युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्की अकस्मात किन गए फ्रान्स ?


प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार

युक्रेनका राष्ट्रपति अकस्मात फ्रान्सको भ्रमणमा पुग्नुभएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम पहिले नै तय नभएको भए पनि उहाँ बुधबार अकस्मात फ्रान्स पुग्नुभएको बताइएको छ ।

संयुक्त अधिराज्यको भ्रमणपछि उहाँ अकस्मात पेरिस पुग्नुभएको युक्रेनी राष्ट्रपतिको कार्यालयले बुधबार जारी गरेको एक सूचनामा जनाएको छ ।

राष्ट्रपति जेलिन्स्किीले बुधबार नै फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोँसँग भेटवार्ता पनि गर्नुभएको छ । त्यसैगरी उहाँले जर्मन चान्स्लर ओलफ स्कल्जसँग पनि पेरिसमा नै भेटवार्ता गर्नुभएको थियो । उहाँहरुका बीचमा बुधबार त्रिपक्षीय वार्ता भएको सो समाचारमा जनाइएको छ ।

त्यसैगरी उहाँहरु तिनैजना बुधबार राति रात्रिभोजमा पनि सहभागी हुनुभएको बताइएको छ । त्यस अवसरमा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले युक्रेनको हालको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

सो जानकारी पछि गएको वर्षदिनदेखि रुसले आक्रमण गरी समस्यामा परेको युक्रेनका लागि के कस्तो सहयोग पुर्याउन सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।

गत वर्ष रुसले युक्रेनमाथि हमला गरेपछि फ्रान्स र जर्मनीले नै युक्रेनको पक्षमा उभिएका मात्र नभएर आर्थिक तथा सुरक्षा सम्बन्धी युक्रेनलाई सहयोग गर्दै आएका छन् ।

उहाँहरुका बीचमा बिहीबार पनि ब्रसेल्समा युरोपियन काउन्सिलको बैठकमा भेटवार्ता हुने बताइएको छ । सो बैठकमा युरोपियन युनियनका सदस्यहरु उपस्थित हुने र युक्रेनलाई आगामी दिनमा गर्ने सुरक्षा सहयोगका बारेमा पनि कुराकानी हुने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com