नेपालमा अमेरिकाको ‘डिजिटल डिप्लोमेसी’: ‘सफ्ट पावर’ र ‘पब्लिक डिप्लोमेसी’लाई मजबुत बनाउन ‘क्रिएटर्स मेला’
प्रकाशित मिति : माघ १९, २०८२ सोमबार
तीन शहरमा आयोजना गरिएको ‘क्रिएटर्स मेला २०२६’ ।
नेपालस्थित अमेरिकी दूतावासले ‘क्रिएटर्स मेला २०२६’ तीन शहरमा आयोजना गरी सम्पन्न गरेको छ। यस वर्षको विषयवस्तु ‘भिजन टु भेन्चर’ रहेको थियो, जसले सृजनात्मक विचारहरूलाई व्यावसायिक उद्यममा रूपान्तरण गर्ने लक्ष्य राखेको थियो। तर यसको कूटनीतिक अर्थ छ। कूटनीतिक विषयका विज्ञहरूका अनुसार दूतावासले सन् २०२३ देखि आयोजना गर्दै आएको ‘क्रिएटर्स मेला’ केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई अमेरिकी परराष्ट्र नीतिको एक हिस्सा पनि हो।
अमेरिकी कूटनीतिको एक महत्त्वपूर्ण पाटो ‘सफ्ट पावर’ हो, जसले सैन्य वा आर्थिक दबाबभन्दा संस्कृति, मूल्य र विचारमार्फत मानिसहरूको मन जित्ने प्रयास गर्छ। नेपाली युवा र डिजिटल क्रिएटरहरूसँग प्रत्यक्ष जोडिएर अमेरिकाले आफ्नो प्रविधि, लोकतान्त्रिक मूल्य र खुलापनको छवि उनीहरूमाझ पुर्याउन चाहन्छ। पूर्व नेपाली राजदूत युवनाथ लम्साल भन्छन्, “यस्ता कार्यक्रममार्फत अमेरिकाले ‘सफ्ट पावर’ र पब्लिक डिप्लोमेसीलाई मजबुत बनाउने गरेको छ।”
अहिलेको युगमा परम्परागत कूटनीतिभन्दा सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरू बढी शक्तिशाली भएका छन्। क्रिएटरहरूका लाखौँ फलोअर्स हुन्छन्। उनीहरूलाई तालिम र प्लेटफर्म दिएर अमेरिकाले आफ्नो पक्षमा सकारात्मक माहोल बनाउने र आफ्ना सन्देशहरू जनस्तरसम्म पुर्याउने माध्यम खडा गर्छ। सरकारी माध्यमहरूभन्दा बाहिर गएर सिधै जनता—विशेषगरी युवा पुस्तासँग—संवाद गर्ने यो आधुनिक कूटनीतिक शैली भएको कूटनीतिक मामलाका विज्ञहरू बताउँछन्।
सन् २०२६ को मेलाको नाराअनुसार अमेरिकाले नेपाली क्रिएटरहरूलाई केवल ‘सामग्री उत्पादन’ मा मात्र नभई ‘उद्यमी’ बन्नसमेत प्रोत्साहन गरेको थियो । यसले नेपालको अर्थतन्त्रमा डिजिटल क्षेत्रको भूमिका बढाउन मद्दत गर्छ। अमेरिकी प्रविधि र प्लेटफर्महरूको प्रयोगलाई बढावा दिँदै ती माध्यमबाट कसरी आम्दानी गर्ने भन्ने सिकाइले अन्ततः ती प्रविधिप्रतिको निर्भरता र विश्वास बढाउँछ।
कूटनीतिक मामलाका जानकारहरूका अनुसार अमेरिकी दूतावासले यस्ता कार्यक्रममार्फत ‘अभिव्यक्ति स्वतन्त्रता’ को वकालत गर्छ। क्रिएटरहरूलाई स्वतन्त्र रूपमा आफ्नो विचार राख्न र कथा भन्न प्रोत्साहित गर्नु लोकतान्त्रिक संस्कारलाई बलियो बनाउनु हो, जुन अमेरिकी विदेश नीतिको प्राथमिकतामा पर्छ। नेपालमा चीन र भारतजस्ता शक्ति राष्ट्रहरूको प्रभाव बढिरहेका बेला अमेरिकाले युवा पुस्ता र प्रभावशाली व्यक्तित्वहरूमार्फत आफ्नो उपस्थितिलाई मजबुत बनाउन चाहन्छ। क्रिएटरमार्फत हुने संवादले जनस्तरमा अमेरिकाप्रतिको दृष्टिकोणलाई सकारात्मक बनाउन ठोस भूमिका खेल्छ।

सन् २०२३ मा सुरु भएको यो कार्यक्रमको यो चौथो संस्करण हो। यसले नेपालको क्रिएटर इकोनोमी र डिजिटल अर्थतन्त्रलाई मजबुत बनाउने दिशामा अमेरिकी दूतावासको निरन्तर प्रयासलाई प्रतिबिम्बित गर्छ। यस वर्षको मेलाले डिजिटल कथा र व्यावसायिक उद्यमबीचको खाडल पुर्नेमा जोड दिएको थियो।
मेला चितवन, नेपालगन्ज र काठमाडौंमा आयोजना गरिएको थियो। चितवनमा जनवरी १७ मा सुरु भएको कार्यक्रम नेपालगन्जमा जनवरी २४ मा सम्पन्न भयो भने काठमाडौंमा जनवरी ३० र ३१ तारिख दुई दिने फाइनल आयोजना गरिएको थियो। दूतावासका अनुसार चितवनमा ८०० भन्दा बढी, नेपालगन्जमा १,००० भन्दा बढी सहभागी थिए भने काठमाडौंमा हजारौँ (केही रिपोर्टअनुसार पहिलो दिनमै धेरै) युवा तथा क्रिएटरहरूको उल्लेखनीय उपस्थिति थियो। मुख्य रूपमा युवा पुस्ताको सहभागिता रहेको थियो।
मेलामा प्यानल छलफल, अन्तरक्रियात्मक कार्यशाला, लाइभ प्रस्तुति, ब्रान्डिङ, मोनेटाइजेसन, डिजिटल स्किल्स तथा ‘पिच टु सक्सेस’ जस्ता सेसनहरू सञ्चालन गरिएका थिए। काठमाडौंमा ‘पिच टु सक्सेस’ प्लेटफर्म विशेष आकर्षण बनेको थियो, जहाँ छनोट गरिएका क्रिएटरहरूले आफ्ना व्यावसायिक विचारहरू नेपालका प्रमुख कम्पनीका प्रतिनिधिहरूसामु प्रस्तुत गरी फिडब्याक र मेन्टरसिप प्राप्त गरे।
सहभागीहरूले मेलाबाट धेरै कुरा सिक्ने अवसर पाएको बताएका छन्। सहभागी क्रिसिका महतले डिजिटल दुनियाँमा आफ्नो काम र पेसालाई कसरी प्रभावकारी रूपमा प्रचार गर्ने र धेरै मानिससम्म पुर्याउने तरिका सिकेको बताइन्। साथै, नेटवर्किङका लागि यस्ता मेला आवश्यक रहेको उनको भनाइ थियो।
अनुप अर्याल र उनका साथीहरूले यस्ता कार्यक्रम सकारात्मक भए पनि डिजिटल एडिक्सन (लत) को विषयमा पनि छलफल हुनुपर्ने आवश्यकता औंल्याए। राम्रोसँगै नकारात्मक पक्ष पनि आउने भएकाले त्यसबाट बच्ने उपाय सिक्नु आजको आवश्यकता भएको उनले बताए। समिता पौडेलले नयाँ पुस्ताका लागि यस्ता कार्यक्रम उपयोगी भएको र व्यवसाय तथा नेटवर्किङ विस्तारमा सहयोगी हुने धारणा राखिन्।
पूर्व राजदूत लम्सालका अनुसार मेलाले नेपाली युवा तथा क्रिएटरहरूसँग प्रत्यक्ष जोडिएर अमेरिकी प्रविधि, लोकतान्त्रिक मूल्य र खुलापनको सन्देश फैलाउने प्रयास गरेको छ। उनी भन्छन्, “यस्ता कार्यक्रमको प्रभाव आगामी दिनमा अझ स्पष्ट हुँदै जानेछ। नेपाल सरकारले पनि यस्ता गतिविधिलाई नियालिरहेको हुनुपर्छ। यसले परम्परागत कूटनीतिभन्दा माथि उठेर पब्लिक डिप्लोमेसीमार्फत आम जनतासम्म प्रत्यक्ष पुग्ने प्रयास गरेको छ। ठूला मुलुकहरूले नेपालमा यस्ता कार्यक्रम गर्दै आएका छन्, तर नेपालले विदेशमा पब्लिक डिप्लोमेसीमा खासै प्रभावकारी काम गर्न सकेको छैन। आर्थिक तथा जनशक्ति अभाव यसको मुख्य समस्या हो। यदि नेपालले पनि ठूला मुलुकहरूमा यस्ता कार्यक्रम सञ्चालन गर्न सके कूटनीतिक सम्बन्ध दिगो र अन्तर्राष्ट्रिय उपस्थिति बलियो हुन सक्छ।”
यस्तै, पूर्व राजदूत विजय कान्त कर्णले यस्ता कार्यक्रमहरूलाई कूटनीतिक दृष्टिकोणबाट मात्र नभई आर्थिक, पर्यटन र व्यावसायिक हिसाबले पनि हेर्न आवश्यक रहेको बताए। उनले यस्ता कार्यक्रमले एकै स्थानमा सम्बन्धित देशको बजार, माग तथा ठूला–साना व्यवसायीहरूलाई जोड्न मद्दत गर्ने उल्लेख गरे। कर्ण भन्छन्, “यसले सहभागी जनशक्तिलाई प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय बजारमा आफूलाई प्रतिनिधित्व गर्ने अवसर दिन्छ। नेपाल सरकारले जुनसुकै देशले आयोजना गरे पनि यस्ता कार्यक्रमहरू धेरैभन्दा धेरै गर्न पहल गर्नुपर्छ। साथै, काठमाडौं केन्द्रित मात्र नभई अन्य स्थान तथा स्थानीय प्रतिनिधित्वलाई पनि सुनिश्चित गर्नुपर्छ।”
कर्णका अनुसार नेपालले पनि आफ्नो क्षमताअनुसार विभिन्न मुलुकहरूमा विशेषगरी वातावरण, पर्यटन र स्टार्टअप क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। उनी भन्छन्, “यस्ता कार्यक्रम गर्नु राम्रो हो। नेपालले पनि यसलाई प्राथमिकतामा राख्नुपर्छ। यसले नेपाललाई दीर्घकालीन रूपमा आर्थिक फाइदा पुर्याउनेछ।”

नेपालस्थित अमेरिकी दूतावासले ‘क्रिएटर्स मेला २०२६: भिजन टु भेन्चर’ को सुरुवातसँगै नेपालको रचनात्मक अर्थतन्त्रको वृद्धिलाई तीव्रता दिएको बताएको छ। यस वर्षको संस्करणले डिजिटल सामग्री सिर्जनामा केन्द्रित ध्यानलाई दिगो पेसागत व्यवसायतर्फ मोड्दै महत्त्वपूर्ण परिवर्तन ल्याएको दूतावासको भनाइ छ।
दूतावासका अनुसार यस वर्षको विषयवस्तु डिजिटल कथाकथन र व्यावसायिक उद्यमबीचको खाडल पुर्ने लक्ष्यमा केन्द्रित थियो। प्रविधि, डिजिटल प्लेटफर्मबाट हुने आयआर्जन र डिजिटल व्यवसाय विकासमा रहेको अमेरिकी विशेषज्ञतालाई समेट्दै मेलाले डिजिटल सामग्रीका सर्जक ‘क्रिएटर’हरूलाई आफ्नो प्रभावलाई दीर्घकालीन पेसाकर्ममा रूपान्तरण गर्न मार्गचित्र प्रदान गरेको दूतावासले जनाएको छ।
“क्रिएटर्स मेला २०२६ ले नेपालको रचनात्मक अर्थतन्त्रलाई सुदृढ पार्ने अमेरिकी प्रतिबद्धता देखाउँछ,” नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भनेका छन्। “नेपालभर ज्ञान, सीप र सञ्जाल विस्तार गर्दै हामी उद्यमशीलता र रोजगारी सिर्जनामा टेवा पुर्याइरहेका छौँ। हामी नेपाली क्रिएटरहरूलाई स्थानीय प्रभावका लागि मात्र नभई अमेरिकी व्यावसायिक साझेदार तथा विश्वव्यापी बजारमा सफल हुन तयार पार्दै छौँ, जसले अझ गहिरो आर्थिक सम्बन्ध र साझा समृद्धिलाई प्रोत्साहन गर्नेछ।”
पछिल्लो चरणमा नेपालस्थित अमेरिकी दूतावास डिजिटल डिप्लोमेसीमा पनि सक्रिय रहँदै आएको सन्दर्भमा यो मेला आयोजना गरिएको हो। डिजिटल डिप्लोमेसी भन्नाले कूटनीतिक गतिविधिहरू सञ्चालन गर्न र विदेश नीतिका लक्ष्यहरू हासिल गर्न डिजिटल प्रविधिहरू—विशेषगरी इन्टरनेट र सामाजिक सञ्जाल—को प्रयोगलाई जनाउँछ। यस्ता माध्यममार्फत सरकारहरूले प्रत्यक्ष रूपमा विदेशी नागरिक, विशेषगरी युवा पुस्ता र डिजिटल प्रभावशाली व्यक्तित्वहरूसँग संवाद गर्ने रणनीति अपनाउँदै आएका छन्। ‘क्रिएटर्स मेला’ पनि यही डिजिटल डिप्लोमेसीको अभ्यासको एक महत्वपूर्ण उदाहरणका रूपमा कुटनीतिक बृत्तमा हेरिएको छ।
अमेरिकी दूतावासले क्रिएटर्स मेलाबाहेक नेपाली शिक्षकहरूका लागि अमेरिका तालिम, माध्यमिक तहका शिक्षक तथा प्रशासकका लागि अध्ययन कार्यक्रम, सांस्कृतिक सम्पदा संरक्षण अनुदान, युवाहरूका लागि अंग्रेजी भाषा, नेतृत्व तथा डिजिटल स्किल्स तालिम, साथै एक्सचेन्ज प्रोग्रामहरूमार्फत विभिन्न गतिविधि सञ्चालन गर्दै पब्लिक डिप्लोमेसीलाई अगाडि बढाइरहेको जनाएको छ।






