सिड्नीमा ३ नेपाली युवतीलाई समुन्द्रको छालले हुत्याउँदा एकजनाको अवस्था चिन्ताजनक


प्रकाशित मिति : पुस १४, २०७९ बिहीबार

सिड्नीको क्रोनाला समुन्द्री तटमा पानीबाट अचेत अवस्थामा उद्दार गरिएकी एक नेपाली महिला अहिले अस्पतालमा जीवनको लडाइँ लडिरहेकी छिन् । पानीमा छालमा हुत्याएपछि बुधबार साँझ ७ बजे साउथमा क्रोनोला बिचमा उद्दारकर्मीहरुलाई बोलाइएको थियो ।

२० वर्षीया महिलालाई समुद्र तटबाट उद्दार गर्दा उनी अचेत थिइन् । त्यसपछि घटनास्थलमा प्यारामेडिकहरूले उपचार गरेका थिए । प्राथमिक उपचारपछि हेलिकप्टरद्धारा उनलाई अस्पतालमा लगिएको थियो ।

उनको गम्भीर अवस्थामा सेन्ट जर्ज अस्पतालमा उपचार भइरहेको छ । फोक्सोमा पानी जमेका कारण उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

तीन नेपाली विद्यार्थीहरु क्रोनोला बिचमा रमाइलो गर्न गएको बेला छालले हुत्याएको थियो । ढुंगामा ठोकिएर सामान्य घाइते भएकी अर्की नेपाली युवतीलाई भने बिहिबार नै अस्पतालले सामान्य उपचार र चेकजाँचपछि डिस्चार्ज गरेको छ। बगरमा हुत्तिएकी अर्की युवतीको अवस्था सामान्य रहेको छ।

प्रारम्भिक रेस्क्यु टोलीले युवतीहरुलाई पानीबाट बाहिर निकाल्न संघर्ष गरेपछि आफूले अचेत महिलालाई पानीबाट निकालेर बचाएको नाम बताउन नचाहेका एक व्यक्तिले जनाएका छन् ।

आफूले हेल्प, हेल्प भन्दै चिच्याएको सुनेको र युवतीलाई बचाउन केही मानिस बाहिर निस्केको देखेपछि आफू एउटा बोर्ड लिएर उद्दारका लागि गएको उनले बताए । त्यहाँ पुग्दा युवती अचेत अवस्थामा पल्टिरहेकी देखेपछि आफूले बडीबोर्डमा उठाएको उनले बताए ।

धेरै परिवार जम्मा भएको समुद्री किनारमा भएको घटनाको विवरण सुनाउँदा उनी निकै भावुक भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com