Follow @khasokhasmag

नायक र खलनायक


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

– डा. प्रकाशचन्द्र लोहनी
जुनसुकै यथार्थताभित्र त्यसलाई चालु राख्ने बुझाइ या वृत्तान्त जरुरी रहन्छ । सायद यसको राम्रो उदाहरण सिनेमामा देखिन्छ । त्यहाँ एउटा नायक हुन्छ । ऊ गरिब हुन्छ, तर दु:ख गरेर पढ्छ, समाजसँग संघर्ष गर्छ, बीचमा प्रेममा फँस्छ र अलि अगाडि खलनायकसँग भिडन्त गर्छ र विजयी भएर आउँछ । यो र यस्तो अनेक यथार्थताको बुझाइ व्यक्ति, समाज र राष्ट्रको जीवनमा जोडिएर आउँछ । हाम्रैमा हेरौं, हाम्रो राजनीतिमा धर्मनिरपेक्षतालाई अग्रगमन भनिन्छ । अनि जसले त्यसको समर्थन गरेन, त्यो प्रतिगामी ठहरिने भयो । अर्थात् धर्म निरपेक्षताको नारा दिने ‘नायक’ र यो नेपालको परिप्रेक्ष्यमा गलत हो भन्ने ‘खलनायक’ भयो । यद्यपि को नायक हो र को खलनायक हो भन्ने तथ्य इतिहासमा फेरिँदै जानु सामान्य हुन आउँछ । कतिपय हाम्रा बुझाइ चेतन मनमा स्पष्ट हुन्छन् भने कतिपय अचेतन मनबाटै निर्देशित हुने गर्छन् । उदाहरणका लागि फेरि देशको राजनीतिलाई हेरौं । हरेक प्रधानमन्त्रीले आफूलाई जनताको सेवक भन्छ । देशमा रोजगारी बढाउँछु, भ्रष्टाचार निर्मूल गर्छु, भागबन्डाको संस्कृति हटाउँछु र आर्थिक अनुशासन कायम गर्छु र नेपालको मुहार परिवर्तन गर्छु भन्छन् । यो भनाइमा अविश्वास पनि नगरौं । यो भन्दा राम्रै मनसायले बोलेको हुन्छ र सायद यतापट्टि केही गरेर देखाउने इच्छा पनि होला । तर यसको सुरु र अन्त्य राजनीतिको बुझाइमै भरपर्ने हुन आउँछ । सिनेमा जस्तै आफू नायक हुने इच्छा त भइहाल्छ । अनि सिनेमामा जस्तै खलनायकको खोजी हुन्छ । यस क्रममा आफूभित्र नायकमात्रै होइन, खलनायक पनि जमेर बसेको यथार्थ हराउँछ । त्यसैले इमानदारी र क्रान्तिको भाषण राजनीतिको नायकले गर्छ र उसभित्र के खलनायक सक्रिय भएपछि इमानदारीको नाममा भ्रष्टाचार र अग्रगमनको नाममा देशको सांस्कृतिक अस्तित्व र राष्ट्रिय स्वाभिमानलाई नै बन्धक राख्न कुनै गुनासो हुँदैन । तर आफूभित्रको खलनायक कसरी स्वीकार गर्ने ? स्वभावत: खलनायकको आफू बाहिर खोजी हुन्छ र केही नपाए एउटा कसैलाई खलनायकको रूपमा उभ्याउने जरुरत हुन आउँछ । अब सजिलो भयो । अब भन्न पाइयो : म नायकले गर्न खोजेको थिएँ, यी खलनायकले दिएनन् । यस क्रममा आफूभित्रको खलनायकलाई सम्झन पर्ने भएन । जति भ्रष्टाचार र दुराचार गरे पनि त्यसले अब पिर्ने भएन । त्यसैले हाम्रो देशमा कुनै नेताले आफ्नो चारित्रिक पतन या कमजोरी देख्दैनन् । सधैं आफू नायक भएको र खलनायक अरूलाई देख्छन् या नदेखे खडा गर्छन् । वास्तविक खलनायक आफूभित्रै हुनसक्ने महसुस गर्दैनन् ।

मेट्रो रेलको सपना र ज्यान लिने खाल्डो
नायक र खलनायकको वृत्तान्त देशको राज्य संरचनामा व्याप्त छ । सरकारमा बस्ने मन्त्रीहरू आफूलाई जनसमर्पित नायकको रूपमा प्रस्तुत गर्छन् । तर नायकले आफ्नो काम गर्न नसक्नुमा प्रशासन र कर्मचारीतन्त्रलाई खलनायक देखाउँछन् । काठमाडौंमा मेट्रो रेलको सपना नायकको गर्व हो । तर त्यही बाटोमा वर्षाको भलबाट झन्डै मृत्यु भएकी बच्चीको पीडा खलनायकको काम हुन आउँछ र यसमा नायक आफूलाई दोषी ठान्दैन । कल्पनामा मेट्रो रेल बनाउने सपनाभन्दा पहिलो काठमाडौंको सडक टाल्ने र यहाँ धुलो–धुवाँ घटाएर जनतालाई राहत दिउँ भन्ने काममा ठूला नायकहरूलाई महत्त्व छैन । मेट्रो रेलको सपना र मान्छे डुबाउने पानीको खाल्डो बीचको दूरी किन घट्दैन भन्ने कुरो कसैको चासोको विषय रहेन ।
विकास बजेटकै कुरो लिउँ, विडम्बना छ : यो वर्ष विकास बजेट सरकारले अरू वर्षसरह पनि खर्च गर्नसकेको छैन । बजेट सुधारका ठूला–ठूला ठेली लेखिएका ठूला पदका सबैलाई थाहा छ, तर ती सुझावको निरन्तर उपेक्षा हुन्छ र राज्यकोषलाई झन्डै निजी सम्पत्ति सम्झने भ्रष्ट सरकारले निरन्तर मलजल पाउँछ र यी व्यवहारको दोष नायकले लिँदैन । एउटा खलनायकको खोजी हुन्छ र ‘अग्रगमनका बाधक’ को नयाँ नाराको आडमा नयाँ खलनायक खडा गरिन्छ । अब नायकलाई सजिलो भयो । जति बेइमानी र भ्रष्टाचार गरे पनि एउटा नयाँ खलनायकको कल्पना कोरेर सबै दोष त्यसलाई थोपरेर आफू अग्रगामी भएको सन्देश प्रसार गर्न पायो ।

नायकभित्रको खलनायक
वास्तवमा न कोही नायक छ या खलनायक । हामी सबैभित्र नायक र खलनायक रहेको छ । जब हामी आफूभित्रको खलनायक खोज्ने प्रयास छाड्छौं, अनि बाहिर नयाँ खलनायक खडा गर्नुपर्ने स्थिति आउँछ । बाहिर खलनायक खडा गरेमात्र पछि आफू नायक भएको कुरो स्थापित हुने भयो । आज हाम्रो स्थिति यस्तै छ । देशभित्र सबै आफूलाई नायक सम्झने अर्काेलाई खलनायकको रूपमा देखाउन कस्सिएर लागेका छन् । किनभने यसले आफ्नो अक्षमता देश लुट्ने प्रयास लुकाउन मद्दत गर्छ । यसको पहिलो चरणमा ठूला–ठूला सपना बाँडिन्छ । सपनाको यो खेती जनताले चाँडो बुझिहाल्लान् भनेर सपना साकार हुन नदिने खलनायकहरूको सिर्जना गरिन्छ । अब खलनायकहरूसँग लड्ने नाममा देशभित्र लुट र शोषण अविरल चालु रहन्छ । यथार्थमा विस्तारै को नायक र को खलनायक भनेर छुट्याउनै गाह्रो पर्छ ।
नेपालमा आफूलाई नायक भन्नेहरूबाट नेपाली जनताले धेरै ठूलो अपेक्षा गरेका छैनन् । सामान्य कुरामा सुधार गर्ने प्रयास गरेमात्र पनि जनता खुसी हुनेछन् । यसको लागि ठूलो सपना बजारमा पेस गर्नु पर्दैन । काठमाडौंकै उदाहरण लिउँ । सत्तामा ठूला–ठूला सपना बेच्ने नायकहरूले अहिले काठमाडौं र यस्तै सहरी क्षेत्रको हिलो र धुलोबाट जनतालाई राहत दिने प्रयासमात्र गरे पनि प्रशंसनीय योगदान हुने थियो । हामीले भोगेका छौं । यो काम हुँदैन । तर बजेट सकिने दस दिन अगाडि खोलामा भेल आए जस्तो रकम निकासा हुन्छ । तर धुलो र हिलो हट्दैन । अब यसको लागि दोष दिन कस्तो खलनायक खडा गर्ने ?
सानो कामले ठूलो योगदान र प्रशंसा हुन्छ भन्ने कुरो लोडसेडिङ अन्त्य गर्ने प्रयास पनि हो । अलिकति जनताप्रति संवेदनशील भएर प्राधिकरणले व्यवस्थापकीय सुधार गर्दा जनताले राहत पाउन सक्दारहेछन् भन्ने यो उदाहरण हो । यस्ता प्रयास गर्नको साटो नेपालका नायक भन्नेहरू खलनायक उत्पादनमा मात्र व्यस्त छन् । प्रजातन्त्र र अग्रगमनको नारामा लुटतन्त्रलाई संस्थाकरण गर्दै यसको दोष अरूमाथि थोपर्न नयाँ खलनायकहरूको वृत्तान्त पेस गर्ने राजनीतिले हामीलाई गरिबमात्र नभएर संसारको सबैभन्दा गरिब देश बनाउनेछ । सिनेमाको ‘हिरो’ र ‘भिलेन’को वृत्तान्तलाई नै देशमा लुटतन्त्रको आधार बनाउने संस्कार अब छाड्ने बेला भइसकेको छ । अन्यथा अग्रगमन र प्रजातन्त्रको नाममा आफू कति पतन र अराजक भएर गएको तथ्य थाहा नहुने रहेछ । त्यसबखत अरूलाई खलनायक भनेर जोगिने स्थिति रहने छैन ।
मेट्रो रेलको दौडको गफमा राजधानीमा पानीले भरिएको सडकको खाल्डोमा परेर बिनिता फुयालले ज्यान गुमाइन् । यस्तो खालको यथार्थता आजको नेपाल हो । त्यस्तै देशको आधारजस्तो विकास बजेट वर्षको अन्त्यसम्ममा पनि खर्च नहुने तर आर्थिक वर्ष सकिने अन्तिम ३ दिनमा ४८ अर्ब खर्च हुने विडम्बना हाम्रो देशको शासनको यथार्थता हो । जहाँसम्म आम जनजीविका र रोजगारीको प्रश्न आउँछ, यो राज्यको दायित्व नै हुनछोडेको जस्तो देखापरेको छ । किनभने श्रम बजारमा आउने लाखौं युवाले देशभित्र बाँचेर काम पाउने आसै छोडिसकेका छन् । तन्नेरीहरू अरू देशको विकासका साधन बन्छन् । हामीकहाँ काम गर्ने हात–पाखुरा काम नपाएर विदेश धपिन बाध्य छन् । देशभित्र राजधानीमै हिलो र खाल्डोमा अब ज्यानको सुरक्षा छैन । तर यसको लागि को जिम्मेवार ? के यही हो, हाम्रो सपना ? सधैं अर्काको देशको लागि काम गर्ने, घरभित्र खाल्डोमा ज्यान भासिने र विप्रेषणबाट आएको राजस्वमा ब्रह्मलुट गर्ने ? तर सरकारको अहिलेको चासो भनेको देशबाट बढीभन्दा बढी युवा कसरी बाहिर पठाउने भन्ने बँुदामा सीमित भएको छ । यहाँ अब सिनेमामा जस्तो खलनायकको आवश्यकता रहेन । किनभने नायक नै अब भित्र र बाहिर सबैतिर खलनायकमा रूपान्तरित भएर अग्रगमन र विकासको गीत गाइरहेछन् ।

लोहनी एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष हुन् ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com