बाँकेको नेपालगञ्जमा खोपको प्रयोग नगर्दा दादुराले प्रकोपको रुप लिँदै


प्रकाशित मिति : पुस २५, २०७९ सोमबार

बाँकेको नेपालगञ्जमा दादुराका बिरामीको सङ्ख्या आज दिउँसोसम्म ८० जना पुगेका छन् । दादुराका २८ प्रतिशत बिरामीले दादुराविरुद्धको खोप प्रयोग नगरेको पाइएको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार ८० बिरामीमध्ये खोप नलिने २३ जना रहेका छन् । खोपको एकमात्रा लिने ३३ र दुई मात्रा लिने १२ बिरामी छन् । उहाँका अनुसार १२ बिरामीबारे कुनै जानकारी छैन ।

उहाँले दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कूल बिरामीको सङ्ख्यामा २८ प्रतिशत बिरामीले खोप लगाएका छैनन्, खोप लगाउनु हुँदैन भन्ने समुदायको धारणाले उहाँहरु खोपबाट बञ्चित भएको देखिएको छ ।”

उहाँले आजदेखि खोप लगाउने काम सुरु भएको समेत बताउनुभयो । “प्रकोप फैलिएपछि सबैको ध्यानार्कषण भएको छ, धर्मगुरु र समुदायसँग बसेर आइतबार छलफल भएको थियो, उहाँहरुले भनेको स्थानमा आजदेखि खोप लगाउन सुरु गरिएको छ”, उहाँले भन्नुभयो ।

हरेक वर्ष केही प्रतिशत बालबालिका पूर्ण मात्राको खोप लगाउन छुटेका छन् । उहाँले भन्नुभयो, “खोपको कभरेज धेरै देखिए पनि खोप नलगाएको असुरक्षित समूह बढ्दै जान्छ, असुरक्षित समूह धेरै भएपछि दादुरा प्रकोपका रुपमा देखिने गरेको छ ।”

बाँकेमा खोपको स्थितिलाई हेर्दा आर्थिक वर्ष २०७८/७९ मा दादुराविरुद्धको पहिलो मात्रा लगाउने ९८ प्रतिशत छन् भने दोस्रो मात्रा लगाउने ९५ प्रतिशत छन् । आव २०७७/७८ मा दुवै मात्रा खोप लगाउने ९२ प्रतिशत छन् । आव २०७६/७७ मा ९० प्रतिशतले पहिलो मात्रा र दोस्रो मात्रा लगाउने ७९ प्रतिशत छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com