डेमोक्र्याट शासित सहरमा हस्तक्षेप नगर्ने राष्ट्रपति ट्रम्पको घोषणा
प्रकाशित मिति : माघ १७, २०८२ शनिबार
फोटो : एएफपी/रासस
अमेरिकाका डेमोक्र्याट शासित सहरहरूमा स्थानीय प्रशासनको अनुरोधबिना संघीय हस्तक्षेप नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन्।
डेमोक्र्याट नेतृत्वमा रहेका सहरहरूमा हुने प्रदर्शन वा अशान्तिमा स्थानीय अधिकारीहरूले औपचारिक रूपमा सहयोग नमागेसम्म संघीय सरकारले हस्तक्षेप नगर्ने निर्देशन दिइएको राष्ट्रपति ट्रम्पले बताएका हुन्। संघीय आप्रवासन निकायको कठोर कार्यशैलीप्रति आलोचना बढिरहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो।
ट्रम्पले स्थानीय सरकारले सहयोग मागेमा संघीय सहायता तुरुन्त उपलब्ध गराइने बताए। तर, राज्यहरूले सहयोग माग्दा ‘कृपया’ भन्ने शब्द प्रयोग गर्नुपर्ने टिप्पणीसमेत उनले गरे। उनले चेतावनी दिँदै लेखेका छन्, “मैले कडा शब्दमा पहिले नै भनेको छु—सावधान रहनुहोस्। ‘आइस’, सीमा सुरक्षा बल वा आवश्यक परे सेना संघीय सम्पत्तिको सुरक्षामा अत्यन्त शक्तिशाली र कठोर हुनेछ।”
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले भने, “मैले गृहमन्त्री क्रिस्टी नोएमलाई स्पष्ट निर्देशन दिएको छु—स्थानीय सरकारहरूले औपचारिक रूपमा सहयोग नचाहेसम्म डेमोक्र्याट सहरहरूका प्रदर्शन वा दंगामा हामी कुनै पनि हालतमा सहभागी हुने छैनौँ।”
मिनियापोलिसमा एलेक्स प्रेट्टी र रिनी गुडको हत्या भएपछि आप्रवासन कार्यान्वयनबारे अमेरिकामा राष्ट्रिय बहस तीव्र बनेको छ। ती घटनाका कारण पछिल्ला दिनहरूमा ह्वाइट हाउसको भाषाशैलीमा केही परिवर्तन आएको देखिएको छ।
ट्रम्पले कानुन कार्यान्वयन गर्ने अधिकारीमाथि थुक्ने, सुरक्षाकर्मीका सवारीसाधनमा आक्रमण गर्ने वा संघीय सम्पत्तिमा क्षति पुर्याउने कार्य सह्य नहुने चेतावनी दिए। उनले स्थानीय तथा राज्य सरकारहरू आफ्नै सम्पत्तिसहित संघीय सम्पत्तिको सुरक्षा गर्न जिम्मेवार हुने उल्लेख गर्दै संघीय सरकार भने अन्तिम सहायताकर्ताका रूपमा मात्र रहने बताए।
ट्रम्पले ओरेगन राज्यको घटनालाई उदाहरण दिँदै प्रदर्शनकारीहरूले संघीय भवनमा प्रवेश गरी सम्पत्ति तोडफोड र कर्मचारीहरूलाई दुर्व्यवहार गर्दा पनि स्थानीय प्रहरीले हस्तक्षेप नगरेको दाबी गरे। “अब यस्तो हुन दिइने छैन,” उनले लेखेका छन्।
तर, ओरेगनको युजिन सहरका स्थानीय अधिकारीहरूले राष्ट्रपतिको सो दाबीलाई अस्वीकार गरेका छन्। युजिन प्रहरी विभागले जारी गरेको विज्ञप्तिमा संघीय भवनमा भएको गतिविधिलाई ‘दंगा’ घोषणा गरी प्रदर्शनकारीलाई क्षेत्र खाली गर्न आदेश दिइएको जनाइएको छ।
ट्रम्पले घरेलु अशान्ति नियन्त्रणका लागि सेनाको प्रयोग गर्न अनुमति दिने ‘इन्सरेक्शन एक्ट‘ प्रयोग गर्ने धम्की पनि दिँदै आएका छन्।






