अब स्मार्ट एनआरएन कार्ड: १० बर्ष भिसा शुल्क तिर्न नपर्नेदेखि सम्पत्ति राख्न पाइने सुविधा


प्रकाशित मिति : माघ १६, २०७९ सोमबार

विदेशको नागरिकता लिएका वा विदेशमा गैर आवासीय नेपालीको हैसियतमा रहेकाहरुले लिनसक्ने नेपाल सरकारले जारी गर्ने एनआरएन कार्ड स्मार्ट र डिजिटल बनाइएको छ । न्युयोर्कमा रहेको नेपाली कन्सुलेटले नयाँ डिजाइनको कार्ड जारी गर्न डिसेम्बर १ देखि नै सुरु गरिसकेको छ भने वासिंटन डिसीमा रहेको नेपाली दूतावासले नयाँ डिजाइनको कार्ड फरबरी १ बाट जारी गर्ने घोषणा गरेको छ ।

याद गर्नुहोस्, एनआरएन कार्ड गैर आवासीय नेपालीहरुको संस्था एनआरएनएबाट जारी हुने कार्ड नभई नेपाल सरकारले गैर आवासीय नेपालीहरुलाई प्रदान गर्ने आईडी कार्ड हो । जसका लागि गैर आवासीय नेपालीहरुको संस्था एनआरएनएको सदस्य हुन आवश्यक पर्दैन । एनआरएन कार्ड नेपालको सरकारी निकायबाटमात्र जारी हुन्छ । अर्थात् अमेरिकामा न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावास र वासिंटन डिसीमा रहेको नेपाली दूतावासबाटमात्र यो कार्ड जारी हुन्छ ।

के छन् विशेषता ?

विगतमा हस्तलिखित वा कम्प्युटरबाट टाइप गरिएको सामान्य कागजमा छापिने एनआरएन कार्ड जारी गरिदै आएकोमा स्मार्ट एनआरएन कार्डमा क्युआरकोर्डको व्यवस्था रहेको छ । कार्ड व्यवसायिक आईडी कार्ड प्रिन्टिङमा प्रयोग हुने बलियो प्लाष्टिक सामाग्री पीभीसीबाट बनाइएको छ ।

विगतको कार्ड सामान्य कागजमा भएकाले पानीले भिज्ने प्रकारको रहेकोमा नयाँ कार्ड पानीले नभिज्ने वाटरप्रुफ रहेको छ भने विगतको तुलनामा आकर्षक र चिल्लो समेत रहेको छ । विगतको कार्डको आकार वालेट वा खल्तीमा राख्न अप्ठ्यारो हुनेगरी पासपोर्टभन्दा पनि ठूलो आकारको थियो भने नयाँ कार्ड झण्डै बैंक कार्ड वा ड्राइभर लाइसेन्सको आकारमा रहेको छ भने वालेट वा खल्तीमा बोक्न पनि सहज रहेको छ ।

विगतको कार्डको डाटावेश पनि केन्द्रीय सर्भरमा नरहेकाले कार्ड प्रमाणिकरण गर्न समेत निकै समस्या थियो । कार्ड प्रमाणिकरण गर्ने कुनै विशेषता नभएकाले अध्यागमन लगायतका कार्ड देखाउनुपर्ने स्थानमा आँखाले हेरेको भरमा मात्र पत्याएर प्रमाणिकरण गर्नुपर्ने अवस्था थियो । नयाँ कार्डको सम्पूर्ण विवरण केन्द्रीय सर्भरमा रहेको र अध्यागमनका अधिकारी वा अन्य सरकारी अधिकारीले सहजै क्युआरकोर्ड स्क्यान गरेर कार्डको विवरण हेर्न वा प्रमाणिकरण गर्नसक्ने जनाइएको छ ।

अमेरिकामा रहेको नेपाली दूतावास

पूरानो डिजाइनको कार्ड लिएकाले के गर्ने ?

पूरानो डिजाइनको कार्ड लिएकाहरुको सन्दर्भमा एनआरएन कार्डमा तोकिएको म्यादसम्म उक्त कार्डले नै काम गर्ने भएकाले नयाँ कार्ड लिन अनिवार्य नभएको वासिंटन डिसीमा रहेको नेपाली दूतावासका इकोनोमिक काउन्सिलर होमकान्त भण्डारीले जानकारी दिनुभयो । तर उनीहरुले नयाँ डिजाइनको कार्ड लिन चाहेको खण्डमा भने पूरै शुल्क तिरेर लिनसक्ने दूतावासले जानकारी दिएको छ ।

विदेशको नागरिकता लिएका नेपालीहरुले एनआरएन कार्ड लिनका लागि अमेरिकामा ५२० डलर शुल्क तिर्नुपर्छ । पूरानै कार्ड भएका तर नयाँ स्मार्ट कार्ड लिन चाहनेले उक्त शुल्क पूरै तिरेर नयाँ आवेदन दिएर नयाँ कार्ड प्राप्त गर्न सक्नेछन् । सबै विवरणहरु डिजिटल डाटावेशमा राख्नुपर्ने भएकाले पहिले कार्ड भएकाले समेत नयाँ डिजाइनको कार्ड लिन चाहेमा नयाँ आवेदन सरह नै प्रकृया अगाडि बढाउनुपर्ने न्युयोर्कको नेपाली महावाणिज्यदूतावासका वाणिज्यदूत गणेश प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

नयाँ डिजाइनको कार्ड लिंदा त्यसको म्याद पनि १० बर्ष नै कायम गरिनेछ । अर्थात विगतमा एनआरएन कार्ड लिएका वा नलिएका सबैले अहिले नयाँ कार्डका लागि आवेदन दिएको खण्डमा १० बर्षको अर्थात् २०३३ सम्मको म्याद भएको एनआरएन कार्ड प्राप्त गर्नेछन् । एनआरएन कार्ड एकातिर नेपाली र अर्कोतिर अँग्रेजी भाषामा रहेको छ ।

न्युयोर्कमा रहेको नेपाली महावणिज्यदूतावास

एनआरएन कार्डका फाइदा के के हुन् ?

एनआरएन कार्ड धारकहरूले नेपालमा विमानस्थलमा अराइभलमा पर्यटक भिसा निशुल्क पाउँछन्। एकपटक एनआरएन कार्ड लिएपछि उक्त कार्डको म्याद रहेको अवधि अर्थात् १० बर्षसम्म नेपाल जाँदा भिसा शुल्क तिर्नुपर्दैन ।

त्यस्तै एनआरएन कार्ड हुनेहरुलाई उक्त कार्डको म्याद रहँदासम्म नेपालमा भिसा थपेर बस्दा अन्य विदेशी पासपोर्ट हुनेहरुलाई जस्तो प्रतिबन्ध लाग्दैन । त्यसका लागि एनआरएन भिसा लिनुपर्छ, जुन एकबर्षको हुन्छ र हरेक बर्ष थप्न सकिन्छ । यो भिसा अध्यागमन विभाग वा विमानस्थलबाट जारी हुन्छ । नेपाल प्रवेश गरिसकेपछि निशुल्क एनआरएन भिसा लिन वा थप्न अध्यागमन विभागमा सम्पर्क गर्नुपर्छ ।

नेपाली अध्यागमन विभागले उपलब्ध गराएको अन अराइभल भिसा प्राप्त गर्ने पर्यटकहरू कुनै पनि क्यालेन्डर वर्षमा १५० दिनभन्दा बढी बस्न पाउदैनन् । भिसा १५, ३० वा ९० दिनको मात्र दिइन्छ । काठमाडौंस्थित अध्यागमन कार्यालयमा भिसा थप गरेर पनि क्यालेन्डर वर्षमा १५० दिनभन्दा बढी बस्न पाइदैन । तर एनआरएन कार्ड लिनेहरुलाई यो नियम लागु हुदैन । उनीहरुसँगको १० बर्षको म्याद भएको कार्ड छ भने उनीहरु १० बर्ष नै निशुल्क भिसा थप्दै बस्न पाउँछन् ।

एनआरएन कार्ड हुनेहरुले नेपालमा विदेशी मुद्रामा बैंक खाता खोल्ने अधिकार पाउँछन् भने विदेशी मुद्रामा लगानी गर्न समेत पाउँछन् । सोही मुद्रामा लगानी गरेमा नेपालबाट आएको लगानीको रकम परिवर्ती विदेशी मुद्रामा फिर्ता गर्ने व्यवस्था रहेको छ ।

एनआरएनए उपनियममा उल्लेख गरिएको क्षेत्रमा सीमित हदसम्म जग्गाको खरिद बिक्री गर्न पाउँछन् भने नेपालमा पैतृक सम्पत्तिको उत्तराधिकार र त्यस सम्पत्तिको स्वामित्व पनि पाउँछन् । नेपाली मूलका विदेशी नागरिकले नेपालभित्र बसोबास गर्नका लागि आफ्नो वा आफ्नो परिवारको निमित्त तोकिएका कुनै एक क्षेत्रमा देहाय बमोजिमको क्षेत्रफलमा नबढ्ने गरी जग्गा वा अन्य अचल सम्पत्ति खरिद गर्न सकछन् । जसमा काठमाडौं उपत्यकाभित्र बढीमा दुई रोपनी, तराईका जिल्लाका नगरपालिका क्षेत्रभित्र बढीमा आठ कठ्ठा, बाहेकका अन्य जिल्लाका नगरपालिका क्षेत्रभित्र बढीमा चार रोपनी, तराईका जिल्लाका नगरपालिका क्षेत्रबाहेकका बाहेकका तराईका जिल्लाका गाउँ विकास समिति क्षेत्रभित्र बढीमा एक विगाहा र यी बाहेकका अन्य क्षेत्रमा बढीमा दश रोपनीसम्म जग्गा खरिद गर्न सकिन्छ ।

त्यस्तै गैरआवासीय नेपाली ऐन र नियमावली अनुसार एनआरएन कार्ड हुनेहरुले नेपालको नागरिक हुँदाकै बखत आफ्नो स्वामित्वमा रहेको सम्पत्ति पनि राख्न सक्छन् ।

लगानीको एनआरएन कार्ड हुनेलाई प्रारम्भिक पूँजीमा कर छुटको व्यवस्था रहेको छ । एनआरएनका नजिकका आफन्तहरूलाई व्यक्तिगत खर्चको लागि एक आर्थिक वर्षमा १५ लाख रुपैयाँसम्म रेमिट्यान्समा लगानी कर छुटको प्रमाणपत्र समेत पाउँछन् । सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक, परोपकार, खेलकुद र विपद् राहत परियोजनाहरूको लागि औपचारिक बैंकिङ च्यानल मार्फत रेमिट गरिएको रकममा कर छुट समेत पाउँछन् ।

त्यस्तै एनआरएन कार्ड हुनेहरुले उद्योग र व्यवसाय स्थापना गर्ने र विदेशीहरूले उपभोग गरेको लगानी सुविधाको उपभोग गर्ने अधिकार समेत पाउँछन् ।

अमेरिकी नागरिकता लिने नेपाली झण्डै ६० हजार तर एनआरएन कार्ड लिनेहरु ४ हजारभन्दा कम

अमेरिकी नागरिकता लिने नेपालीहरु झण्डै ६० हजारको हाराहारीमा रहेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक छ । तर एनआरएन कार्ड लिने नेपालीहरुको संख्या भने अत्यन्तै कम रहेको छ । वासिंटन डिसीमा रहेको नेपाली दूतावास र न्युयोर्कमा रहेको नेपाली महावाणिज्य दूतावासले अमेरिकामा एनआरएन कार्ड लिने नेपालीहरुको यकिन नम्बर उपलब्ध गराउन सकेन ।

तर वासिंटन डिसीबाट झण्डै ३ हजारले र न्युयोर्कबाट एकहजारभन्दा कमले एनआरएन कार्ड लिएको तथ्यांक रहेको छ । डिसेम्बरबाट नयाँ डिजाइनको कार्ड जारी गर्न सुरु गरेयताका २ महिनामामात्र झण्डै १५० जनाले न्युयोर्कमा रहेको महावािणज्यदूतावासबाट एनआरएन कार्ड लिएका छन् । विगत एकबर्षदेखि एनआरएन कार्ड लिनेहरुको संख्यामा केही बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

संविधानमा एनआरएन नागरिकताको व्यवस्था भएकाले अमेरिकी नागरिकता लिएका कैयन नेपालीहरुले नागरिकता ऐन बनेर एकैपटक एनआरएन नागरिकता नै लिने प्रतिक्षा गरेका कारण पनि एनआरएन कार्ड नलिएको विश्लेषण गरिएको छ । तर एनआरएन नागरिकताको व्यवस्थासहितको नागरिकता ऐन ७ बर्षसम्म पारित हुन नसक्दा न उनीहरुको हातमा एनआरएन कार्ड छ, न त एनआरएन नागरिकता नै । जसका कारण विदेशको नागरिकता लिएका नेपालीहरुले एनआरएनले पाउने कैयन सुविधाबाट वञ्चित भइरहेका छन् ।

अमेरिकी पासपोर्ट

कुन बर्ष कति नेपालीले लिए अमेरिकी नागरिकता ?

विगत केही बर्षदेखि अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । जसका कारण अमेरिकी नागरिकता लिएका नेपाली अमेरिकनहरुको संख्या ६० हजार नाघिसकेको छ । आर्थिक बर्ष २०२१ मा ७ हजार ३ सय ३२ र २०२० मा ५ हजार ७ सय ९४ नेपालीहरुले अमेरिकाको नागरिकता लिएपछि नागरिकता लिनेहरुको संख्या ६० हजारको हाराहारीमा पुगेको हो । त्यसमा २०२२ मा नागरिकता लिनेहरुको संख्या समेत जोड्दा अझ धेरै हुन आउँछ ।

सुरुदेखि सन् २०१५ सम्मको तथ्यांक हेर्दा २५ हजार ३ सय ९९ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका थिए भने त्यसपछिको ५ बर्षमा २७ हजार ८० जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका थिए ।

सन् २०१५ भन्दा अगाडिका ३० बर्षमा अमेरिकाको नागरिकता लिने नेपालीहरुको संख्याभन्दा २०१५ पछिका ५ बर्षमा अमेरिकाको नागरिकता लिने नेपालीहरुको संख्या धेरै रहेको छ ।

आर्थिक बर्ष सन् २०१९ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ७ हजार ४ सय ९ रहेको थियो । जसमा ३ हजार ५ सय ७७ जना महिला र ३ हजार ८ सय ३२ जना पुरुष रहेका थिए । उनीहरुमध्ये ८१० जना न्युयोर्क निवासी, १२०४ जना टेक्सास निवासी र ६०१ जना क्यालिफोर्निया निवासी रहेका थिए ।

सन् २०१८ मा अमेरिकाभर ५३५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए  । त्यतीबेला सबैभन्दा धेरै न्युयोर्क निवासी ७१८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए भने दोश्रोमा टेक्सास निवासी ५७० र तेश्रोमा क्यालिफोर्निया निवासी ५३४ जना रहेका थिए ।

त्यस्तै सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । त्यतीबेला न्युयोर्क निवासी ५६० र क्यालिफोर्निया निवासी ५२० जना रहेका थिए । सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । जसमध्ये न्युयोर्क निवासी ६२९ जना रहेका थिए भने उक्त बर्ष सबैभन्दा धेरै टेक्सास निवासी ६५५ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए ।

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।

त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

१ लाखभन्दा धेरै नेपालीहरु ग्रिनकार्डमा

अमेरिकामा १ लाखभन्दा धेरै नेपालीहरु अझै पनि ग्रिनकार्डमा रहेका छन् । उनीहरुले केहीले अमेरिकी नागरिकताका लागि योग्य भइसकेपछि पनि अमेरिकी नागरिकता नलिएर नेपाली नागरिकता र पासपोर्ट नै कायम राखिरहेका छन् भने केही आगामी बर्षहरुमा अमेरिकी नागरिकताका लागि योग्य हुँदैछन् । सामान्यतया अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेको ५ बर्षपछि अमेरिकी नागरिकता प्राप्त गर्न सकिन्छ । तर अमेरिकी नागरिकसँग विवाह गरेको खण्डमा वा अमेरिकी सेनामा गएको खण्डमा भने छिटोपनि अमेरिकी नागरिकता प्राप्त गर्न सकिन्छ ।

आर्थिक बर्ष २०२१ मा अमेरिकामा ७ हजार ३ सय ९ जना नेपालीहरुलेमात्र ग्रिनकार्ड प्राप्त गरेका छन् । जसमध्ये सबैभन्दा धेरै टेक्सासमा १२१३ जना रहेका छन् । गतबर्ष ग्रिनकार्ड पाउने नेपालीहरु न्युयोर्कमा ८५५ र क्यालिफोर्नियामा ८०५ जना रहेका छन् ।

कोरोना महामारीका बाबजुत आर्थिक बर्ष २०२० मा अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ७ हजार ८ सय ४७ रहेको थियो । जसमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिकका दम्पत्ति, २१ बर्ष ननाघेका छोराछोरीहरु र बाबुआमाहरु १८६२ जना, परिवारमा आधारित अन्य श्रेणीका ७५४ जना, रोजगारमा आधारित १७७५ जना, डिभीमा आधारित १८२८ जना, एसाइलममा आधारित १६१६ जना र अन्य १२ जना रहेका छन् ।

आर्थिक बर्ष २०२० मा ग्रिनकार्ड पाउनेमा सबैभन्दा धेरै टेक्सास निवासी १०९४ जना रहेका छन् । क्यालिफोर्निया निवासी ८३२ जना र तेश्रोमा न्युयोर्क निवासी ७२७ जना रहेका छन् । आर्थिक बर्ष २०१९ मा पनि कुल १० हजार २ सय १ जना नेपालीले ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी सबैभन्दा धेरै १४८१ जना रहेका थिए भने न्युयोर्क निवासी ११९९ र क्यालिफोर्निया निवासी १०२५ जना रहेका थिए ।

आर्थिक बर्ष २०१८ मा अमेरिकामा ११ हजार ९ सय ५३ जना नेपालीले ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी १५२३, न्युयोर्क निवासी १३९३ र क्यालिफोर्निया निवासी ११७२ रहेका थिए । त्यस्तै आर्थिक बर्ष २०१७ मा अमेरिकामा ११ हजार ६ सय १० जना नेपालीले ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी १६०९, न्युयोर्क निवासी १३४५ र क्यालिफोर्निया निवासी १११७ जना नेपाली रहेका थिए ।

आर्थिक बर्ष २०१६ मा अमेरिकामा १२ हजार ८ सय ५१ जना नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका थिए । जसमध्ये टेक्सास निवासी १७९७, न्युयोर्क निवासी १६९३ र क्यालिफोर्निया निवासी १२६७ जना रहेका थिए । आर्थिक बर्ष २०१५ मा अमेरिकामा १२ हजार ९ सय २६ जना नेपालीले ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी १७९१, न्युयोर्क निवासी १६४६ र क्यालिफोर्निया निवासी १११७ जना रहेका थिए ।

आर्थिक बर्ष २०१४ मा १२ हजार ३ सय ५७ नेपालीले अमेरिकामा ग्रिनकार्ड पाएकोमा टेक्सास निवासी १७७९, न्युयोर्क निवासी १५२६ र क्यालिफोर्निया निवासी १११९ जना रहेका थिए । खासगरी आर्थिक बर्ष २०१४ देखि ग्रिनकार्ड पाउने नेपालीहरुको संख्यामा टेक्सास निवासी नेपालीहरु पहिलो नम्बरमा रहेका छन् ।

त्यस्तै आर्थिक बर्ष २०१३ मा अमेरिकामा १३ हजार ४८ जना नेपालीहरुले ग्रिनकार्ड प्राप्त गरेकोमा न्युयोर्क निवासी १७०२, टेक्सास निवासी १६३२ र क्यालिफोर्निया निवासी १२७४ जना रहेका थिए । त्यस्तै आर्थिक बर्ष २०१२ मा अमेरिकामा ११ हजार ३ सय १२ जना नेपालीहरुले ग्रिनकार्ड पाएकोमा न्युयोर्क निवासी १४८६, टेक्सास निवासी १३६७ र क्यालिफोर्निया निवासी ९१६ जना रहेका थिए । आर्थिक बर्ष २०११ मा १० हजार १ सय ६६ नेपालीहरुले अमेरिकाको ग्रिनकार्ड पाएका थिए ।

आर्थिक बर्ष सन् २०११ देखि सन् २०२१ सम्म अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या १ लाख २१ हजार ५ सय ७८ रहेको छ । जसमा सबैभन्दा धेरै टेक्सास निवासी रहेका छन् ।

सन् १९८९ देखि सन् २००२ सम्म ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ५ हजार ७ सय ७८ रहेको छ । त्यस्तै आर्थिक बर्ष सन् २००३ देखि सन् २०१० सम्म अमेरिकाको ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या ३१ हजार २२ रहेको छ ।

यसरी अमेरिकामा ग्रिनकार्ड पाउने नेपालीहरुको संख्या १ लाख ६० हजार नाघिसकेको छ । जसमध्ये झण्डै ६० हजारले अमेरिकाको नागरिकता लिइसकेका छन् भने १ लाख भन्दा धेरै अझै पनि ग्रिनकार्डमा नै रहेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com