अमेरिकी जस्टिस डिपार्टमेन्टद्वारा गैरनागरिक मतदाता सूचीको समीक्षा गर्न क्यालिफोर्नियालाई ४८ घण्टाको अल्टिमेटम


प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार

Photo: Arnaud Jaegers/ Unsplash

आगामी नोभेम्बर ३ मा हुने चुनावअघि धाँधली नियन्त्रण गर्ने प्रयासस्वरूप अमेरिकी जस्टिस डिपार्टमेन्टले क्यालिफोर्नियाका अधिकारीहरूलाई गैरनागरिक मतदाताहरूको सूची समीक्षा गर्न ४८ घण्टाको समय सीमा दिएको छ। यदि तोकिएको समयभित्र कदम नचालिए कानूनी कारबाही अघि बढाउने चेतावनी दिइएको छ।

कार्यवाहक उप-महान्यायाधिवक्ता आर. ट्रेन्ट म्याक्कोटरले क्यालिफोर्नियाकी राज्य सचिव शर्ली वेबरलाई पत्र पठाएका छन्। उक्त पत्रमा सङ्घीय सरकारले गैरनागरिक हुनसक्ने आशङ्का गरिएका र हुलाकबाट मतपत्र  पठाइएका व्यक्तिहरूको नाम ‘पासवर्ड-सुरक्षित पेनड्राइभ’ मार्फत लस एन्जलस काउन्टीका अधिकारीहरूलाई हस्तान्तरण गरिएको उल्लेख छ।

जस्टिस डिपार्टमेन्टले ती व्यक्तिहरूको नागरिकताको पुष्टि नभएसम्म उनीहरूलाई मतपत्र नपठाउन माग गरेको छ। यदि उनीहरूले पहिले नै मतपत्र प्राप्त गरी फिर्ता पठाइसकेका छन् भने नागरिकता प्रमाणीकरण नभएसम्म ती मतपत्रहरूलाई अलग राख्न र गणना नगर्न पत्रमा निर्देशन दिइएको छ। मन्त्रालयले राज्यका अधिकारीहरूले यी निर्देशन पालना नगरे ‘आकस्मिक कानूनी उपचार’ खोज्न बाध्य हुने चेतावनी दिएको छ।

“गैरनागरिकलाई मतदान गर्न दिनु भनेको वास्तविक नागरिकको मत खारेज गर्नु हो,” म्याक्कोटरले लेखेका छन्।

ट्रम्प प्रशासनले गैरनागरिकहरूले मतदान गरेको भन्दै राज्यहरूमाथि दबाब बढाउँदै लगेको छ। जस्टिस डिपार्टमेन्टका प्रवक्ता किर्स्टन पेल्सले पत्रको पुष्टि गर्दै भनेकी छन्, “निर्वाचनको निष्पक्षता जोगाउन र सङ्घीय कानूनको पालना गराउन मन्त्रालयले आवश्यक सम्पूर्ण कानूनी कदम चाल्नेछ।”

विभिन्न अध्ययनहरूले गैरनागरिकले मतदान गर्ने घटना निकै विरलै हुने देखाएका छन्। विज्ञहरूका अनुसार यस्ता त्रुटिहरू सफ्टवेयर समस्या वा प्राविधिक गल्तीका कारण हुने गरेका छन् र यसले कुल १७ करोड दर्ता भएका मतदाताहरूको तुलनामा चुनावको नतिजामा खासै प्रभाव पार्दैन।

क्यालिफोर्निया राज्य अमेरिकी प्रतिनिधिसभाको नियन्त्रण कसको हातमा जाने भन्ने निर्धारण गर्न महत्त्वपूर्ण मानिन्छ। साथै, लस एन्जलसका मतदाताहरूले यस पटक स्थानीय चुनावमा निश्चित कानुनी गैरनागरिक बासिन्दाहरूलाई पनि मतदान गर्न दिने वा नदिने भन्नेबारे निर्णय गर्दैछन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com