नेपाली नेताहरूको नाम दुरुपयोग गरी ठगी गरेको आरोपमा अमेरिकी नागरिक पक्राउ


प्रकाशित मिति : माघ २०, २०८२ मंगलबार

text

फोटो: ग्लोबल रेसिडेन्स इन्डेक्स

‘नेपाल इन्टरनेशनल कलेज’ नामक वेबसाइटमार्फत नेपालका शीर्ष राजनीतिक नेता तथा प्रतिष्ठित व्यक्तिहरूको नाम र पहिचान दुरुपयोग गरी अन्तर्राष्ट्रिय स्तरमा चन्दा (फन्ड) उठाउने प्रयास गरेको आरोपमा एक अमेरिकी नागरिकलाई नेपालको अध्यागमन विभागले नियन्त्रणमा लिएको छ। उनले कलेजको ‘टिम’ सेक्सनमा केपी शर्मा ओली, आरजु राणा देउवा, गगन थापा, महेश बस्नेत, विनोद चौधरी, कृष्ण बहादुर महरा लगायत अन्य १३ जना राजनीतिक व्यक्तिहरूको नाम जोडेर दुरुपयोग गर्दै आएको खुलेको छ।

अध्यागमन विभागको अभिलेख अनुसार उनी सन् २०१४ देखि नेपालमा पटक-पटक आउने गरेका र पछिल्ला १२ वर्षमा ५० पटकभन्दा बढी नेपाल भ्रमण गरेको देखिएको छ। उनी पर्यटक, श्रम, व्यावसायिक तथा अन्य विभिन्न भिसामा नेपाल बस्दै आएका थिए। यसैगरी, लाइब्रेरी, क्याम्पस सेवा तथा प्रशासनिक टोलीमा अन्य प्रतिष्ठित नेपालीहरूको नाम पनि समावेश गरेको पाइएको छ। यो कार्यमार्फत उनीहरूको पहिचान दुरुपयोग गरी अन्तर्राष्ट्रिय दातृ निकाय वा कोषबाट रकम संकलन गर्ने उद्देश्य राखेको विभागको दाबी छ।

वेबसाइटमा उक्त कलेजलाई त्रिभुवन विश्वविद्यालय र पोखरा विश्वविद्यालय दुवैबाट सम्बन्धन प्राप्त भएको भनी प्रचार गरिएको थियो। तर, आधिकारिक प्रमाण पेश गर्न नसकेको र नेपालको कानुनअनुसार एउटै कलेजले दुईवटा विश्वविद्यालयबाट एकैसाथ सम्बन्धन लिन नपाउने व्यवस्था रहेकाले उक्त दाबी झूटो ठहरिएको छ। कलेजले कोरियन स्टडिज, एआई सफ्टवेयर इन्जिनियरिङ र बिजनेस स्टडिज जस्ता विषयहरू अध्यापन गराउने दाबी गरेको थियो।

उनी पर्वतारोहण र व्यापारिक पृष्ठभूमिका व्यक्ति हुन्। नेपालमा उनले ‘कमसिड नेपाल’ नामक कम्पनी दर्ता गरी व्यावसायिक भिसा लिएका थिए। यसबाहेक, उनी चर्च स्थापना जस्ता धार्मिक क्रियाकलापमा समेत संलग्न रहेको बताइएको छ। सन् २००८ मा न्युयोर्कमा ‘यस इन हिम चर्च’ स्थापना गरी ‘द प्लान्टर’ संस्थामार्फत चर्चहरू विस्तार गर्ने काम गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी सन् २०२१ मा ‘विश्व प्रेस्बिटेरियन चर्चहरूको विश्वव्यापी गठबन्धन’ अन्तर्गत नेपालको नयाँ प्रेस्बिटेरियन परिषद्को अध्यक्षका रूपमा रहेका थिए। ‘द प्लान्टर’ कोरियन मिसनरी संस्थामार्फत उनले नेपालमा कोरियन भाषा विद्यालय खोल्ने घोषणा समेत गरेका थिए।

ललितपुरको सानेपामा ‘नेपालको पहिलो एमओयू-ग्यारेन्टी गरिएको क्रिश्चियन कलेज’ भन्दै ‘नेपाल इन्टरनेशनल कलेज’ को वेबसाइट तयार पारी प्रचार गरिएको थियो।

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार पहिचान दुरुपयोग तथा झूटा दाबीका आधारमा चन्दा संकलनको प्रयास गरेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो। हाल उनीमाथि ठगी, भिसा दुरुपयोग र धर्म प्रचार जस्ता कसुरमा थप अनुसन्धान भइरहेको छ।

यस ठगीमा केही नेपालीहरूको पनि संलग्नता रहेको आशङ्का गरिएको छ। ठूला राजनीतिक नेताहरूको नाम जोडिए पनि उनीहरूको वास्तविक संलग्नता भए/नभएको विषयमा अनुसन्धान भइरहेको विभागले जनाएको छ। निज अमेरिकी नागरिक क्यान्सरको चौथो चरणमा रहेको हुनाले अनुसन्धान प्रक्रियामा केही जटिलता आउन सक्ने अनुमान गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com