मिसिगनमा ६ बर्षका बालक पिताको फोनमा खेल्दा कैयन रेष्टुरेण्टबाट १ हजार डलरको खाना अर्डर


प्रकाशित मिति : माघ १८, २०७९ बुधबार

boy in blue tank top holding black iphone 5

मिसिगनमा ६ बर्षका बालक पिताको फोनमा खेल्दा कैयन रेष्टुरेण्टबाट १ हजार डलरको खाना अर्डर भएको छ । पिताको फोनमा खेल्दा उनले फूड डेलिभरी एप ग्रबहबबाट लगभग १ हजार डलरको खाना अर्डर गरेका थिए ।

एकपछि अर्को गर्दै रेष्टुरेण्टबाट खाना डेलिभरी हुन थालेपछि आत्तिएका पिताले आफ्नो फोन हेर्दा त्यहाँबाट खानाहरु अर्डर भएको फेला पारेका थिए । किथ स्टोनहाउसले उनको ६ वर्षीय छोरा मेसन उनीसँग घर रहेको र सुत्ने समय अघि आफ्नो फोनमा खेलिरहेका बेला ग्रबहब एप खोलेर खाना अर्डर गरेको बताएका छन् ।

मेसन सुत्नका लागि ओछ्यानमा गएपछि घर अगाडि डेलिभरी ड्राइभरहरू देखा पर्न थालेका थिए । ड्राइभरले ढोकाको घण्टी बजाउदै घर अगाडि एकपछि अर्को डेलिभरी छाडिरहेका थिए । कार पछि कारहरु आइरहेका थिए भने केही कारहरू ड्राइभवेमा आइरहेका थिए भने केही कारहरु बाहिर गइरहेका थिए ।

यस्तो देखेपछि किथ स्टोनहाउसले डेलिभरी ड्राइभरलाई के वितरण भइरहेको छ ? भनेर सोधेका थिए । तर उनीहरुले अनलाइनबाट अर्डर आएको खाना डेलिभर गरिरहेको बताएपछि उनले आफ्नो फोन हेरेका थिए । जसमा खाना तयार भइरहेका र खाना डेलिभर भइरहेका सन्देशहरु आएका थिए । बैंक खाता हेर्दा त्यहाँबाट झण्डै १ हजार डलर गएको थियो ।

६ बर्षका बालकले हरेक डेलिभरीका लागि २५ प्रतिशत टिप्समा पनि क्लीक गरेका थिए । स्टोनहाउसले त्यसपछि छोरा मेसनलाई यसबारे सोधेका थिए । छोरालाइ नराम्रो गरेको बुझाउन खोजिरहदा छोराले रोकेर पेपरोनी पिज्जा आयो कि आएन भनेर सोधेको स्टोनहाउसले बताएका छन् ।

स्टोनहाउसले खानाको लागत खर्चमा मेसनको पिगी बैंकबाट ११५ डलर लिएका छन् । फेरि अनुमति बिना अर्डर नगर्ने पाठ सिकाउन आफूले यसो गरेको स्टोनहाउसले बताए ।

कम्तिमा एक अर्डर बैंकद्वारा अस्वीकार गरिएको थियो । ह्याप्पीज पिज्जाबाट ४ सय ३९ डलरको खरीदको प्रयास पछि फ्रड अलर्ट भएका कारण उक्त अर्डर रोकिएको थियो । घटनापछि ग्रबहबले परिवारलाई १ हजार डलरको उपहार कार्ड दिएको छ ।

कभरको तस्वीर सांकेतिक मात्र हो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com