गुल्मीकै पहिलो अटिजम स्कुललाई बेलायतमा रहेका गुल्मेलीले गरे तीन लाख सहयोग


प्रकाशित मिति : माघ २२, २०७९ आईतबार

गुल्मी जिल्ला समाज यूकेले गुल्मी जिल्लाकै पहिलो अटिजम स्कुललाई आर्थिक सहायता प्रदान गरेको छ। गुल्मीको रुरुस्थित ‘अटिजम पाठशाला नेपाल’ लाई समाजले तीन लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो।

शनिबार समाजका अध्यक्ष बीरबहादुर बलाल, उपाध्यक्ष तारा भट्टराई र प्रवक्ता राधा खरेल उक्त स्कुलमै पुगेर सहयोग चेक हस्तान्तरण गरे।

यसअघि गत डिसेम्बरमा विश्व अपांगता दिवसको अवसरमा लन्डनमा आयोजना गरिएको च्यारिटी कार्यक्रममार्फत् संकलित रकमबाट सहयोग गरिएको हो । सो कार्यक्रमबाट उठेको केही रकम आशा अपांग केन्द्र तम्घासलाई पनि सहयोग गरिएको छ।

सहयोग रकम स्कुलको भौतिक संरचना निर्माणमा खर्च गरिने अटिजम पाठशालाले जनाएको छ। उक्त स्कुलमा अहिले अटिजम भएका १० बालबालिका अध्ययनरत छन्।

सहयोग हस्तान्तरणपछि गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष बीरबहादुर बलालले लुम्बिनी प्रदेशमै पहिलोपटक गुल्मीमा अटिजम स्कुल सञ्चालन भएकोमा खुशी व्यक्त गरे ।

उनले यो पूण्य कार्यमा बेलायतवासी गुल्मेलीहरुको तर्फबाट पनि सहयोग गर्न पाउंदा गौरव लागेको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com