टर्की र सिरियामा भूकम्पबाट ज्यान गुमाउनेहरुको संख्या २३ सय बढी, थप शक्तिशाली भूकम्प र पराकम्प


प्रकाशित मिति : माघ २३, २०७९ सोमबार

टर्की र सिरियामा सोमबार करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्पपछि त्यसबाट मृत्यु हुनेहरुको संख्या २३ सय नाघेको छ । सोमबार टर्की र सिरियाका केही भागहरूमा मानिसहरू सुतिरहेका बेला आएको ७ दशमलव ८ म्याग्नीच्युडको भूकम्पले भवनहरू समतल बनाएको छ । जसमा हजारौं घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सिमाना नजिक टर्कीको गाजिएन्टेपको उत्तरमा भूकम्प आएपछि धेरै मानिस ध्वस्त भवनमुनि फसेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्। साइप्रस, लेबनान र इजिप्टमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

सोही क्षेत्रमा सोमबार दिउँसो ७ दशमलव ५ म्याग्निच्युडको दोस्रो भूकम्प पनि गएको युएसजीएसले जनाएको छ । त्यसपछि कयौं शक्तिशाली पराकम्पन पनि महसुस गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टर्कीको प्रकोप तथा आपतकालीन व्यवस्थापन प्राधिकरणका अनुसार भूकम्पपछि टर्कीका १० प्रान्तमा १ हजार ४९८ जनाको मृत्यु भएको छ भने ८ हजार ५३३ जना घाइते भएका छन् । सिरियाली सरकारी सञ्चारमाध्यमले सरकारी नियन्त्रित क्षेत्रमा कम्तीमा ४३० जनाको ज्यान गएको र १ हजार ३१५ भन्दा बढी घाइते भएको बताएको थियो । त्यसका अतिरिक्त कम्तिमा ३८५ जना व्यक्तिहरूको विपक्षी नियन्त्रित क्षेत्रमा मृत्यु भएको छ भने १ हजारभन्दा बढी घाइते भएका छन् । जसले गर्दा सिरियामामात्र ज्यान गुमाउनेको संख्या ८१५ नाघेको छ ।

उत्तरपश्चिमी सिरियाको विपक्षी नियन्त्रित क्षेत्रहरूमा विनाशकारी भूकम्पको क्षतिका रिपोर्टहरू आएका छन् । जहाँ युद्धबाट विस्थापित लाखौं मानिसहरू सघन जनसंख्या भएका शहरहरूमा बस्छन्। गाजियन्टेप र यसको वरपरका क्षेत्रहरूमा लगभग १२ वर्षको युद्धबाट विस्थापित भएका हजारौं सिरियाली शरणार्थीहरू बस्दै आएका छन् ।

भूकम्पबाट व्यापक जनधनको क्षति भएपछि विश्वका नेताहरूले शोक व्यक्त गर्दै सहयोगका लागि अग्रसर भएका छन् । यसै बीच टर्कीले राहत र उद्धारकार्यमा सहयोग गर्न विश्वसमुदाय सँग आग्रह गरेको छ । टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सीले तत्काल राहत र सहायता परिचालन गर्न अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको हो ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले ट्वीटमार्फत देशका धेरै भागहरूमा प्रभावहरू महसुस गरिएको र भूकम्पबाट प्रभावित क्षेत्रमा तुरुन्तै खोज र उद्धार टोलीहरू पठाइएको बताएका छन् ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले एक इमेल विज्ञप्तिमा विनाशकारी भूकम्पको रिपोर्टबाट अमेरिका अत्यन्तै चिन्तित भएको बताएको छ । अमेरिका आवश्यक कुनै पनि र सबै सहायता प्रदान गर्न तयार रहेको उनले बताएका छन् ।

अमेरिकी राष्ट्रपति बिडेनले युएसएआईडी र संघीय सरकारका अन्य साझेदारहरूलाई सबैभन्दा प्रभावितहरूलाई मद्दत गर्न अमेरिकी सहायता विकल्पहरूको मूल्याङ्कन गर्न निर्देशन दिएका छन् ।

वरिष्ठ अमेरिकी अधिकारीहरूले उनीहरूको टर्की समकक्षहरूसँग अमेरिकी सहायता समन्वय गर्न पुगेका र अमेरिका समर्थित मानवीय साझेदारहरूले सिरियामा पनि त्यस्तै गरिरहेका सोमबार एक विज्ञप्तिमा बाइडेनले बताएका छन् ।

बाइडेनले प्रियजनहरू गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै घाइतेहरुको स्वास्थ्यलाभको कामना गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com