अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्यामा मासिक उच्च रेकर्ड कायम, जनवरीमा मात्रै १०१ जना


प्रकाशित मिति : माघ २०, २०८२ मंगलबार

नेपालको अध्यागमन विभागका अनुसार जनवरी २०२६ मा मात्र १०१ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन्। हाल यो संख्या ५८५ पुगेको छ । डिपोर्ट हुनेहरुमा अधिकांश पुरुष छन् भने महिला संख्या न्यून छ। जनवरीमा डिपोर्ट भएका १०१ मा ४ जना मात्र महिला रहेको छन्।

पछिल्ला महिनाहरूमा नेपालीहरु अमेरिकाबाट डिपोर्ट हुने दर बढ्दो रहेको छ । डिसेम्बरमामात्रै ९८ जना नेपालीहरु डिपोर्ट भएकोमा नोभेम्बरमा ८० जना नेपालीहरु अमेरिकाबाट डिपोर्ट भएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको एक बर्ष पूरा भएकै दिनमा जनवरी, २०२६ मा एकै पटक ८० जना नेपालीलाई डिपोर्ट गरेर चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएको थियो।जसमा ७९ पुरुष र १ महिला थिए ।

डिसेम्बर २०२५ मा एकै दिन ६९ पुरुष, ६ महिला गरी ७५ जना नेपाली डिपोर्ट भएका थिए। तथ्यांकअनुसार सन् २०२५ मा जनवरीमा ६ जना, फेब्रुअरीमा १८ जना, मार्चमा ३२ जना, अप्रिलमा २६ जना, मेमा ५८ जना, जुनमा ४२ जना, जुलाईमा १७ जना, अगस्टमा १६ जना, सेप्टेम्बरमा ५३ जना, अक्टोबरमा ३८ नेपालीहरु अमेरिकाबाट डिपोर्ट भएका थिए ।

डिपोर्ट भएकाहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोलाई जिम्मा लगाउँछ। ब्यूरोले सामान्य सोधपुछपछि आफन्तको जिम्मा लगाउँछ, तर लिखित उजुरी परेमा गहन अनुसन्धान हुन्छ। हालसम्म २४ वटा उजुरी परेका छन्। अनुसन्धान मुख्य रूपमा नेपालका एजेन्टहरूमै सीमित छ विदेशी एजेन्टहरूसम्म पुग्न डिप्लोमेसी स्तरको सहयोग आवश्यक छ। उजुरी डिपोर्ट संख्याको तुलनामा निकै कम छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकांश डिपोर्ट भएकाहरू अवैध रूपमा मेक्सिको हुँदै अमेरिका प्रवेश गरेका थिए, जसका लागि एजेन्टहरूलाई ८० लाखदेखि १ करोड रुपैयाँसम्म तिरेको पाइएको छ।

नेपालले डिपोर्ट हुने आफ्ना नागरिकहरूलाई सहज रूपमा स्वीकार गर्दै आएको छ। वासिङ्टन डीसीस्थित नेपाली दूतावासले यस प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। अमेरिकी अध्यागमनले देशनिकालामा परेका नेपालीका लागि ट्राभल डकुमेन्ट अनुरोध गरेपछि दूतावासले सहजै कागजात उपलब्ध गराउँदै आएको छ। यद्यपि, तेस्रो मुलुक हुँदै नेपाल फर्कने डिपोर्ट हुने नेपालीको संख्या पनि बढ्दो छ।

यसैबीच अमेरिकाले एकै पटक १२१ जना नेपालीलाई डिपोर्ट गरेर नेपाल पठाउने तयारी गरेको छ। खसोखासले प्राप्त विशेष जानकारीअनुसार आगामी फेब्रुअरी २१ तारिखमा ती सबैलाई डिपोर्टेशन उडानमार्फत स्वदेश फर्काउन लागिएको हो।

अन्तिम समयमा संख्यामा कमी नआएमा नेपालीका सन्दर्भमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो समूहको डिपोर्टेसन हुनेछ। डिपोर्ट हुने नेपालीहरूको उडानको समय र विमानको प्रकार सम्बन्धी विवरण भने सार्वजनिक गरिएको छैन। अमेरिकाबाट ठूलो समूहमा आप्रवासीलाई पठाउँदा प्रायः चार्टर्ड उडान प्रयोग गरिदै आएको छ ।

(सम्पादकीय नोट: प्रस्तुत गरिएका तथ्याङ्कहरू प्रारम्भिक हुन्। नेपालको अध्यागमन विभाग, अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आइस), र नेपालको मानव बेचबिखन अनुसन्धान ब्यूरोले संकलन गर्ने तथ्याङ्कहरूमा भिन्नता हुन सक्ने भएकाले यी सङ्ख्याहरूमा सामान्य फेरबदल हुन सक्छ।)

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com