ट्रकमा अमेरिका ल्याइएका १० को मृत्यु, मानव तस्करलाई मृत्युदण्डको सम्भावना


प्रकाशित मिति : १२ श्रावण २०७४, बिहिबार

ट्रकमा खाँदेर मेक्सिकोको सिमाक्षेत्रबाट गैर कानुनी रुपमा अमेरिका छिराइएका आप्रवासीहरुमध्ये १० जनाको ट्रकभित्रै मृत्यु भएपछि ड्राइभरबिरुद्ध मानवतस्करीको अभियोगमा मुद्दा चलाइएको छ । ६० बर्षका ड्राइभर जेम्स म्याथ्युलाई मृत्युदण्डको समय सजाय हुनसक्ने जनाइएको छ ।

उनले १ सय भन्दा धेरै व्यक्तिलाई ट्रकभित्र खात लगाएर राखेर गैर कानुनीरुपमा अमेरिका छिराउने क्रममा १० जनाको मृत्यु भएको थियो । गत आइतबार टेक्सासको सान एन्टोनियोमा रहेको वालमार्टको पार्किङ लटमा पार्क गरिएको तातो ट्रकभित्र गैरकानुनी रुपमा अमेरिका छिराइएका आप्रवासीहरु भेटिएका थिए । जसमध्ये ८ जनाको ट्रकभित्र मृत्यु भइसकेको थियो भने २ जनाको अस्पतालमा मृत्यु भएको छ ।

श्वास फेर्न नसकेर र तातोले गुम्सिएर उनीहरुको मृत्यु भएको र केही बेहोस भएर ढलेको ट्रकभित्र रहेका एकजनाले बताएका छन् । उनीहरुले ढक्ढकाएपनि ड्राइभरले ट्रक नरोकी अगाडि बढाएको ट्रकभित्रका एकजनाले संघीय अधिकारीसमक्ष बयान दिएका छन् । ट्रकमा कोचेर ल्याइएका केही व्यक्ति गम्भिर रुपमा बिरामी छन् भने केहीको निको हुन नसक्नेगरी मस्तिष्कमा क्षति पुगेको छ ।

होमल्याण्ड सेक्युरिटीका अनुसन्धानकर्ताहरुले ट्रकमा कोचेर ल्याइएका केही आप्रवासीहरुसँग अस्पतालमा बयान समेत लिएका छन् । उनीहरुमध्ये एकजनाले आफूहरुसहित २८ जनाले अमेरिका आउनका लागि सेन्ट्रल मेक्सिको छाडेको बताएका छन् । उनले रियो ग्रान्दे पार गर्नका लागि दलाललाई ७ सय डलर बुझाएको र उनीहरुलाई दलालले गाडीमा राख्दै र हिडाउदै लगेर ट्रकमा कोचेको बताएका छन् । आफूसहित २८ जना ट्रकमा कोच्दा त्यहाँ पहिले नै ७० जना रहेको उनले बयान दिएका छन् । दलालले आफूहरुलाई बेलुका हिडउने भन्दै ट्रकभित्र बस्न लगाएर बाहिरबाट ढोका लगाएको र ट्रकभित्र एकदमै तातो तथा खानापानीको समेत व्यवस्था नगरिएको उनले बयान दिएका छन् ।

१२ घण्टासम्म त्यो ट्रकमा राखेपछि उनीहरुलाई अर्को ट्रकमा सारेर सान अन्टोनियो ल्याइएको थियो । सान अन्टोनियो ल्याउदासम्म कैयन ट्रकभित्रै ढले भने ८ जनाको ट्रकभित्रै मृत्यु भयो । अमेरिकी अधिकारीहरुले ट्रकमा कोचेर ल्याइएकाहरु कुन देशका हुन् भन्नेबारे केही खुलाएको छैन तर मेक्सिकोको सरकारले मृत्युहुनेमध्ये ४ जना मेक्सिकन रहेको र अरु २१ जना अस्पतालमा रहेकाहरु पनि मेक्सिकन रहेको जनाएको छ । ग्वाटेमालाको सरकारले २० बर्षका फ्रयांक गोन्जालेज ग्वाटेमालाका नागरिक रहेको बताएको छ । अरु दुईजना पनि ग्वाटेमालाका नागरिक रहेको जनाइएको छ । अस्पतालमा भर्ना गरिएकाहरुमध्ये २ जना १५ बर्षभन्दा कम उमेरका रहेका छन् ।

वालमार्टमा के भयो ?

जब वालमार्टमा ट्रक रोकियो । त्यसपछि आप्रवासीहरुलाई कोचेर ल्याएका ड्राइभरले ट्रकको पछाडिको भाग खोले । तब मासुको थुप्रोजस्तै मान्छेहरु ढलेका थिए । जसमध्ये ८ जनाको मृत्यु भएको थियो भने कैयन बेहोस थिए । ट्रकमा भएका एकजना लड्खडाउदै वालमार्टभित्र पुगेर पानी मागे । वालमार्टका कर्मचारीले पानी दिए, त्यसपछि प्रहरीलाई खबर गरे ।

त्यसलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी पुग्दा ट्रकभित्र कैयन व्यक्ति ढलेको अवस्थामा थिए । शनिवार टेक्सासको तापक्रम १०० डिग्री फरेनहाइटसम्म पुगेको थियो । ट्रकभित्र एयर कन्डिसन थिएन । प्रहरी पुग्दा ट्रकभित्र ३९ जनामात्र थिए । अरुसबै ट्रकबाट निस्केर भागिसकेका थिए । जसमध्ये ८ जनाको मृत्यु भएको थियो भने ३१ जना गम्भिर बिरामी थिए । थप २ जनाको अस्पतालमा मृत्यु भएपछि बाँकी २९ जनाको उपचार भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा नेपालीहरुपनि ठूलो संख्यामा अमेरिका छिर्ने गरेपनि त्यो ट्रकमा नेपालीहरु थिए वा थिएनन् भन्नेबारे केही खुलेको छैन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com