प्रतिबन्धको मारमा परेको हुवावे पूर्ववत अवस्थामा फर्किएको दाबी
प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2022/12/Huawei.jpg?fit=1024%2C609&ssl=1)
चिनियाँ विशाल प्रबिधि कम्पनी (हुवावे)ले अमेरिकी प्रतिबन्धका बावजुद पनि सन् २०२२ का लागि वार्षिक आम्दानी स्थिर रहने अनुमान गर्दै ‘व्यवसायमा पूर्ववत अवस्थामा’ फर्किएको शुक्रबार जनाएको छ ।
दूरसञ्चार उपकरण, स्मार्टफोन र अन्य उन्नत उपकरणहरूको अग्रणी आपूर्तिकर्ता, हुवावेलाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले साइबर सुरक्षा र जासूसी चिन्ताको कारण कारबाहीस्वरूप प्रतिबन्ध लगाएको थियो ।
ट्रम्पका उत्तराधिकारी जो बाइडेनले विश्वव्यापी आपूर्ति श्रृंखलामा हुवावेको पहुँचलाई खतरामा पार्ने पूर्ववत् अमेरिकी सरकारको नियमहरूसँगै कम्पनीमाथिको प्रतिबन्धलाई थप मजबुत पार्नुभएको थियो ।
हुवावेका अध्यक्ष एरिक जुले नयाँ वर्षको शुभकामना सन्देशमा कम्पनीको अवस्था सकारात्मक रहेको टिप्पणी गर्नुभएको छ ।
“सन् २०२२ मा हामीले सफलतापूर्वक आफूलाई सङ्कटको मोडबाट बाहिर निकालेका छौं । अमेरिकी प्रतिबन्धहरू अब हाम्रो लागि सामान्य हो,” उहाँले पत्रमा भन्नुभएको छ । “हामी सामान्य रूपमा व्यवसायमा फर्केका छौं,” उहाँले थप्नुभयो ।
कम्पनीले सन् २०२२ का लागि वार्षिक आम्दानी ६३६.९ अर्ब युआन (झण्डै ९२ अर्ब अमेरिकी डलर) हुने अनुमान गरेको छ, जुन सन् २०२१ को ६३६.८ अर्ब युआनभन्दा केही बढी हो ।
अमेरिकी नेतृत्वको प्रतिबन्धले हुवावेको दूरसञ्चार उपकरण र स्मार्टफोन व्यवसायको ठूलो हिस्सा ओगट्न थालेपछि हुवावेले राजस्व प्रवाहमा विविधता ल्याएको बताएको थियो ।