दा ‘कन्टेन्ट इन्स्यूरेन्स’ रकम बढी गर्न सकेको खण्डमा क्षतिपूर्ति पाउने सम्भावना बढी रहन्छ ।

कसरी सुरक्षित रहने ?

काउन्सिलर तथा लन्डन बरो अफ हन्स्लोका पूर्व मेयरसमेत रहेका विष्णु गुरुङ घरमा बहुमूल्य गरगहना नराख्न सुझाउंछन् ।

एसियन तथा विशेषगरि नेपालीहरुका घरमा सुनका गहना प्रशस्त हुन्छन् भन्ने लुटेराहरुलाई जानकारी भएकाले उनीहरुले नेपालीको घरलाई नै बढी निशाना बनाउने गरेको गुरुङको अनुभव छ । महंगा सामग्री घरमा राख्दा आफूलाई पनि तनाव हुने, ज्यानको पनि खतरा हुने गुरुङको धारणा छ । यदि राख्नै परेपानी बैंकको लकरमा लगेर राख्ने, सकेसम्म सुनका गहना कम प्रयोग गर्न उनको सुझाव छ ।

केहि वर्ष अगाडि आफ्नै घरमा लाखौंको गहना तथा नगद चोरी भएको स्मरण गर्दै कृष्ण आचार्य भन्छन्, सकेसम्म नक्कली गहनाको प्रयोग गर्नु नै बुद्धिमानी छ । सुनका गहना नै राख्न परे बैंकको लकरमा लगेर सुरक्षित राख्न उत्तम हुन्छ ।

घटना घटिहालेको खण्डमा सामान प्राप्त गर्ने सम्भावना कम भएकाले ‘कन्टेन्ट इन्स्यूरेन्स’ को रकम बढी गर्न सकेमा क्षतिपूर्ति पाउन सकिने उनी बताउंछन् ।

आफ्नो घरमा चोरी हुँदा स्पष्ट रुपमा चिन्न सकिने सीसीटिभी फुटेज उपलब्ध गराउँदासमेत प्रहरीले पक्राउ गर्न नसकेको उनको तीतो अनुभव छ । आफूसंग भएका सम्पूर्ण गरगहनाको फोटो राख्न समेत उनको सुझाव छ ।

घरमा मात्र नभई बेलायतमा सुन व्यवसाय गर्दै आएका दुई नेपालीका गहना पसल पनि केहि समयअघि लुटिएका थिए । नेपालीहरुको बाक्लो बस्ती रहेको बेलायतको अल्डरसटमा रहेका अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलरीमा लुटेराहरूले गाडीले हानेर सटर फुटाएर गरगहना लुटेका थिए । प्रहरी आएपछि लुटेराहरूले प्रयोग गरेको गाडी घटनास्थलमै छाडेर भागेका थिए ।

लुटपाटका घटना बारम्बार दोहोरिंदा पनि गरगहनाको प्रयोग र यसको प्रदर्शनी गर्ने क्रम नरोकिंदा विगत केहिवर्षयता सयौंको संख्यामा नेपालीका घरहरु लुटिने गरेका छन् । यस्ता घटनाहरु सार्वजनिक नगरिने र गर्न नचाहने हुँदा आफन्तको माध्यमबाट मात्र जानकारी हुने गर्दछ ।

घट्ना बाहिर सार्वजनिक गर्न सकेमा मानिसहरुमा सचेतना बढ्ने र घटना नियन्त्रणमा पनि सहयोग पुग्ने कतिपयको धारणा छ । एसियन तथा नेपालीहरु वसोवास गर्ने क्षेत्रमा गहना चोरीको घट्ना अत्यधिक हुने स्थानीय प्रहरीकोसमेत अनुभव छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com