नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सल्लाहकार लामिछानेको कोलोराडोमा निधन


प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार

नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सल्लाहकार तथा प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निभाएका व्यक्तित्व अमेरिका निवासी बुद्धिप्रसाद लामिछानेको कोलोराडोमा निधन भएको छ । ५९ बर्षीय लामिछानेको बिहिबार बेलुका निधन भएको नेपाली जनसम्पर्क समिति अमेरिकाले जानकारी दिएको छ ।

केहीपहिले झण्डै एकमहिना अस्पतालको उपचारपछि घर फर्किनुभएका लामिछाने झण्डै एकसाता अगाडि पुन अस्पताल भर्ना हुनुभएको थियो । श्रीमति, तीन छोरी र एक छोरासहित अमेरिका बस्दै आउनुभएका लामिछाने एनआरएन अमेरिकाका पूर्व सल्लाहकार समेत हुनुहुन्थ्यो ।

नेपाल विद्यार्थी संघ गोरखाको सभापति, नेपाली काँग्रेस गोरखाका सचिव हुदै पार्टी सभापति समेत हुनुभएका लामिछाने लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सकृय रहदै आउनुभएको थियो । झण्डै डेढदशक पहिले अमेरिका बसाई सर्नुभएका लामिछाने अमेरिकामा विभिन्न सामाजिक गतिविधिमा संलग्न रहदै आउनुभएको थियो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले लामिछानेको देहवसानको खबरले समिति स्तब्ध भएको बताउनुभएको छ । उहाँले यस दुखद घडीमा अभिभावक नेता लामिछानेको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्नुभएको छ । साथै शोकाकूल सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य गोविन्द लम्सालले लामिछानेको निधनप्रति दुख व्यक्त गर्दै भन्नुभयो – ‘हामीले अभिभावक गुमाएका छौं । काँग्रेसका जुनसुकै आन्दोलनमा पनि अग्रणी भूमिका निर्वाह गरेका व्यक्तिको निधनले अपूरणीय क्षति भएको छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com