टर्की-सिरिया : भूकम्पमा परी मृत्यु हुनेको संख्या ७ हजार ८ सय नाघ्यो, उद्धार कार्य जारी
प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार
टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म सात हजार नौ सय जनाको मृत्यु भएको छ । हालसम्म टर्कीएमा पाँच हजार आठ सय ९४ र सिरियामा दुई हजार ३२ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् ।
प्रतिकूल मौसमको परबाह नगरी भत्किएका भवनका भग्नावशेषबाट बाँचेकाहरूलाई बाहिर निकाल्न उद्धारकर्ताहरू सङ्घर्ष गरिरहेका छन् । उद्धार तथा राहतको अनुगमन एवम् समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन् ।
उद्धार तथा राहतका काम प्रभावकारी ढङ्गले अघि बढाउन विश्वका विभिन्न मुलुकले सहयोगी टोली परिचालन गरेका छन् । टर्कीएका विपद् व्यवस्थापन निकायका अधिकारीले २४ हजार चार सय कर्मचारी भूकम्प प्रभावित स्थानमा परिचालन भएका बताएका छन् । करिब छ हजार भवन भत्केकाले सबै स्थानमा सहायता परिचालन गर्न कठिन भएको छ । सोमबार र मङ्गलबार कठ्याङ्ग्रिने चिसो तथा बारम्बारको पराकम्पका कारण उद्धार तथा राहतका कामलाई द्रुत गतिमा सम्पादन गर्न हम्मेहम्मे परेको थियो ।

टर्कीका राष्ट्रपति तैयप एर्दोगानले अति प्रभावित दश प्रान्तमा सङ्कटकाल घोषणा गर्नुभएको छ । क्षतिग्रस्त टर्कीका सहरका बासिन्दा पर्याप्त सहायता प्राप्त नभएकामा निराश भएका छन् । उनीहरूले छानोबिना आफूहरू हिउँमा बस्नु परेको, आफ्ना आफन्त वेपत्ता भएका, उद्धारले अपेक्षित गति नलिएकामा दुःख व्यक्त गरेका छन् ।
सोमबारको ७.८ म्याग्निच्युडको भूकम्प, त्यसको केही घण्टापछि झण्डै त्यति नै शक्तिशाली दोस्रो पराकम्पले अस्पताल, विद्यालय र आवासीय भवनहरू ध्वस्त हुनाका साथै हजारौँ घाइते भएका छन् । उत्तरी सिरियामा पनि असङ्ख्य मानिस घरबारविहीन भएका छन् ।

Meanwhile, the number of wounded people stood at 21,103, Turkish Disaster and Emergency Management Authority said in an update.
Two major earthquakes of 7.7 and 7.6 magnitudes hit the province of Kahramanmaras Monday. (Xinhua/Shadati)
क्षतिग्रस्त सडक, प्रतिकूल मौसम, स्रोतसाधन र भारी उपकरणको अभावले सबैभन्दा बढी प्रभावित क्षेत्रमा सहायता परिचालनमा विलम्ब भएको सुरक्षा अधिकारीहरूले स्वीकार गरेका छन् । उनीहरूले उपलव्ध स्रोत, साधनको अधिकतम उपयोग गर्दै यथाशक्य पीडितहरूमाझ पुग्ने प्रतिबद्धता जनाएका छन् । कतिपय क्षेत्रमा इन्धन र बिजुली नहुँदा जीवन अकल्पनीय कष्टकर भएको छ ।
मानवीय सहायता अधिकारीहरूले करिब १२ वर्षको गृहयुद्ध पछि मानवीय सङ्कटबाट पीडित सिरियाको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरूले बालबालिका र महिला अधिक प्रभावित भएका बताएका छन् । अन्तर्राष्ट्रिय समुदायले प्रदान गरेका सहायता सामग्री टर्कीए पुग्न थालेका छन् । टर्कीएलाई अहिले नगदको आवश्यकता परेको अन्तर्राष्ट्रिय सहायता निकायले बताएका छन् । अमेरिकी खोज तथा उद्धार टोली आज टर्कीए आउने भएको छ ।
युरोपेली सङ्घ, सङ्घमा आबद्ध १३ देशले राहत सामग्रीसहितको उद्धार टोली परिचालन गरेका छन् । मङ्गबार टर्कीए र सिरियाका भूकम्पपीडितका लागि चीन, भारत, जापान, फिलिपिन्स, अष्ट्रेलिया, न्युजिल्याण्लगायत मुलुकले आर्थिक एवम् भौतिक सहयोगको घोषणा गरेका थिए ।





