निक्की हेलीले गरिन् अमेरिकी राष्ट्रपतिमा उम्मेदवारी घोषणा, ट्रम्पलाई चुनौति दिने पहिलो रिपब्लिकन


प्रकाशित मिति : फाल्गुन २, २०७९ मंगलबार

साउथ क्यारोलिनाका पूर्व गभर्नर रिपब्लिकन निक्की हेलीले मङ्गलबार अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन प्राइमरीमा उम्मेदबारीको घोषणा गरेकी छिन् । आगामी रिपब्लिकन प्राइमरीमा राष्ट्रपतिको नोमिनेशनका लागि आधिकारिक रूपमा पूर्व राष्ट्रपति ट्रम्पलाई चुनौती दिने उनी पहिलो रिपब्लिकन बनेकी छिन् ।

पूर्व गभर्नर तथा संयुक्त राष्ट्रकालागि पूर्व राजदूतले हेलीले उम्मेदबारीको घोषणा गर्दै पार्टीमा नयाँ नेतृत्वको लागि आह्वान गरेकी छिन् । रिपब्लिकनहरूले पछिल्ला आठ राष्ट्रपति चुनावमध्ये सातमा लोकप्रिय भोट गुमाएको उल्लेख गर्दै उनले त्यो परिवर्तन हुनुपर्ने बताइन् ।

५१ वर्षीया हेलीले यो नयाँ पुस्ताको नेतृत्वको लागि समय भएको बताइन् । चुनावी दौडमा हेलीको प्रवेश महिनौंदेखि अपेक्षा गरिएको थियो। उनले करिब दुई वर्ष ट्रम्पले उम्मेदबारी दिएमा आफूले २०२४ मा ट्रम्पलाई चुनौती नदिने बताएकी थिइन् । तर ट्रम्पको उम्मेदबारी घोषणाको बाबजुत उनी पछि हटिनन् ।

डोनाल्ट ट्रम्प र राष्ट्रसंघका महासचिवसँग निक्की हेली ।

ट्रम्प प्रशासन छोडेपछि उनले २०२२ को मध्यावधि चुनाव अघि रिपब्लिकन उम्मेदवारहरूलाई बढावा दिन आफ्नै बाहिरी समूह स्ट्यान्ड फर अमेरिका स्थापना गरेकी थिइन् । उनी राष्ट्रिय सञ्चारमाध्यममा पनि सकृय रुपमा आइरहेकी छिन् ।

जनवरीमा फक्स न्यूजसँगको एक अन्तर्वार्तामा उनले आफू अझै पनि उम्मेदबारी दिने नदिने बारे विचार गरिरहेको बताएकी थिइन् । देशलाई २०२४ मा नयाँ पुस्ताको आवश्यकता रहेको उल्लेख गर्दै उनले आफूलाई सम्भावित नेताको रूपमा अगाडि सार्दै आएकी थिइन् ।

अमेरिकाको भविश्य हेर्ने कुरा एक व्यक्ति भन्दा ठूलो भएको र यो समय नयाँ पुस्ता परिवर्तनको समय भएको उनको भनाई छ । राष्ट्रपति बन्नको लागि ८० वर्षको हुनु आवश्यक नभएको उनले बताइन् । युवा पुस्ता अगाडि बढ्न, कदम चाल्न, र चीजहरू ठीक गर्न सुरु गर्न आवश्यक भएको उनले उल्लेख गरिन् ।

रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार प्रतिस्पर्धा गर्ने पहिलो राज्यहरू आयोवा र न्यु ह्याम्पशायरमा कार्यक्रमहरुको शृङ्खलाका साथ हेलीले यस हप्ता आफ्नो पहिलो आधिकारिक अभियान सुरु गर्ने अपेक्षा गरिएको छ।

उनको घोषणा ट्रम्पबाट पनि अपेक्षा गरिएको थियो, जसले जनवरीको अन्त्यमा उम्मेबारीका बारेमा हेलीसँग कुरा गरेको तथा उनलाई उम्मेदबारीका लागि प्रोत्साहित गरेको बताएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com