रोगको प्रकोपले रित्तियो खोटाङ लामीडाँडाको सुन्तला बगान


प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार

कुनैबेला खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा सुन्तला उत्पादनका लागि प्रख्यात थियो । हाँगो निहुराएर फल्ने सुन्तला लामीडाँडा विमानस्थलबाट काठमाडौं र विराटनगरसम्म पुग्थे ।

सुन्तला उत्पादनबाट लामीडाँडाका किसानले लोभलाग्दो आर्थिक उपार्जन गर्थे । लामीडाँडाको सयौं रोपनी जग्गामा लगाइएका सुन्तलाको हरियो झाङको दृश्य टाढा–टाढाबाट मनमोहक देखिन्थ्यो ।

किसानको मुख्य आय श्रोत तिनै रहरलाग्दो सुन्तला बगान थियो । तर विगत दशक यता लामीडाँडाका सुन्तला क्रमशः मर्न थाले । निरन्तर बोट मर्न थालेपछि ८र९ वर्षकै अवधिमा लामीडाँडामा सुन्तला बगान रित्तिएको स्थानीय शिवकुमार बिश्वकर्माले बताए । अहिले बगानमा सुन्तलाको मरिसकेका र केही मर्न लागेका बोट मात्र बाँकी छन् । सुन्तलाको बोटले हरियाली देखिने लामीडाँडाको नांगो बनेको छ । शहर बजारसम्म पुर्‍याएर सुन्तला बिक्री गरेर पैसा हात पार्ने किसान उल्टै सुन्तला किनेर चाख्नुपर्ने अवस्थामा पुगेका छन् ।

जिल्लाकै पुरानो बिमानस्थल रहेको लामीडाँडाका हरेक घरमा सुन्तला खेती थियो । प्रायः सबै घरमा कम्तीमा ३०–४० बोट सुन्तला लगाइएको थियो । रेवतीरमण पोखरेल, जयप्रसाद भट्टराई, ताराबहादुर श्रेष्ठ, गुञ्जबहादुर श्रेष्ठ, खिलाबहादुर श्रेष्ठ, लछुमन श्रेष्ठ, खिला राना मगर लगायत सुन्तला उत्पादनमा कहलिएका किसान थिए । तर अहिले सबैको बगान रित्तिएको छ । सुन्तलाको मरेका बोट ढालेर दाउरा बाल्ने गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लामीडाँडामा लगाइएको सुन्तलामा ऐझेरु पलाउने, जरामा घ्यु कमिला लाग्ने, जरामा रोग लागेर छिन्ने, डाँक्ला कुहिने, पात पहेँलो हुँदै जाने, टुप्पाबाट पहेँलो हुँदै जाने र बोट मर्ने, दाना राम्ररी नपाक्ने, एउटै दानाको एकातिर पाकेको र अर्कोतिर काँचो हुने, बीचबाट दुई फ्याक बनाउँदा एकातिर ठूलो र अर्कोतिर सानो भाग देखिने समस्या देखिएको छ । विशेषगरी २०७२ सालको भूकम्पपछि क्रमशः सुन्तलाको बोट मर्न सुरु गरेको स्थानीय पुस्तनारायण श्रेष्ठले बताए ।

लामीडाँडामा उत्पादित सुन्तला डोकोमा बोकेर खोटाङकै विभिन्न हाटबजारदेखि ओखलढुंगा, सोलुखुम्बुसम्म पुर्‍याइन्थे । लामीडाँडाको सुन्तला भनेपछि ग्राहकको पहिलो रोजाईमा पथ्र्यो । अधिकांश हिस्सा भने हवाईजहाज र हेलीकोप्टरमार्फत काठ्माण्डौं–बिराटनगर पुग्थ्यो । कोसेलीका रुपमा उत्तिकै प्रयोग हुन्थ्यो । खपत नभएका सुन्तला रक्सी उत्पादनमा प्रयोग हुन्थ्यो । अहिले लामीडाँडाको सुन्तला बगानको विषय एकादेशको कथाझैं बनिसकेको छ । किसानले पुरानो बोट मरेको ठाउँमा नयाँ बोट हाल्ने प्रयास नगरेका भने होईनन् तर नयाँ बिरुवा पनि हुर्कन नपाउँदै मर्ने गरेको छ । रोपेका नयाँ बिरुवा पहेँलिएर मर्ने गरेको छ । सिट्रस ग्रिनिङ, जरा कुहिने, झ्याउ पलाउने, डाँठ कुहिने, टुप्पाबाट मर्दै जाने लगायतका समस्याबाट सुन्तलाको बगान रित्तिएको कृषि ज्ञान केन्द्र खोटाङका वाली संरक्षण अधिकृत रामनन्दन यादव बताउँछन् ।

रोगको प्रकोपका कारण लामीडाँडाको मात्र नभएर समग्र जिल्लाकै सुन्तला उत्पादनमा र्‍हास आइरहेको छ । औंसा, सिट्रस ग्रिनिङ, जरा कुहिने, झ्याउ पलाउने लगायतका रोगका कारण सुन्तला बगान रित्तिएपछि कृषि ज्ञान केन्द्रले किसानलाई विषादि तथा उपकरण वितरण गरिरहेको छ ।

ईकोहिमाल नामक संस्थाको पहलमा २०७८ कात्तिक २७ गते नमूना संकलन गरेर लागि पिसिआर परीक्षणका लागि २०७८ पुस २९ गते नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, विश्लेषणात्मक सेवा केन्द्र, खुमलटार पठाउँदा लामीडाँडाका ६ मध्ये ५ नमूनामा सिट्रस ग्रिनिङ पोजेटिभ पूष्टि भएको थियो । रित्तिएको सुन्तला बगानलाई पुःन जगाउनका लागि कृषि ज्ञान केन्द्रसँगको सहकार्यमा औषधि तथा उपकरण वितरण गरिएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com