ब्युँत्याइँदै प्रचण्डपथ


प्रकाशित मिति : श्रावण ७, २०७४ शनिबार

श्रावण ७, २०७४- तत्कालीन नेकपा एकता केन्द्रसित मिल्ने क्रममा माओवादीले नौ वर्षअघि छाडेको ‘प्रचण्डपथ’ ब्युँताउने प्रयास सुरु भएको छ। राजधानीको पेरिसडाँडामा पाँच दिनदेखि जारी माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा बिहीबार र शुक्रबार बोल्ने अधिकांश नेताले पार्टीलाई बाँध्ने ‘वैचारिक हतियार’ हराएको भन्दै अब प्रचण्डपथमा फर्कनुपर्ने माग गरेका हुन्।

तत्कालीन भूमिगत माओवादीले २०५७ माघमा भारतको नोयडामा गरेको दोस्रो राष्ट्रिय सम्मेलनबाट पास गरेको प्रचण्डपथ २०६५ मा नारायणकाजी श्रेष्ठ पक्षसित एकताका लागि स्थगित गरेका कारण आजको रक्षात्मक अवस्थामा पुग्नुपरेको समीक्षासमेत उनीहरूले गरे। प्रचण्डपथको आलोचक पंक्तिले भने नेतृत्वको चाकडी गर्न यो बहस ल्याइएको आरोप लगाएको छ। योसँगै माओवादीभित्रको आन्तरिक असन्तुष्टि प्रचण्डपथमाथिको ‘सैद्धान्तिक बहस’ को आवरणमा छताछुल्ल भएको छ।

‘प्रचण्डपथमा फर्कौंं भन्नुको अर्थ मैले इतिहासको गाडीलाई पछाडि फर्काऔं भनेको होइन, तर विचार संश्लेषणका लागि ढिलाइ हुँदै छ,’ नेता अग्निप्रसाद सापकोटाले बैठकमा भने, ‘प्रचण्डपथ व्यक्ति प्रचण्डको सम्पत्ति होइन, सबैको योगदानबाट प्राप्त भएको महान् संश्लेषण थियो, त्यसलाई आजको परिवर्तित अवस्थामा विकास गर्दै जाने हो, छाड्ने होइन।’ प्रचण्डपथ पुन:स्थापनाका प्रस्तावक नेता सापकोटा माओवादीमा मोहन वैद्य, बाबुराम भट्टराईबीच मतान्तर रहेकै कालसमेत अध्यक्ष पुष्पकमल दाहालनिकट मानिन्थे।

सापकोटाको प्रस्तावलाई कृष्णबहादुर महरा, हरिबोल गजुरेल, मणि थापा, रेखा शर्मा, गणेशमान पुन, हितराज पाण्डेलगायतले समर्थन गरेका छन्। उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका महराले बैठकमा बोल्दै विचार संश्लेषणमा पार्टी पछि पर्दै गएको भन्दै प्रचण्डपथको औचित्यमाथि बोले। ‘त्यसबेला कार्यनीतिक फाइदाका लागि पार्टीले अघि सारेका प्रस्थापना छाड्ने काम भयो,’ महरालाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘अब त्यसलाई सच्याएर नयाँ पार्टी र कम्युनिस्ट आन्दोलनको विकास गर्ने हो भने प्रचण्डपथमा जाऔं।’

माओवादी केन्द्रभित्र अध्यक्ष दाहाल निकट मानिने नेताहरूबाट यो विचार शृंखलाबद्ध रूपमा प्रकट हुनुलाई अर्का नेता नारायणकाजी श्रेष्ठ पक्षले निको मानेको छैन। एक नेताको भनाइमा अध्यक्ष दाहाललाई प्राधिकार घोषणा गर्ने यो योजनाबद्ध प्रयास हो। नेतापिच्छे प्रचण्डपथ उच्चारण हुँदै गर्दा शुक्रबारको बैठकमा बोलेका श्रेष्ठले भने त्यो शब्दै उच्चारण गरेनन्, बरु नेतृत्वको अतिरन्जित मूल्यांकन भइरहेको भन्दै आपत्ति जनाए। उनले अध्यक्ष दाहालको नेतृत्व सकार्न अप्ठ्यारो नरहेको भन्दै उनमा खोट नदेख्ने, बाँकी सबलाई दाहालले मात्रै डन्डा हान्न पाउने छुट पाउन नहुने मत राखेपछि आन्तरिक तनाव सतहमा आयो।
‘प्रचण्डलाई नेता मान्न कुनै समस्या छैन, तर उहाँको कुनै कमजोरी छैन, अरूको मात्रै कमजोरी हो, उहाँले मात्रै डन्डा हान्ने हो। त्यो नगर्दा पार्टी बिग्रेको भन्ने हुन्छ?,’ उनले प्रश्न गरे, ‘अध्यक्षकै रूपान्तरण पहिलो आवश्यकता हो। अध्यक्षबाहेकको मात्रै कमजोरी हो भन्ने गरियो भने उचित हुँदैन।’ नेता मानियो भन्दैमा दाहाललाई सधैं अध्यक्ष राखिराख्नुपर्छ भन्ने कहीं नभएको श्रेष्ठले खुलेरै व्यक्त गरे।

दाहालनिकट नेताहरूले प्रचण्डपथ पुन:स्थापित गर्ने माग गर्दैगर्दा श्रेष्ठनिकट नेताहरूले विरोध गरे। श्रेष्ठनिकट अर्का नेता गिरिराजमणि पोखरेलले प्रचण्डपथ ब्युँताउने बहसतिर लागेको खण्डमा पार्टी थप ओरालो लाग्ने बताए। विचार संश्लेषण आवश्यक छ भन्दैमा व्यक्ति पूजामै फर्कनु उचित नहुने तर्क गरे। अमिक शेरचन, टंक राईलगायत नेताले बोले पनि प्रचण्डपथबारे उनीहरू तटस्थ बसे।

दाहालनिकट नेताहरूको भनाइमा माओवादीलाई सखाप पारेको गुटबन्दीले हो, अनि गुटबन्दी बढेको चाहिँ वैचारिक मियो नभएर। उनीहरूले प्रचण्डपथको पुनर्जागरणमार्फत गुटबन्दी सिध्याउनुपर्ने तर्क गरे। कांग्रेस र एमालेभन्दा माओवादी भिन्न हो भन्ने पुष्टि गर्न पनि प्रचण्डपथ र एक्काइसौं शताब्दीमा जनवादको विकास (एशज) बारे अवधारणा अघि सार्नुपर्ने ती नेताहरूको तर्क छ। ‘सबैको मिहिनेतले आएको प्रचण्डपथ र ‘एशज’ सम्बन्धी पथप्रदर्शक विचारलाई कार्यनीतिक फाइदाका लागि स्थगन गर्दा तत्काल त फाइदा भयो होला, तर आज परिणाममा घाटा भयो,’ नेता सापकोटाले भने, ‘प्रचण्डपथ र एशजले माक्र्सवाद, लेनिनवाद र माओवादभन्दा अघि बढ्ने साहस गरेका छन्। त्यसलाई छाड्ने हँुदा आज कहाँ हिँडेको, कहाँ पुगियो भनेजस्तो भएको छ।’

सबै नेताबाट बिग्रियो भन्नेमात्रै गुनासो आएकाले अब सुधार्ने उपाय खोज्न प्रचण्डपथमा जानुपर्ने तर्क दाहालनिकट नेताको छ। असन्तुष्ट नेताहरूले दाहाल निकट नेताहरूमा युद्धकालीन धङधङी र व्यक्ति पूजाको संस्कार जीवित रहेको भन्दै पार्टीको सामूहिक ‘स्पिरिट’ लाई कमजोर बनाउन आएको धारणा भनी आरोपित गरे। दाहाल निकट नेताहरूले भने युद्धकालमा जाने नभई पार्टीको सैद्धान्तिक गाइड लाइन निर्माण गर्ने प्रस्ताव गर्नु अनुचित नभएको तर्क गरे। ‘हामीले माओवाद मान्दा पनि माओका सबै शैली जस्ताको तस्तै मानेका थिएनौं, त्यस्तै प्रचण्डपथको रूप होइन सार मान्ने हो,’ अर्का एक नेताले भने, ‘यो बैठकबाट विचार ब्युँझाउने अभियान सशक्त रूपमा सुरु भएको घोषणा गरौं। चुनाव हारको कारण खोतलियो, अब सुधार्ने हो भने नैतिकता र मान्यता पुन:स्थापना गरौं।’

‘प्रचण्डले पढ्न छाडे’

माओवादी नेताहरूले पार्टीभित्र अध्ययन–चिन्तनमा उल्लेख्य ह्रास आएको भन्दै आपत्ति जनाए। युद्धकालमा अध्यक्ष दाहालसहित नेताहरू अध्ययन र पुस्तक, दस्ताबेज लेखनमा सक्रिय रहने गरेको विगत सम्झाउँदै उनीहरूले आजभोलि नेताहरूको दिनचर्या बिहानदेखि रातिसम्मै भेटघाटमा बित्ने गरेको गुनासो गरे। बोल्ने प्राय: सबै नेताहरूले दाहालले हिजोआज पढ्न छाडेकाले अरू नेतालाई पनि मतलब नभएको आरोप लगाए। ‘अध्यक्ष कमरेड पहिले आफैं बिहान र बेलुका निश्चित घण्टा छुट्याएर पढ्नुहुन्थ्यो, आजकल त्यस्तो नगरेको धेरै भयो,’ सहभागी एक नेताले भने, ‘अध्यक्षले नै लत्तो छाडेपछि अरूलाई पनि के मतलब? वैचारिक काम छाडेर दैनन्दिन घटनाका पछि लाग्ने हुँदा पार्टी संस्कृतिमा ह्रास आयो। आजको पराजयका पछाडि आजको कारण मात्रै खोजेर हुँदैन, यी सबै आयाममा जानुपर्छ।’

नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र उठेका बहसहरूलाई अहिल्यै संश्लेषण गर्न नसकिने भन्दै तीन चरणका चुनावपछि हुने पार्टी महाधिवेशनमार्फत ‘ग्रेट डिबेट’ थाल्नुपर्ने तर्क गरे। ‘हाम्रो पार्टी यो अवस्थामा किन पुग्यो, मुख्य समस्या के हो?’ श्रेष्ठले भने, ‘पार्टीको आधारभूत लाइन क्रान्तिकारी जस्तो देखिन्छ, तर व्यवहार पूरै बुर्जुवा छ। वैचारिक लाइन ठीकठीकै छ, तर पार्टीभित्र बहस, अध्ययन पूरै छुटेको छ। समाधान खोज्ने हो भने अब महान् बहस र नयाँ सर्वहारा सांस्कृतिक क्रान्तिको अभियान चलाउनुपर्छ।’ साउन २ देखि जारी सचिवालय बैठकमा उठेका विषयहरूको जवाफ शनिबार अध्यक्ष दाहालले दिनेछन्। बैठकमा सहभागी नेतामध्ये रामबहादुर थापाले मात्रै बोल्न बाँकी छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com