प्रतिनिधिसभाले लगायो अमेरिकी सांसदहरुलाई टिकटक चलाउन प्रतिबन्ध


प्रकाशित मिति : पुस १३, २०७९ बुधबार

person holding black iphone 5

अमेरिकाको प्रतिनिधिसभाले प्रतिनिधिसभा सदस्यहरुबाट संचालित उपकरणहरुमा टिकटक चलाउन प्रतिबन्ध लगाएको छ । चिनियाँ स्वामित्वको लोकप्रिय भिडियो एपमाथि सरकारी उपकरणहरुमा प्रतिबन्ध लगाउने बिलमा राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नु अगाडि नै प्रतिनिधिसभाले सांसदहरुलाई टिकटक चलाउन प्रतिबन्ध लगाएको हो ।

प्रतिनिधिसभाका मुख्य प्रशासनिक अधिकारीले एक मेमोमा उच्च जोखिम सुरक्षा चिन्ताहरू उल्लेख गर्दै मंगलबार सांसदहरू र कर्मचारीहरूलाई सरकारी उपकरणहरूबाट टिकटक एप्लीकेशट हटाउन आदेश दिएका हुन् । शुक्रबार सदनले पारित गरेको १ दशमलव ७ ट्रिलियन ओम्निबस खर्च विधेयक अन्तर्गत संघीय सरकारका सबै कर्मचारीहरूलाई टिकटकमा प्रतिबन्ध लगाइनेछ । उनीहरुले टिकटक एप्लीकेशन डाउनलोड गर्न पाउनेछैनन् भने भएको एप्लीकेशन डिलिट गर्नुपर्नेछ ।

यस अगाडि नै धेरै रिपब्लिकन गभर्नरहरूले आफ्नो सरकारको इलेक्ट्रोनिक उपकरणहरूमा एपलाई प्रतिबन्ध लगाएका छन्। सांसदहरुलाई टिकटक चलाउनमा लगाइएको रोकको भने रोयटर्सले पहिलो पटक समाचार प्रकाशित गरेको थियो । डिसेम्बर १३ मा संसदमा पेश गरिएको बिल पारित भएमा भने अमेरिकाभर सबैका लागि टिकटकमा प्रतिबन्ध लाग्नेछ । सिनेटर मार्को रुबियोले अमेरिकामा सबैका लागि टिकटक प्रतिबन्ध लगाउने बिल ल्याएका थिए ।

अमेरिकामा ह्वाइट हाउस, सेनाका धेरै शाखाहरूमा र होमल्याण्ड सेक्युरिटी र विदेश मन्त्रालय सहित धेरै संघीय एजेन्सीहरूमा सरकारी उपकरणहरूबाट एपलाई प्रतिबन्ध लगाइसकिएको छ । तर सरकारका लागि काम गर्ने व्यक्तिहरूले अझै पनि आफ्नो व्यक्तिगत उपकरणहरूमा भने टिकटक प्रयोग गर्न सक्छन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com